×

नबिल बैंकले बनाएका पौरखी व्यवसायी महिला 

images

काठमाडौं। नबिल बैंकले विभिन्न नयाँ व्यवसायीक सोच भएका र व्यवसाय गर्दै आएका २० ‘स्टार्टअप’ लाई ६ महिने तालिम प्रदान गरेको छ।बैंकले ‘नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप’ नामक तालिम सामाजिक उद्यमशिलता प्रवर्द्धन गर्न प्रदान गरेको जनाएको छ। फरक किसिमका व्यवसाय सञ्चालन गरेका आधा दर्जन महिलालाई व्यवसायमा थप सहयोग पुगोस् भनेर तालिम प्रदान गरिएको थियो।

नबिलले २०७८ चैत ७ देखि सुरु पहिलो ब्याचको फेलोसिप कार्यक्रमअन्तर्गत देशभरिका ३ सय ५० आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालयआबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरेको थियो। 
तालिमको उद्देश्य व्यवसायलाई थप उचाइ दिन सहयोग पुगोस् र दिर्घउद्यममा मद्दत पुगोस् भन्ने थियो। नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप तालिम लिएका आधा दर्जन महिलाका व्यावसायिक प्रकृति र तालिम प्राप्त गरिसकेपछि उनीहरूले व्यक्त गरेको धारणा यस्तो छ:

दिक्षा पौडेल, सहसंस्थापक, कोशिश इन्टरप्राइजेज 

काभ्रेकी पौडेलले कोशिश इन्टरप्राइजेज नामक संस्थाका माध्यमबाट महिलालाई उद्यमी बनाउने, सीप सिकाउने र आर्थिक उपार्जनतर्फ आकर्षित गर्ने काम गर्दै आइरहेकी छिन्। उनी कोशिश इन्टरप्राइजेजको सहसंस्थापक हुन्। महिला प्रत्यक्ष आर्थिक उपार्जनको काममा जोडिनुपर्छ र महिला उद्यमशील बन्नुपर्छ भन्ने धारणा उनमा थियो। सोही धारणाअनुसार उनले महिला उद्यमको काम सुरुमात्र गरिनन्, अन्य महिलालाई उद्यमशील बनाउने काममा सघाइरहेकी छिन्। 

आर्थिकरूपमा सबल नभएसम्म महिला सशक्तिकरणका कुरा जति गरे पनि त्यसबाट केही मिल्दैन भन्ने उनको धारणा छ। त्यसैअनुसार उनी काम गरिरहेकी छिन्। उनको संस्थाको उद्देश्य महिलालाई उद्यमशिलता प्रवद्र्धन र रोजगारी प्रदान गर्नु हो। यसका लागि उनले दुइटा काम गरिरहेको छिन्। पहिलो काममा उनले सीप विकाससम्बन्धी तालिम दिइरहेकी छिन्। जसले महिला आफैं उद्यम गर्न सक्षम होउन् भन्ने धारणा छ। तालिमपछि उनीहरूको उद्यममा सहयोग गर्ने र सल्लाह सुझाव दिने काम पनि उनले गरिरहेकी छिन्। 

त्यस्तै उनले गरेको दोस्रो काममा संस्थाद्वारा सञ्चालित ‘लप्सी क्यान्डी’ प्रडक्ट हो। सामान्य फलफूल ‘रिफर्म’ को काम पनि गरिरहेकी छिन्। यसबाट पनि महिलालाई रोजगारी सिर्जना गरेर आफूसँग आबद्ध महिलालाई आर्थिकरूपमा सबल बनाएर सशक्तिकरणका काम गर्नु उनको योजना हो। 
उनले लप्सी क्यान्डीको काम पहिला सिन्धुपाल्चोकलाई आधार बनाएर गरेकी थिइन्। अहिले हेर्दा बेरोजगार र कामको खोजी गर्ने महिला गाउँभन्दा सहरमा बढी भएको पाइन् र घरमा मात्र सीमित भएका तथा बेरोजगार महिलालाई लिएर बनेपामा उत्पादन सुरु गरिन्। 

अहिले उनको सुरुवाती चरण भएकाले महिलामात्र आबद्ध छन्। तर, महिलामात्र हुनुपर्छ भन्ने छैन। योभन्दा अगाडि उनको ‘ट्रायल फेज’ थियो। अहिले त्यो सकिएर उत्पादनको काम यो वर्षबाट सुरु गरेकी छिन्। हाल १०  महिला उनको यो उद्यममा जोडिएका छन्। 

उनका अनुसार महिलालाई उद्यम गर्न हरेक दृष्टिकोणबाट कठिन छ। परिवारका माध्यमबाट पनि कठिन छ भने समाजले महिलाले कुनै जोखिम नलिओस् भन्ने छ। परिवार र समाजले महिलाले उद्यम गर्न सक्छन् भनेर पत्याउँदैनन्। त्यस्तै उद्यम गर्नलाई लगानी चाहिन्छ यो पनि महिला भएपछि पैतृक सम्पत्ति पाउन कठिन हुन्छ। लगानी पाउने विषयमा हरेक दृष्टिकोणमा कठिन छ। बैंकिङ प्रक्रिया र ऋण लिने विषय पनि कठिन छ। अलिकति केही गरेर देखायो भने हेर्ने नजर फरक छ। तर, पहिला पत्याउन भने कठिन अवस्था रहेका उनी बताउँछिन्।  

उनले ६ महिना नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिपको तालिम पनि लिएर धेरै कुरा सिकेको बताइन्। योभन्दा अघि उनले एउटा गैरसरकारी संस्थामा तालिम बेसमा रहेर काम गरिन्। हाल उनको प्राथमिकता भनेको दिगो व्यवसाय कसरी बनाउने भन्ने नै छ। यो यात्रामा नबिल स्कुलको तालिमले पनि महत्वपूर्ण सहयोग गरेको उनी बताउँछिन्। 

काम गर्ने इच्छा भए पनि व्यवसायको आइडिया, संरचनालगायत कुरा नभएकाले ६ महिनामा यस तालिमले एउटा सफल उद्यमी बन्ने सीप सिकाएको उनी बताउँछिन्। 

‘पूरै सबै सिकेँ भन्ने हुन्न तर यही व्यवसायसँग सम्बन्धित मान्छेसँग भेट्न, के ज्ञान चाहिन्छ, कसरी सोच्नुपर्छ, जोखिम के–के हुनुपर्छ, यो सबै कुरामा सहयोग पुगेको छ। व्यवसायमा जान यस तालिमले मलाई बाटो देखायो,’ उनी भन्छिन्। 

पुरुषले घरमा खाना नबनाउने तर पैसा आउने ठाउँमा, होटलमा खाना बनाउने गरेको बताउँदै उनी जुन काम गर्दा प्रत्यक्ष कमाइ हुन्छ, त्यो काममा महिला सहभागी हुनुपर्छ भन्छिन्। उद्यममा महिला कम छन्। महिलाका कतिपय वस्तु पुरुषको तर्फबाट आउँदा जस्तो आउनुपर्ने हो त्यस्तो नआउने गरको उनी गुनासो गर्छिन्। 

महिला सशक्तिकरणका लागि पनि महिला उद्यममा आउनुपर्छ भन्ने उनको धारणा छ। यसका लागि रोजगारी दिनेमात्र नभएर उद्यम गर्न सिकाउने खालको योजनामा काम गरिरहेको उनी बताउँछिन्।

कृष्णकुमारी पौडेल, प्रशिक्षक, ढाका उद्योग

पौडेल ढाका उद्यमी तथा प्रशिक्षक हुन्। उनी युवा वर्गलाई उद्यमी बनाउने, सीप सिकाउने र आर्थिक उपार्जनतर्फ आकर्षित गर्ने काम गर्दै आइरहेकी छिन्। नयाँ पुस्तालाई प्रत्यक्ष आर्थिक उपार्जनका काममा जोडिनुपर्छ र उद्यमशील बन्नुपर्छ भन्ने धारणा उनमा थियो। सोही धारणाअनुसार उनले ढाका व्यवसाय सुरु गरेकी हुन्। उनले उद्यमको काम सुरुमात्र गरिनन्, अन्य युवा पुस्तालाई उद्यमशील बनाउने काम पनि गरिरहेकी छिन्। 

नेपालको सन्दर्भमा उद्यमी बन्न धेरै नै चुनौती रहेको पौडेल बताउँछिन्। आफू ढाका व्यवसायी भएकाले मानिले हेर्ने नजर नै भिन्न रहेको उनी बताउँछिन्। आफूले व्यवसाय सुरु गर्दा पढेलेखेका केटीले किन यस्तो व्यवसाय गरेको? गलैंचा बुनेर सफल भइन्छ? जागिर गरे हुन्छ भन्ने प्रश्न आइरहे पनि कसैको पर्वाह नगरी व्यवसाय सुरु गरिन्। अहिले उनीहरूले नै व्यवसाय गर्दा राम्रो हुने रहेछ। 

तर, सुरुमा महिलालाई व्यवसाय सञ्चालन गर्न वित्तीय रूपमा गाह्रो हुने पौडेल बताउँछिन्। ‘महिलालाई व्यवसाय सुरु गर्दा कसरी व्यवसाय गर्छे? पैसा तिर्न सक्ली? व्यवसाय सफल हुन्छ र? भन्ने धेरै भेटिएका थिए,’ उनी भन्छिन्, ‘पहिला घरबाट पनि पूर्णसहयोग पाइएन।’ 

उनी नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिपको तालिम पनि लिएर धेरै कुरा सिकेको बताउँछिन्। योभन्दा अघि उनले उत्पादन गरेका ढाका सामान थोकमा बिक्री गर्थिन्। तालिमपछि उनले ‘मार्केटिङ आइडिया’ पाएर अनलाइनमार्फत पनि सामान बिक्री गर्न थालिन््। अहिले अनलाइनमार्फत राम्रो–राम्रो ग्राहक पाएको सुनाउँछिन्। 

आजको समयमा महिला उद्यममा आउनु जरुरी रहेको पौडलको भनाइ छ। ‘महिला सहनशील हुन्छन्,’ उनी भन्छिन्, ‘एउटा घरमा उद्यमी आमा भए छोराछोरीले पनि लय पक्रन सक्छन्।’ 

रचना पण्डित, सञ्चालक, मेड सर्भिस

पण्डितले ‘मेड सर्भिस’ मार्फत घरायसी कामदार आवश्यक पर्ने व्यक्तिलाई घर तथा बालबच्चा र वृद्धवृद्धा हेरचाह गर्ने कामदार उपलब्ध गराउने सोचअनुसार काम गरिरहेकी छिन्। उनले अन्य विभिन्न काम गर्न नसक्ने र नपाउनेका लागि रोजगारीसम्म जोड्ने र घरमा काम गर्दिने मानिस उपलब्ध गराउने बाहिरी देशमा चलनचल्तीमा रहेको व्यवसायलाई सञ्चालन गर्ने सोच बनाएकी छिन्। 

उनले होम मेड सर्भिस (हेरचाह) रोजागरी सिर्जना गर्ने कर्मचारी उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालन गर्ने योजना बनाएको भए पनि कामको थालनी भने गरेकी छैनन्। 

उनले उपत्यकामा होम बेस ‘टेक केयर’ सर्भिसको सुविधा खोज्ने मानिस पर्याप्त रहेको देखेपछि यस आइडियामा काम गर्ने सोच बनाएकी हुन्। तर, त्यस्ता काम गर्ने मानिसलाई न्यूनतम पारिश्रमिक नदिने, सेवा सुविधामा आनाकानी गर्नेलगायत समस्या पाएकाले यो कामको थालनी सुरु नगरेकी हुन्। 

न्यूनतम पारिश्रमिक र सेवा सुविधा पाउने वातावरण सिर्जना भएपछि अर्थात श्रम शोषण नहुने ग्यारेन्टी भएपछि यो काम गर्ने उनी बताउँछिन्। श्रमिकका यी आधारभूत सेवासुविधा पूरा गर्ने व्यक्ति पाए आफ्नो यो सोच कार्यान्वयनमा लग्दै गर्ने उनी बताउँछिन्। 

विनिता तामाङ, सञ्चालक, ओम फिल्ड क्राफ्ट

तामाङले काठमाडौं गोकर्णमा ओम फिल्ड क्राफ्ट नामक संस्थाका माध्यमबाट महिलालाई उद्यमी बनाउने र आर्थिक उपार्जनतर्फ आकर्षित गर्ने काम गर्दै आइरहेकी छिन्। तामाङले महिलाका लागि महिला भन्दै हस्तकला व्यवसाय सञ्चालन गरेकी छिन्। उनले ग्राहक माग र डिजाइनअनुसार हस्तकला साम्रगी बनाउने गरेको बताउँछिन्।   

उनका अनुसार महिलालाई उद्यम सुरु गर्न अत्यन्त कठिन हुन्छ। मार्केटिङको काम गर्न बाहिर हिँड्नेदेखि, कर्मचारीका कुरामा गाह्रो हुने गरेको तामाङ बताउँछिन्। ‘सुरुमा व्यवसाय सुरु गर्न फाइनान्सियल रूपमा समस्या पर्छ,’ उनी भन्छिन्, ‘सुरुवाती समयमा कसैले विश्वास गरिहाल्दैनन्।’
सानो लगानीबाट व्यवसाय सुरु गरेकाले आफूलाई धेरै गाह्रो नभएको तामाङ बताउँछिन्। उनले पारिवारिकरूपमा सहयोग पाएको सुनाइन्। तर, एउटा महिलाले धेरै महिला राखेर व्यवसाय गर्दा चुनौती आउने उनी सुनाउँछिन्। 

नबिल स्कुलको तालिम पनि लिएर धेरै कुरा सिकेको बताउँछिन्। योभन्दा अघि व्यवसाय सुरु गरिसकेकी उनले तालिमबाट प्राविधिक कुरा सिकेको बताँउछिन्। उनका अनुसार तालिमपछि आत्मविश्वास बढेको छ। साथै, एचआरसँग गर्ने डिल र फाइनान्सियल म्यानेजमेन्टका कुरा सिक्न पाइएको छ। 

‘हाम्रो हस्तकलाको काम हो। यो हातबाट तयार पारिन्छ,’ उनले भनिन्, ‘यसमा महिलालाई नै मोटिभेट गर्नुपर्छ। महिलालाई कनभिन्स गर्न गाह्रो हुन्छ। कन्भिन्स भएर बसे राम्रो हुन्छ।’ महिला सशक्तिकरणका लागि पनि महिला उद्यममा आउनुपर्छ भन्ने उनको धारणा छ। जसले गर्दा स्वदेशमा रोजगारी सिर्जनासमेत हुन्छ। 

उमा थपलिया, सञ्चालक, होमस्टे 

भक्तपुर चागुँनाराण–२ दुवाकोटकी उमा थपलियाले आफ्नै ठाँउमा होमस्टे व्यवसाय सञ्चालन गरिरहेकी छिन्। उनले कोरोना महामारीअघि नै दुवाकोटमा होमस्टे सुरु गरेकी थिइन्। व्यवसाय राम्रो हुँदै गएपछि उनले क्याफे पनि सञ्चालन गर्ने योजना बनाइन्। मंसिरभित्र क्याफे सञ्चालन गर्ने योजना रहेको थपलियाले सुनाइन्। 

उनका अनुसार होमस्टेमा आउने ग्राहकलाई थप परिकार पस्कने गरी क्याफे सञ्चालनको तयारी भइरहेको छ। उनले घरबाट पूर्णसहयोग पाउँदा व्यवसाय गर्न हिम्मत आएको सुनाइन्। सुरुमा अलि नसकिने पो हो कि भन्ने लाग्थ्यो। तर, व्यवसाय गर्ने हुटहुटीले तानेरै छाड्यो। सुरुमा अलि अप्ठेरो हुन्छ। विस्तार्र सपोर्ट गर्नेहरू भेटिएको थपलियाको अनुभव छ। 

घरपरिवार र व्यवसाय सँगसँगै अगाडि बढाउन चुनौती हुन्छ। त्यसमाथि पनि मैले गरेको व्यवसाय भिन्न भएकाले छरछिकमेकले पनि के ग¥यो, कता गयो र कस्तो गर्‍यो भन्ने चासो राख्ने गरेको थपलिया सुनाउँछिन्। 

‘मेरो छरछिमेकमा डिग्री पढेको महिला दिदीबहिनी हुनुहुन्छ,’ उनी भन्छिन्, ‘उहाँहरू पारिवारिक दबाबले हो या के कारणले हो चुलोचैकोमा मात्र सीमित हुनुहुन्छ।’ त्यस्ता दिदीबहिनीलाई घरबाट निस्केर केही गर्न सकिन्छ भन्दै प्रोत्साहन  दिने थपलिया बताउँछिन्। 

नबिल स्कुलको तालिम पनि लिएर धेरै कुरा सिकेको बताउँछिन्। योभन्दा अघि व्यवसाय सुरु गरिसकेकी उनले तालिमबाट आत्मविश्वास बढेको बताँउछिन्। ‘तालिमपछि व्यवस्थापनका कुरा सिक्न पाएँ। व्यवसाय सुरु गर्दा मलाई धेरै आइडिया थिएन। अहिले व्यवसायको राम्रो आइडिया भएको छ,’ उनी भन्छिन्। 

उनका अनुसार एउटा घरमा महिला शिक्षित छिन् भने मात्र त्यो परिवार शिक्षित हुन्छ भनेजस्तै महिला उद्यमी भएमात्र देश समृद्ध हुन्छ भन्ने उनको धारणा छ। एउटा घरमा एक महिला उद्यमीले थप दुईजनालाई रोजगारी प्रदान गर्न सक्छन्। त्यसैले महिला उद्यमी हुन आवश्यक छ। 

शनिबार ३ मंसिर २०७९ ०८:०३ AM मा प्रकाशित

प्रतिक्रिया