×

अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अर्घाखाँचीका शिक्षकविरुद्ध मुद्दा दायर 

images

काठमाडौं । अख्तियार अनुसन्धान विभागले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने हुमलाल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अर्घाखाँची जिल्लास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक पौडेलले भारतबाट नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

पौडेलले झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएको विभागले जनाएको छ । 

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० मा परिभाषित कसूर गरेकोले निज हुमलाल पौडेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा २० एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिम सजाय हुन मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 


 

बुधबार ८ असार २०७९ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया