त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० अघि चौबीसै घण्टा सञ्चालनमा आउने

२०२० अघि नै भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने मन्त्री अधिकारीको दाबी छ । हाल ५२ प्रतिशत काम सम्पन्न भइसकेको र अर्को वर्षबाटै सञ्चालन हुने गरी काम भइरहेको उनले बताए ।

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० अघि नै चौबीसै घण्टा सञ्चालनमा आउने भएको छ । सरकारले २०२० लाई भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेको छ ।

भ्रमण वर्षलाई लक्ष्य गरी २१ घण्टाबाट २४ घण्टाको बनाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । ‘पूर्वाधारबिना २० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव छैन,’ मन्त्री अधिकारीले भने, ‘१८ महिनाभित्रै सबै पूर्वाधार पनि बनाउन नसकिने भएकाले भएको पूर्वाधारलाई प्रयोगमा ल्याउन लागिएको हो ।’

१८ घण्टाबाट २१ घण्टा विमानस्थल सञ्चालनमा आएपछि एयर ट्राफिक जाम केही मात्रामा कमी हुँदै गएको बताउँदै २४ घण्टा विमानस्थल सञ्चालनपछि चार्टर गरेर आउने विमानहरुलाई पनि सहज हुने मन्त्री अधिकारीको भनाइ छ । उनले भ्रमण वर्ष सुरु हुनुअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पूरै स्तरोन्नति गरिसक्ने बताए ।

२०२० अघि नै भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने मन्त्री अधिकारीको दाबी छ । हाल ५२ प्रतिशत काम सम्पन्न भइसकेको र अर्को वर्षबाटै सञ्चालन हुने गरी काम भइरहेको उनले बताए । यसबाट पनि धेरै पर्यटकलाई नेपाल भित्र्याउन सहज हुनेछ ।