अर्घाखाँची । अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् ।
चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा १ हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले जानकारी दिए ।
पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका छोरीको सङ्ख्या कम छ । गएको वर्ष अर्थात् २०७७/७८ मा ७ सय ५२ छोरा र ६ सय २१ छोरी जन्मिएका छन् ।
विसं २०७६/७७ मा कुल १ हजार ३ सय ४० बच्चा जन्मिएकामा ६ सय २२ छोरी र ७ सय १८ छोरा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए।
जिल्ला स्वास्थ्य कार्यालयलगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ । मानिस अवैधानिक रुपमा जिल्ला बाहिर जानेर र भ्रुण जाँच गरी गर्भपतन गर्ने बढिरहेका बताइएको छ ।
जिल्लामा गत साउनदेखि यता फागुन मसान्तसम्म ४ सय ७७ ले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन् । गएको वर्ष २०७७/७८ मा ६ सय ५७ र आर्थिक वर्ष २०७६/७७ मा ६५३ जनाले सूचीकृत स्वास्थ्य संस्थामा गई गर्भपतन सेवा लिएको जनाइएको छ ।
सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरी कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ । नगरपालिकाले छोरीको खातामा ३ हजार रूपैयाँ जम्मा गर्न सुरु गरेपछि स्थानीय बालिकाका अभिभावक पनि खुसी भएका छन् ।
अवैधानिक रुपमा भ्रुण जाँच गरी छोरा भए राख्ने छोरी भए गर्भपतन गर्ने बढेपछि छोरी जन्मिए उनीहरुको खातामा नगरपालिकाले रु तीन हजार राखिदिने भएको हो । सन्धिखर्क नगरपालिकाका स्थायी बासिन्दा भई स्वास्थ्य संस्थामा आर्थिक वर्षको साउनदेखियता जन्मिएका छोरीहरुको निःशुल्क खाता खोली त्यो खातामा रकम जम्मा गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
सो नगरपालिकामा गत आर्थिक वर्ष २०७७/७८ मा ५ सय ९८ बालबालिका जन्मिएका छन् । जन्मिएका बालबालिकामध्ये २ सय ९१ बालक र २ सय ६७ बालिका रहेकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताए। रासस