×

४–१२ को सीमा व्यवस्थापन चुनाैतीले सेयर बजार दबाबमा

images

काठमाडौं । सेयर बजारमा गिरावट आउनेक्रम बिहीबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा आएको छ । १ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चुनावपछि खुलेको बजारले सकारात्मक लय समाउन सकेको छैन । निर्वाचनअघि भने बजारले सकरात्मक गति समाउने संकेत देखाएको थियो । चुनावपछि वित्तीय प्रणालीमा तरलता सहज हुने र यसले सेयर बजारलाई पनि सकारात्मक गतिमै अघि बढाउने आम अपेक्षा रहेको थियो । तर पछिल्ला दिनहरुको कारोबारले बजारलाई सकारात्मक गति दिन सकेको छैन ।

 आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न सकेको छैन । नीतिगत अस्थिरता र चर्को ब्याजदरका कारण सेयर बजार लामो समयदेखि प्रभावित हुँदै आएको छ । नीतिगत समस्या, चर्को ब्याजदर र लगानीकर्ताको मनोबल सकारात्मक बन्न नसक्दा सेयर बजारमा सुधार हुन नसकेको हो । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा र नयाँ बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा बजार भने थप संकुचित हुँदै गएको छ । 

सेयर बजारप्रतिको गलत नीतिकै कारण सेयर बजार खस्किएको लगानीकर्ता संगठन र अगुवा लगानीकर्ताहरुले निष्कर्ष निकालिसकेका छन् । बजार सुधारका लागि अहिलेको गलत नीतिलाई कुनै पनि हालतमा परिमार्जन गर्नुपर्ने उनीहरुको भनाइ रहेको छ । विशेषगरी केन्द्रीय बैंकले सेयर धितो कर्जामा ४–१२ करोडको सीमा लगाएकाले ठूलो समस्या आएको उनीहरुको भनाइ छ ।

४–१२ को सीमाका कारण कर्जा लिएका ठूला लगानीकर्ताहरुलाई समस्या परेको छ । कर्जा नवीकरण नहुने भएपछि बिक्री गरेर समस्या समाधान गर्नुपर्ने बाध्यता छ । यस्तै, नयाँ लगानीकर्ताहरुले पनि यही सीमाका कारण चाहेजति कर्जा लिएर सेयर खरिद गर्न पाएका छैनन् । जसका कारण समग्र सेयर बजारमा समस्या उत्पन्न हुन गएको हो । 

लगानीकर्ताका संगठनहरुले यो प्रावधान खारेज गर्न माग गर्दै राष्ट्र बैंकमा मागपत्रसमेत पेश गरिसकेका छन् । यसैगरी, पुँजीगत लाभकरको दर वृद्धि गरिनु, सेयर धितो कर्जामा जोखिमभार वृद्धि गरिनु लगायतले पनि बजारलाई थप समस्यामा पारेको हो । बजार दिगो सुधारका लागि यी प्रावधान हटाउनुपर्ने उनीहरुको भनाई रहेको छ । बजार निरन्तर घट्दै गर्दा भाउहरु भने निकै सस्तो भइसकेको छ । पीई रेसियो हेर्दा पनि यसको पुष्टि हुन्छ ।

यसआधारमा भ्याल्यू इन्भेष्टर्सका लागि अहिलेको मूल्य निकै आकर्षक मान्न सकिन्छ । यस्तै, पुँजी बजारमा लगानीकर्ताको सकारात्मक मनोविज्ञान पनि अति आवश्यक हुन्छ । आम लगानीकर्तामा बजार माथि जान्छ भन्ने विश्वास हुनु जरुरी छ । बजार निकै हदसम्म मनोविज्ञानमा चल्ने गर्छ । यसआधारमा सरकार तथा नियामकले सकारात्मक मनोविज्ञान विकास हुने वातावरण बनाउन जरुरी छ ।

 नीतिनियममा सुधार र सेयर शिक्षाका कार्यक्रम सञ्चालन गरी लगानीकर्तालाई बजारका बारेमा सिकाउन सक्नुपर्छ । यसो हुन सकेमा आम लगानीकर्तामा बजारप्रति विश्वास वृद्धि हुन सक्छ । सेयर भाउहरु निकै तल आइसकेकाले लगानीकर्ताहरुले रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै लगानी सम्बन्धी निर्णय लिन सक्ने देखिएको छ । 

यस दिन २१९ कम्पनीको ३७ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा प्रभु बैंकको संस्थापक सेयर १२ करोड ८१ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया लघुवित्त संस्थापक सेयर र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।  

बिहीबार ५ जेठ २०७९ ०३:३८ PM मा प्रकाशित

प्रतिक्रिया