×

आईपीओ निष्कासन गर्न बाँकी बिमा कम्पनीले पुँजी बढाउन संस्थापकबाट उठाउन थाले लगानी

images

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी रहेका जीवन बिमा कम्पनीहरुले चुक्ता पुँजी बढाउन फेरि संस्थापकहरुबाट पैसा उठाउन थालेका छन् । बिमा कम्पनीहरुले सूचना प्रकाशित गरी लगानी थप्न संस्थापकहरुलाई भनेका छन् । हालसम्म ५ जीवन बिमा कम्पनीले आईपीओ निष्कासन गर्न बाँकी छ । 

images

आईपीओ नल्याएका जीवन बिमा कम्पनीलाई पुँजी वृद्धिका दुई विकल्प

आईपीओ निष्कासन नगर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । 

तीमध्ये आईएमई लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रिलायबल लाइफले ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । 

त्यस्तै अन्य तीन कम्पनीले भने बोर्डमा आवेदन दिएका छैनन् । हालसम्म सिटिजन्स लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गरेका छैनन् । सिटिजन्सको १ अर्ब ७५ करोड र सन नेपालको १ अर्ब ४० करोड रुपैया पुँजी छ । 

आईपीओ निष्कासन गर्न बाँकी जीवन बिमा कम्पनीहरुले समितिले तोकेको न्यूनतम ५ अर्बको ७० प्रतिशतले हुन आउने ३ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्नेछ । आईपीओ निष्कासन गर्न बाँकी रहेका पाँच कम्पनीमध्येमा सन नेपाल लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धि प्रक्रिया सुरु गरेका छन् ।

सन नेपालले ६० प्रतिशत र महालक्ष्मीले ५० प्रतिशत लगानी थप्न संस्थापकहरुलाई भनेका छन् । कम्पनीले असार ३० गतेभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो । हाल सन नेपालसँग १ अर्ब ४० करोड चुक्ता पुँजी छ ।

कम्पनीले बिमा समितिको निर्देशनअनुसार न्यूनतम पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । ३० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ आईपीओ निष्कासनबाट पुग्ने छ । कम्पनीले सेयरधनीबाट लगानीको ६० प्रतिशत हुन आउने ९६ करोड रुपैयाँ थप्दा पनि २ अर्ब ३६ करोड रुपैयाँ पुग्ने देखिन्छ । सो पुँजी कम्पनीले संस्थापक सेयरधनीबाट जुटाउने भएको हो । 

त्यस्तै, महालक्ष्मी लाइफ इन्योरेन्सले पनि संस्थापक सेयरधनीमार्फत थप पुँजी जुटाउने भएको छ । कम्पनीले संस्थापक सेयरधनीबाट लगानी भएको रकमको थप ५० प्रतिशत थप्न आग्रह गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले बिमा समितिको निर्देशनअनुसार ७० प्रतिशत संस्थापक पुँजी पुर्याउन २ अर्ब १० करोड रुपैयाँ थप्नु पर्नेछ । 

आईएमई लाइफ इन्स्योरेन्सले भने मर्जमा जाने की संस्थापकलाई पुँजी थप्न लगाउने टुंगो नलागेको जनाएको छ । ‘असार ३० गतेसम्म समय छ,’ कम्पनीको स्रोतले भन्यो, ‘बिमा समितिले मर्जमा जान भनेको छ तर, सञ्चालक समितिको बैठकले मर्जमा जाने कि संस्थापकलाई सेयर पुँजी अनुसार पुँजी थप्ने निर्णय सञ्चालक समिति बैठकले तय गर्नेछ ।’

सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि संस्थापक सेयरधनीबाट लगानीको केही प्रतिशत रकम थप्न लगाउने भएको छ । कम्पनीको स्रोत अनुसार पुँजी वृद्धि कसरी गर्ने भन्ने निर्णय भइसकेको छैन तर, मर्जमा नजाने गरी काम भइरहेको छ । 

मर्जमा जानेले पाउने छन् यस्ता सुविधा 

चालू आर्थिक वर्षको असार मसान्तसम्म मर्जमा जाने बिमा कम्पनीलाई बिमा समितिले विभिन्न सुविधा दिने जनाएको छ । बिमा समितिले मर्जरमा जाने बिमा कम्पनीहरुलाई सञ्चालक तथा अध्यक्ष नियुक्त गर्न थप एक कार्यकालको लागि छुट दिएको छ । 

बिमा समितिले मर्जरमा जाने बिमा कम्पनीहरुलाई कर छुट दिनेछ । समितिले आयकर ऐनअनुसार पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुट तथा सुविधा दिने भएको हो । 


 

बुधबार ८ असार २०७९ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया