धमाधम बढ्दै दूरसञ्चार प्रयोगकर्ता, एक महिनामै साढे तीनलाख थपिए

नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार असार र चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नै ३ लाख ५३ हजार ५ सय २ जना प्रयोगकर्ता थपिएका छन् ।

नेपालमा महिनै पिच्छे उल्लेख्य रुपमा दूरसञ्चार सेवाग्राही बढ्दै गएका छन् । पछिल्लो समय एक महिनामै साढे ३ लाखभन्दा बढी प्रयोगकर्ता थपिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार असार र चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नै ३ लाख ५३ हजार ५ सय २ जना प्रयोगकर्ता थपिएका छन् ।

गएको साउनमा नेपालका ६ सेवाप्रदायक कम्पनीहरु– एन्सेल, टेलिकम, स्मार्ट टेलिकम, युनाइटेड टेलिकम तथा नेपाल स्याटलाइट टेलिकमबाट दूरसञ्चार सेवा लिने ३ करोड ९५ लाख ५६ हजार ४ सय ५६ जना छन् । असार महिनामा सेवाग्राहीको सङ्ख्या ३ करोड ९२ लाख २ हजार थियो ।

टेलिकमले पुर्यायो २ करोड सेवाग्राही
सरकारी स्वामित्वको नेपाल टेलिकमले पछिल्लो समय प्रयोगकर्ता निकै बढाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ । टेलिकमले पछिल्ला दिनहरुमा एनसेलले जस्तै विभिन्न अफर, तथा योजना ल्याएसँगै सेवासुविधामा पनि परिवर्तन ल्याएकाले टेलिकमप्रति लगाव राख्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको प्रवक्ता अर्यालको भनाइ छ । टेलिकमले साउनसम्म २ करोड २ लाख ५० हजार सेवाग्राही पुर्याइसकेको छ । असारसम्म कम्पनीका ग्राहक १ करोड ९९ लाख जति थिए ।

एन्सेल एक करोड ६५ लाखमै सिमित
पछिल्ला महिनाहरुमा एन्सेलले आफ्ना प्रयोगकर्ता बढाउन सकेको छैन । एन्सेलले ३० भन्दा बढी सहरमा फोरजी विस्तार गरिसके पनि टेलिकमभन्दा ३७ लाख कम सेवाग्राही छन् । एन्सेलका प्रयोगकर्ता साउनसम्म १ करोड ६५ लाख ६८ हजार देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनालका अनुसार प्रत्येक नेपालीसँग दुईदेखि तीन ओटा सिम बोक्ने र अहिलेको अवस्थामा मोबाइल नबोक्ने कमै हुनाले पनि दूरसञ्चारका प्रयोगकर्ता उल्लेख्य रुपमा वृद्धि भएका हुन् । ‘टेलिकम र एन्सेल अहिले एक छत्र राज गरिरहेका छन् । सेवा तथा योजना दिन दुवै सेवाप्रदायक कम्पनीबीच होडबाजी चलिरहेको छ,’ खनालले भने ।

प्राधिकरणका अनुसार अहिले फिक्स्ड लाइनबाट सेवा लिने ६ लाख ८० हजार ३ सय २३ छन् भने मोबाइलका सेवाग्राही ३ करोड ८६ लाख ९९ हजार ७ सय ८१ र जीएमपीसीएसका १ हजार ७ सय ४२ सेवाग्राही छन् ।

५२ प्रतिशत ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा
नेपालमा ५२ प्रतिशत नेपाली ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा पुगिसकेका छन् । गत साउन महिनासम्म कुल १ करोड ५३ लाख ३९ हजार ४ सय ३१ जनासँग इन्टरनेटको पहुँच भएको प्राधिकरणले जनाएको छ । जसमा फिक्स्ड ब्रोडब्यान्ड (वायर्ड) प्रयोग गर्ने ३० लाख ४३ हजार १ सय १६ छन् भने फिक्स्ड ब्रोडब्यान्ड (वायरलेस)का प्रयोगकर्ता ३ लाख ४२ हजार ५ सय १४ तथा मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने १ करोड १९ लाख १३ हजार ८ सय १ पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।