×

अनिल शाहको ३२ वर्षे बैंकिङ यात्राः क्रेजी सीईओ, धेरैका मानक

images

काठमाडौं । ‘नाम होस् बदनाम होस् तर, गुमनाम नहोस्’ अनिलकेशरी शाह जोकोहीलाई भेट्दा उत्प्रेरित गर्ने शब्द हुन् । त्यसो भनी रहँदा शाह आफू भने बदनामीबाट जोगिए र एउटा असल बैंकरका रुपमा आफूलाई उभ्याए । 

बैंकरले बोल्दा सबैको नजरमा पर्छ र बैंक चलाउन गाह्रो पर्छ भन्नेहरुलाई अनिल शाह एक अपवाद रहे । ३२ वर्षे बैंकिङ करिअरमा जहिले चर्चामा छाउने शाहले बैंकिङ मात्रै गरेनन्, समाजमा उत्प्रेरकको भूमिका निभाइरहे । 

सन् १९९१ मा ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकमा ‘इन्ट्री लेभल’बाट बैंकिङ करिअर सुरु गरेका शाहले ३ वटा बैंकमा आफ्नो तीन दसक बिताए । जहाँ पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका थिए त्यहीं (नबिल बैंक)बाट सीईओ भएर व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिँदै छन् । सम्भवतः शाह असार ७ गते व्यवस्थापकीय जिम्मेवारीबाट अलग भएर नयाँ भूमिकामा देखिने छन् ।

नबिलबाट बाहिरिएपछि नयाँ क्षेत्रमा केही गर्ने सोच रहेको बताउने शाहले आधाभन्दा बढी कार्यकाल व्यवस्थापकीय प्रमुख भएर बताए । शाहले नबिलमा ९ वर्ष र मेगा बैंकमा ८ वर्ष सीईओको रुपमा काम गरे । 

शाह कुशल व्यवस्थापक हुन् भन्नेमा शंका छैन । बैंकका सीईओहरुको संस्था नेपाल बैंकर्स संघका अध्यक्षसमेत भइसकेका शाह उदार कार्यशैलीले नै लामो अवधिमा पनि सीमित संस्थामा रमाएनन् मात्रै नेतृत्व गरेका दुवै संस्थालाई एउटा उचाइमा पुर्याए । 

पहिलो कार्यकालमा सबैको रोजाइ नबिललाई पार्न सकेका शाहले दोस्रो पटक उत्कृष्ट संस्थाको पहिचानलाई डगमगाउन दिएनन्, बरु थप मजबुत र सबैको आँखा लाग्ने बैंकका रुपमा छाडे । उता, ‘हलोदेखि हाइड्रो’ सम्मको नारा दिएर मेगा बैंकको स्थापनाकालदेखि ८ वर्ष निरन्तर सीईओ भएका शाहले नयाँ भएर छुट्टै पहिचान दिलाउन सफल भएकै कारण दोस्रो पटक नबिल भित्रिने अवसर आयो । 

यस्तो अवसर विरलै सीईओहरुलाई मात्रै आउँछ । आफूले काम गरेको संस्थाको प्रमुख आफ्नै संस्थाभित्र विकास गर्नुपर्छ भन्ने धारणामा काम गर्ने शाहको पहिलो कार्यकाल नबिलमा सकिँदा त्यहींका दोस्रो वरीयतामा रहेका अमृतचरण श्रेष्ठले सीईओको भूमिका पाएका थिए भने नबिलमा पनि अनुपमा खुंजेलीले जिम्मेवारी पाएकी थिइन् । 

बेलाबेलामा कतिपयले बैंकिङ क्षेत्रलाई ध्यान नदिने र अन्यत्र बढी ध्यान केन्द्रित हुने गरेको भनेर आरोप लाग्ने गरे पनि शाहसँग काम गरेकाहरु सन्तुष्ट र नतमस्तक रहेको पाइन्छ ।  शाहले आफ्नो कार्यकालमा धेरै व्यवस्थापक पनि जन्माए । त्यति मात्रै होइन शाहकै रेखदेखमा अघि बढेका धेरै नबिलियनहरु अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्च ओहोदामा बसेर काम गरिरहेका मात्र छैनन् कतिपय सीईओ भइकन पनि वित्तीय क्षेत्रबाट बाहिरिसकेका छन् । 

सीईओ भए पनि सूक्ष्म व्यवस्थापनमा नउत्री माथिल्लो तहमा मात्रै रेखदेख गर्ने गर्ने र समूहलाई विश्वास गरेर काम गरेकै कारण व्यवस्थापन सधंै चुस्त रहने गरेको थियो । त्यसलाई उनका अनुयायीहरुले टिममा विश्वास गर्ने कुशल लिडरका रुपमा अर्थ्याउँछन् । 

बैंकिङ क्षेत्रभित्र मात्र होइन बाहिर पनि शाहको क्रेज अत्यधिक छ । सामाजिक अभियानमा सरिक भएर विभिन्न क्षेत्र र वर्गका मानिसहरुलाई उत्प्रेरणा जगाउने र उद्यमी उत्पादनमा अग्रसर हुने शाहको स्वभावले नै हर क्षेत्रमा शाहको क्रेज बढ्दै गएको मान्न सकिन्छ ।

चर्चित डिजाइनर मिसु श्रेष्ठ शाहलाई आदर्श व्यक्ति मान्छिन् । नयाँ कामलाई समाजमा परिचित गराउनेदेखि त्यसको प्रवर्धन गर्न कहिल्यै कन्जुस्याइँ नगर्ने शाहले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अब्बल सम्बन्ध राखेकै कारण नयाँ–नयाँ स्टार्टअपहरुले ठाउँ पाइरहेको श्रेष्ठको अनुभव छ । 

शाह बैंकिङ करिअर बनाइरहेकालाई मात्र नभएर हर क्षेत्रका व्यक्तिहरुका लागि एउटा मानक (आदर्श व्यक्ति) हुन् । असल कार्यशैली, उत्प्रेरणा जगाउने तर्क र सुमधुर सम्बन्ध बनाउन सक्ने खुबी निकै थोरै व्यक्तिसँग हुन्छ र त्यसमध्येका एक मानक शाह हुन् ।  

नेपालमा उदारीकरणको पहिलो अभ्यास सुरु भएकै बेला बैंकिङ क्षेत्रमा प्रवेश गरेका शाहले वित्तीय क्षेत्रको विगत र वर्तमानलाई राम्रोसँग केलाउन सकेकै कारण सफल बैंकरका रुपमा बाहिरिन लागेका हुन् । 
 

सोमबार ६ असार २०७९ १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया