काठमाडौं । सेयर बजारमा करेक्सन आउनेक्रम अझै रोकिएको छैन । खासगरी, नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीकाे सूची प्रकाशित गरेपछि बजार घट्न थालेको हो ।
त्यसयता, बजार घट्नेक्रम रोकिएको छैन । बोर्डले लगानीकर्तालाई सचेत भएर राम्रा कम्पनी हेरेर लगानी गर्न आग्रह गर्दै सूची प्रकाशित गरेको थियो । त्यसैको असर आज पनि बजारमा परेको छ ।
बजार सुरुमा घटे पनि आघा घण्टामै बजार बढ्न थालेको थियो । त्यसपछि बजारमा एकाएक सेलिङ प्रेसर बढेकाले पुनः बजार ओरालो लागेको हो । ठूला लगानीकर्ताले वित्तीय विवरण कमजोर भएका कम्पनीको सेयर मूल्यमा उछाल आएको र यसलाई धितोपत्र बोर्डले नियमन गर्नुपर्ने बताइरहेका थिए ।
वित्तीय विवरण राम्रा भएका कम्पनी र वार्षिक रूपमा राम्रो प्रतिफल दिने कम्पनीको सेयर मूल्य घट्ने तर, वर्षौंसम्म केही नदिने कम्पनीको मूल्यमा निरन्तर बढोत्तरी देखिएपछि धितोपत्र बोर्डले साना लगानीकर्तालाई सचेत गराउँदा बजारमा त्यसको असर परेको हो ।
यो पनि हेर्नुहोस
अझै उचाइको पूर्वसन्ध्यामा सेयर बजार, करेक्सनको संभावना कायमै
नेप्से ३ हजार विन्दुबाट माथि लागेपछि कतिपयले निकै छिटो र अस्वभाविक वृद्धि भन्नेसम्मका तर्क गरेका थिए । सोही आधारमा अल्पकालीन कारोबारीसहित अरु केही लगानीकर्ताले सेयर बेचेपछि बोर्डले यस्तो अस्त्र प्रहार गरिएको भनेर आरोप लगाउनेहरु पनि उत्तिकै छन् । जुनसुकै बाहना र आधारमा बजार घटाउने अस्त्र प्रहार गरिए पनि यसबाट फेरि पनि मारमा भने साना र नयाँ लगानीकर्ता नै परेका छन् ।
लगानीकर्ताले बुझ्नुपर्ने अर्काे पक्ष, सेयर बजार घटबढ भइरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया पनि हो । आम लगानीकर्ता यस्तो बेला हतोत्साही हुनु हुँदैन । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्ने दीर्घकालीन लगानीकर्ताका लागि यस्तो उतारचढावले खासै असर गर्दैन । लाभांश केन्द्रित भएर लगानी गर्न सक्नुपर्छ । घटेका बेला सके किन्ने नसके पनि राम्रोसँग होल्ड गर्न अनुभवीहरुले सल्लाह दिँदै आएका छन् ।
आफ्नो जोखिम बहन क्षमतालाई भने जहिले पनि ख्याल गर्नुपर्छ । घटेको बजार फेरि माथि जान्छ भन्नेमा विश्वस्त हुन आवश्यक छ । अहिले सेयर बजारको मुख्य सिजन हो । साउन लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्नेछ । त्यसपछि कम्पनीहरुले लाभांश घोषणा गर्न थाल्नेछन् । यसर्थ, अहिले सेयर होल्ड गर्नेले छोटो समयमै लाभांश हात पार्न सक्नेछन् । त्यही भएर पनि आम लगानीकर्ता संयमित हुन जरुरी छ ।
सोमबार सबैभन्दा बढी निर्जीवन बिमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसदिन सबैभन्दा बढी निर्जीवन बिमा कम्पनीको मूल्य २२९ अंकले घटेको छ । त्यसैगरी, विकास बैंक २१० अंकले घटेको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.७ अंकले घटेर २८३४.४० बिन्दूमा आइपुगेको छ । आइतबारको तुलनामा सोमबार झनै नेप्से घटेको हो । आइतबार नेप्से सूचक ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा आइपुगेको थियो । सोमबार कारोबार रकम भने थोरै बढेको छ । यसदिन ११ अर्ब ८४ करोड रुपैयाँबराबर कारोबार भएको छ । आइतबार ११ अर्ब ८१ करोड रुपैयाँ मात्रै थियो ।