×

होङ्सीबाट नेपाली साझेदार बाहिरिएपछि तनावमा लगानीकर्ता बैंक

images

काठमाडौं। हाेङ्सी सिमेन्ट सञ्चालक समितिबाट नेपाली साझेदार बाहिरिएपछि यसका लगानीकर्ता बैंकहरू अहिले तनावमा छन्। व्यवस्थापनको मनपरीका कारण होङ्सीको वित्तीय अवस्था प्रभावित भएको र सच्याउनसमेत तयार नभएपछि नेपाली साझेदार बोर्डबाट बाहिरिएका थिए।

images

होङ्सी सिमेन्टभित्रकाे भाँडभैलोले बाहिरिए नेपाली साझेदार

चिनियाँको दादागिरी पछि नेपाली पक्ष ६ महिनाअघि नै होङ्सीबाट बाहिरिन चाहन्थ्याे तर, आफूहरु सच्चिन तयार रहेको र हरेक निर्णय बोर्डबाट स्वीकृत भएपछि मात्रै लागू गर्ने प्रतिबद्धतापछि नेपाली पक्ष सञ्चालक बन्न तयार भएका थिए। तर, उनीहररूले बोली र कार्यशैली विल्कुलै फरक भए पनि अपजसको भारी बोक्न बस्नुको कुनै औचित्य नभएको निष्कर्ष निकाल्दै बाहिरिएका हुन्।

केही दिनअघि बोर्डबाट शिवम् सिमेन्टका तर्फबाट सञ्चालक बनेका विश्वनाथ गोयल, शिवरतन शारडा र सुशील गुप्ताले राजिनामा दिएका थिए। उनीहरूले व्यवस्थापनको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएको र बोर्डबाट स्वीकृत नगराइ काम गर्न थालेपछि चित्त बुझाएका थिएनन्। 

नेपाली साझेदार बोर्डबाट बाहिरिएपछि होङ्सीमाथि लगानी गर्ने बैंकहरू एकापसमा छलफलमा जुटेका छन्। ‘होङ्सीको वित्तीय अवस्था राम्रो छैन, फेरि स्वदेशी साझेदार पनि त्यही विषयलाई लिएर असन्तुष्ट हुँदै बाहिरिएका छन्,’ होङ्सीमाथि लगानी गर्ने एक बैंक सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘बैंकले स्वदेशी लगानीकर्ता हेरेर लगानी गरेको हो। उनीहरू नै बाहिरिएपछि बैंक बढी सचेत हुन थालेको हो।’

ती सञ्चालकका अनुसार बैंकको बोर्डमा यस विषयमा गम्भीर छलफल भएको छ।

एनएमबी बैंकको नेतृत्वमा होङ्सीमा ६ अर्ब रुपैयाँ ऋण लगानी भएको छ। उद्योगमा एनएमबीको मात्रै ३ अर्ब रुपैयाँ लगानी छ। यस्तै राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एभरेस्ट बैंक, नेपाल एसबिआइ बैंकले थप ३ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।

होङ्सीले बजार विस्तार गर्ने नाममा लागतभन्दा झन्डै आधा मूल्यमा सिमेन्ट उधारोमा पठाइरहेको छ। बजारको उधारो नउठ्दा कर्मचारी तथा अन्य पार्टीलाई भुक्तानी गर्नुपर्ने रकम दिएको छैन। होङ्सीले आफ्नो आर्थिक दायित्व पूरा गर्न नसक्दा नेपाली साझेदारमाथि बारम्बार प्रश्न उठ्न थालेपछि उनीहरू बाहिरिएका हुन्। 

बोर्डभित्रै बसेर होङ्सीको व्यवस्थापकीय पक्षबाट भइरहेको मनपरीतन्त्र रोक्न खोजेको प्रयास विफल भएपछि साझेदारहरू बाहिरिएका थिए। उनीहरू बोर्डबाट बाहिरिएलगत्तै ऋण लगानी गर्ने बैंकको बोर्ड बैठकमा छलफल भएको हाे।

चिनियाँले होङ्सीलाई लापरबाही गरेर डुबाएको अवस्थामा नेपालीको ठूलो रकम फस्ने भन्दै सञ्चालक समितिमा छलफल भइरहेको छ। बैंकहरूले उनीहरूलाई ऋण तिर्न ताकेता गर्नेदेखि विशेष निगरानीमा राख्नुपर्ने सञ्चालकहरूले निष्कर्ष निकालेका छन्।

होङ्सीले ६ महिनादेखि आफ्ना कर्मचारीलाई तलब–सुविधा दिन सकेको छैन। उधारोमा क्लिंकर तथा अन्य कच्चापदार्थ किनेको रकमसमेत भुक्तानी नगरेको तीन महिनाभन्दा बढी भइसक्यो। ट्रक चालकहरूले 'अल्टिमेटम' दिइसकेका छन्। यस्ता विकृति निम्तिनुकाे पछाडिका कारण लागतभन्दा सस्तो मूल्यमा सिमेन्ट बेचेको नेपाली साझेदारको निष्कर्ष छ। 

उनीहरूले बारम्बार यस्तो गल्ती नगर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए। तर, सुनुवाइ नभएपछि बाहिरिएको बताएका छन्। उनीहरू बाहिरिने बित्तिकै लगानीकर्ता बैंकहरू तनावमा परेका हुन्। 

बिहीबार ५ माघ २०७९ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया