×

मर्जपछि कुमारी बैंकको नाफा १ करोडमात्र 

images

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकलाई मर्ज गरेको कुमारी बैंकले १ करोड ६ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । एनसीसीलाई मर्ज गरेपछि नोक्सानी व्यवस्था (प्रोभिजन) बढ्दा कुमारी बैंकको नाफामा भारी गिरावट आएको हो ।

मर्जपछि एकिकृत कारोबार गरेको कुमारी बैंकले ६ महिनाको अवधि (साउनदेखि पुससम्म) १ अर्ब ५० करोड ५३ लाख २४ हजार रुपैयाँ प्रोभिजन गरेको छ । कुमारीले पहिलो त्रैमाशमा १ अर्ब १ करोड २० लाख रुपैयाँ खुदनाफा गरेको थियो । पहिलो त्रैमाशमा एनसीसीको खुदनाफा ५१ करोड ६८ लाख रुपैयाँ थियो । 

एनसीसीको खराब वित्तीय अवस्थाका कारण कुमारी बैंकले कमाएको जति सबै आम्दानी प्रोभिजनमा गएको  सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

मर्जपछि कुमारीको खराब कर्जा अनुपात बढेर ३.१५ प्रतिशत पुगेको छ । पहिलो त्रैमाशमा कुमारीको खराब कर्जा १.२८ प्रतिशत मात्र थियो ।

कुमारीसँग मर्ज भएको एनसीसीको पहिलो त्रैमाशमा खराब कर्जा २.४६ प्रतिशत थियो । दुबै बैंकको खराब कर्जा जोडिदा धेरै  देखियो । खराब कर्जा बढेपछि कुमारीले कमाएको सबै नाफा प्रोभिजनमा गयो ।  

कुमारीले एनसीसीलाई समान हैसियतमा मर्ज गरेको हो । दुबै बैंकले गएको पुस १७ गतेदेखि एकिकृत बैंकिङ कारोबार गरेका हुन् ।एकिकृत कारोबारपछि पुस मसान्तसम्म कुमारीको २ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तै बैंकको निक्षेप परिचालन २ खर्ब ९९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड र जगेडा कोष (रजर्भ) १२ अर्ब रुपैयाँ छ ।

कुमारीको २ अर्ब २६ करोड ८३ लाख रुपैयाँ छ । बैंकको निक्षेप लागत ९.०५, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.५८, आधारदर ११.७३ र ब्याजदर अन्तर (स्प्रेड) ४.४६ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

 
 

आइतबार​ ८ माघ २०७९ ०२:१६ PM मा प्रकाशित

प्रतिक्रिया