काठमाडौं । वीरगन्जस्थित प्रेष्टिज ग्रुप, झंकार चप्पल, नोबेल टेक्सटाइलमा काम गर्दै आएका कर्मचारीको कोराेना भाइरसका कारण मृत्यु भएमा उनका परिवारले १ वर्षसम्मको मासिक तलव उपलब्ध गराउने कम्पनी निर्णय गरेको छ ।
मंगलबार जुममार्फत् भएको सञ्चालकहरुबीच छलफलले सो निर्णय गरेको प्रेष्टिज ग्रुपका प्रवन्ध निर्देशक वीरेन्द्र साहले बताए । साहका अनुसार, उद्योगमा आवद्ध कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएमा उसले पाउने गरेको आधारभूत तलव परिवार वा आफन्तलाई १ वर्षसम्म प्रदान गरिने छ । साह भन्छन्, ‘एक मुस्टमा रकम दिँदैनौं, प्रत्यक महिना तलव दिन्छौं । एकैपटक पैसा दिन हामीलाई समस्या होइन तर, त्यसरी दियो भने पैसाको सदुपयोग नहुन सक्छ ।’
परिवारको सदस्य गुमाएको खण्डमा आर्थिक समस्याबाट बच्न सहयोग पुग्ने उद्देश्यले उद्योगहरुले सो निर्णय गरेको बताइएको छ । त्यसरी रकम पाउनका लागि कम्तीमा ६ महिनादेखि उद्योगमा काम गर्दै आएको हुनुपर्छ ।
त्यस्तै कोरोना संक्रमण भएर कर्मचारी बिरामी परेमा उपचारका लागि पैसासमेत दिने साहको भनाइ छ । त्यस्तो रकम भने, कर्मचारीको तलबबाट कटौती हुनेछ । उक्त उद्योगमा करिब ५ सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
उक्त उद्योगमा हाल आंशिक रुपमा मात्रै काम भए पनि कर्मचारीको आधारभूत सेवा सुविधा नरोकेको उद्योगी बताउँछन् । गतसालको लकडाउनमा पनि उद्योगले कर्मचारीको जीवन बिमा गर्नुका साथै सेवा सुविधा दिइरहेको थियो । यो वर्ष सरकारले बिमाको नियम हटाएको कारण कर्मचारीको बिमा गर्न नपाएको उद्योगी साहाको भनाइ छ ।
त्यस्तै उक्त उद्योगका सञ्चालकहरु मिलेर ‘समर्पण सेवा संस्था’मार्फत् दैनिक रुपममा ६ सयदेखि ७ सय जनालई निःशुल्क खाना समेत खुवाउँदै आएका छन् ।