×

नेपालमा प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलको सम्भावना

images

नेपाल धितोपत्र बोर्ड (सेबोन) को विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ ले नेपाली धितोपत्र बजारमा प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड र हेज फन्ड जस्ता अन्य विशिष्टीकृत लगानी कोषहरूको सञ्चालनका लागि कानुनी रूपमै मार्गप्रशस्त गरेको छ ।

नयाँ उपक्रम, नवीन व्यवसाय÷उद्यमहरू र सेवाहरू खोल्न आवश्यक पुँजी र वित्तीय व्यवस्था विशिष्टीकृत लगानी कोष (भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्ड)मार्फत व्यवस्थापन गर्नु हो । बोर्डले केही समयअघि मात्रै ग्लोबल इक्विटी फन्ड समेतका ५ वटा कम्पनीललाई विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न कोष व्यवस्थापक (फन्ड म्यानेजर)को आवश्यक पूर्वाधार तयार अनुमति दिएको छ ।

उनीहरूले आवश्यक पूर्वाधार तयार गरेपछि कोष व्यवस्थापकको काम गर्न इजाजतपत्र (लाइसेन्स) पाउनेछन् । अहिले कम्पनीहरू पूर्वाधार निर्माणमा जुटिरहेका छन् । 

प्राइभेट इक्विटी तथा भेञ्जर क्यापिटल इन्भेष्टमेन्ट बैंकिङको एउटा छुट्टै र वैकल्पिक लगानीको माध्यम हो । यद्यपि यसको नियमन तथा सुपरिवेक्षण गर्ने र स्किम सञ्चालनको अनुमति दिने काम धितोपत्र बोर्डले नै गर्छ । प्राइभेट इक्विटी तथा भेञ्जर क्यापिटलका केही संरचना सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को जस्तै भए पनि म्युचुअल फन्ड भने होइन ।

पुँजीबजारमा सेयर, ऋणपत्र (बण्ड÷डिवेन्चर) म्युचुअल फन्डलाई परम्परागत लगानीको उपकरणका रूपमा लिइन्छ । स–साना लगानीकर्ताको पैसा जम्मा गरेर म्युचुअल फन्डका व्यवस्थापकले दोस्रो बजारमा लगानी गर्छन् र त्यसबाट प्राप्त हुने लाभका आधारमा प्रतिफल दिन्छन् । म्युचुअल फन्ड सीमित अवधिका लागि सार्वजनिक निष्कासनद्वारा गरिन्छ । 

उता, प्राइभेट इक्विटी भेञ्चरले पनि म्युचुअल फन्ड शैलीमा पैसा उठाएर सम्पत्ति व्यवस्थापनको काम गर्ने हो । बाहिर यस्ता कम्पनीले सम्पत्ति व्यवस्थापन गरेर पनि स्किम ल्याउने गरेका हुन्छन् । तर, नेपालमा नौलो सुनिने भएकाले हामी लगानीमार्फत विषय उठाइरहेका छौं । सेयर, बण्ड, डिबेञ्चर, स्टक तथा सामूहिक लगानी गर्ने संस्थागत लगानीकर्ता र उच्च प्रतिफल लिने चाहना राख्ने ठूला लगानीकर्ताका लागि वैकल्पिक लगानीको माध्यमका रूपमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डलाई लिन सकिन्छ ।

विशिष्टीकृत लगानी कोष भन्नाले विशेषज्ञता प्राप्त कम्पनीद्वारा ठूला लगानीकर्ताहरूसँग भएको रकम संकलन गरी कुनै नयाँ तथा चुनौतीपूर्ण व्यवसायमा लगानी गर्न खडा गरिएको कोष भनेर बुझिन्छ । यसलाई वैकल्पिक लगानी कोष पनि भन्ने गरिन्छ । यसमा न्यूनतम लगानी नै ५० लाख हुन्छ । विशिष्टीकृत लगानी कोषमा ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताहरूको संलग्नता रहेको हुन्छ । यसले संकलन गर्ने पैसाबाट कम्पनीको इक्विटीमा लगानी हुन्छ ।

यसमा दुईवटा प्रारूप (मोडालिटी) छ । एउटा भेन्चर क्यापिटल, जुन स्टार्टअपमा लगानी गरेर व्यवसायलाई ठूलो बनाउने हुन्छ । सिरिज ए, सिरिज बी र सिरिज सी गरी विभिन्न चरणमा लगानीको कुरा हुन्छ । बीज कोष (सिड फन्डिङ)बाट अलिमाथि गएपछि सिरिज एको फन्डिङ सुरु हुन्छ । त्यसलाई अझ वृद्धि गर्दै सिरिज बी र सिरिज सी गर्दै अगाडि बढ्ने गर्छन् । यस्तो कम्पनी अगाडि बढ्दै जाँदा प्राथमिक निष्कासन गर्ने चरण (आईपीओ)सम्म जान्छ । अहिले विश्वभर चर्चित बनेका फेसबुक, याहू, टेस्ला यस्तै चरणबाट वृद्धि हुँदै अघि बढेका कम्पनीहरू हुन् ।  

प्राइभेट इक्विटी तथा भेञ्जर क्यापिटल इन्भेष्टमेन्ट बैंकिङको एउटा छुट्टै र वैकल्पिक लगानीको माध्यम हो । यद्यपि यसको नियमन तथा सुपरिवेक्षण गर्ने र स्किम सञ्चालनको अनुमति दिने काम धितोपत्र बोर्डले नै गर्छ ।


अर्काे प्राइभेट इक्विटी, जसले वृद्धि भएर नाफा कमाउन सुरु गरिसकेको कम्पनीलाई अझ बढी वृद्धि आवश्यक परेको खण्डमा थप लगानीका लागि प्रयोग हुन्छ । यस्ता कम्पनीलाई थप लगानी आवश्यक पर्दा ऋण लिने हो तर, बैंकले बिना धितो ऋण दिँदैन ।

त्यस्तो बेला प्राइभेट इक्विटीले यस्ता कम्पनीमा लगानी गर्छन् । यस्ता कोषहरूले धितोपत्र बजारमा ठूलो रकम लगानी गर्न उत्सुक लगानीकर्ताहरूलाई धितोपत्रका विभिन्न एकाइ बिक्री गरेर आवश्यक रकम संकलन गर्छन् र सो रकम विशेषज्ञता प्राप्त कम्पनीमार्फत कुनै नयाँ तथा चुनौतीपूर्ण व्यवसायमा लगानी गरी प्राप्त प्रतिफल सहभागीहरूलाई नै समानुपातिक रूपमा उपलब्ध गराउँछन् । विशिष्टीकृत लगानी कोषले अन्तर्राष्ट्रिय संघ–संस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई ऋणको रूपमा समेत एकाइ निष्कासन गर्ने गर्छन् ।

वैकल्पिक लगानीको इतिहास

वैकल्पिक लगानी कोषको इतिहास हेर्दा सर्वप्रथम अमेरिकामा १९६० मा यस्तो कोषको अवधारणा विकास भएको पाइन्छ । छिमेकी राष्ट्र भारतमा भारतीय प्रत्याभूति बोर्ड (सेबी) ले सन् २०१२ मा वैकल्पिक लगानी कोष नियमावली, २०१२ लागू गरेको देखिन्छ भने बंगलादेशमा वैकल्पिक लगानी कोषको सुरुआत वैकल्पिक लगानी कोष नियमावली, २०१५ लागू भएपछि भएको देखिन्छ । हाल यस्ता कोषहरूमार्फत ७० खर्ब (७ ट्रिलियन) डलरभन्दा बढी रकम बराबरको कोष व्यवस्थापन भएको पाइएको छ ।

नेपालको पुँजी बजार आधुनिकीकरण हुँदै गएको परिप्रेक्ष्यमा प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल, हेज फन्ड जस्ता वैकल्पिक लगानी कोषलाई नयाँ उपकरणको रूपमा भित्र्याउनुपर्ने आवश्यकता देखिएकाले आर्थिक वर्ष २०७५/७६ को बजेटमा प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र हेज फन्डलगायतका नयाँ उपकरणरुलाई पुँजी बजारमा प्रवेश गराउने उल्लेख गरेको छ । त्यसैगरी बोर्डले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रममा पनि यसलाई प्राथमिकतामा राखेको छ ।

त्यसैका आधारमा बोर्डले प्राइभेट इक्विटी फन्ड, भेञ्चर क्यापिटल फन्ड, हेज फन्डजस्ता वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बनाई लागू गरेको थियो । पुँजी बजारमा नयाँ साधन र अभ्यासको रूपमा रहेको विशिष्टीकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड र हेज फन्ड रहने व्यवस्था छ । 

प्राइभेट इक्विटी फन्डः प्राइभेट इक्विटी फन्ड भन्नाले कोषको उद्देश्य प्राप्तिका लागि सर्वप्रथम स्वःपुँजी वा स्वःपुँजीसँग सम्बन्धित अन्य उपकरण वा लगानी गर्ने कम्पनीका साझेदारहरूको इच्छाबमोजिम लगानी गर्ने कोष सम्झनुपर्छ । प्राइभेट इक्विटी फन्डले राम्रो सम्भावना भएको कम्पनीको इक्विटीमा लगानी गरेर निश्चित समयसम्म कम्पनी सञ्चालन गरी आफ्नो सेयर सर्वसाधारणमा बिक्री गरी धितोपत्र बजारमा सूचीकरण गर्ने व्यवस्थासमेत गर्न सक्छ । पुँजीको अभावमा सञ्चालन हुन नसकेको यस्ता संस्थाहरूलाई प्राइभेट इक्विटी फन्डले पुँजी उपलब्ध गराई व्यवसाय विकास एवं विस्तार गर्न सहयोग गर्छ ।

भेञ्चर क्यापिटल फन्डः धितोपत्र सूचीकरण नभएका सञ्चालनको प्रारम्भिक चरणमा रहेका वा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेका नवीनतम् ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम् उद्यम व्यवसायलाई सञ्चालन गर्न सेयर स्वामित्व पुँजीमा लगानी गर्छ । यसले नयाँ र साना सुरुआती कम्पनीहरूमा संयुक्त लगानी गर्ने गर्छ ।
हेज फन्डः लगानीको उच्च जोखिम रहेको जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी स्थापना भएको कोष हेज फन्ड हो । हेज फन्डले एकै समयमा उही धितोपत्र किन्ने र बेच्ने (जसलाई लङ र सर्ट पोजिसन भनिन्छ) गरेर हेजको अवस्था सिर्जना गर्ने र हेजको अवस्थामा पनि दोहोरो फाइदा लिन्छन् ।

पुँजीको अभावमा सञ्चालन हुन नसकेका संस्था(कम्पनी)हरूलाई प्राइभेट इक्विटी फन्डले पुँजी उपलब्ध गराई व्यवसाय विकास एवं विस्तार गर्न सहयोग गर्छ ।

सम्भावना
पुँजी बजार मुलुकको विकासका लागि आन्तरिक पुँजी परिचालन गर्ने सबैभन्दा सशक्त र प्रभावकारी माध्यम हो । विकासोन्मुख पुँजी बजारमा हाल साल सुरु गरिएका विशिष्टीकृत लगानी कोष जस्तो आधुनिक नयाँ वित्तीय औजार बजारको महत्वपूर्ण अंगको रूपमा रहेको हुन्छ ।

लगानीकर्ताहरूसँग भएको रकम संकलन गरी कुनै नयाँ तथा चुनौतीपूर्ण व्यवसायमा लगानी गरेर यसले देशको औद्योगिक विकास तथा वित्तीय बजारको सन्तुलित एवं एकीकृत विकास गर्नसमेत सहयोग पु¥याएको हुन्छ । विकसित मुलुकहरूमा यसै कोषको माध्यमबाट विभिन्न भौतिक पूर्वाधारहरूमा समेत लगानी गरेको पाइन्छ ।

परम्परागत लगानीको सट्टा नवीनतम् ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम् उद्यम व्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसायहरू सुरुआत गर्न स्वदेशी तथा वैदेशिक लगानीलाई आकर्षण गर्न सक्ने विशेषता भएको विशिष्टीकृत लगानी कोषले लगानीको नयाँ अवसरहरू प्रदान गर्ने व्यवस्था गरेको छ । विशिष्टीकृत लगानी कोषले लगानीकर्ता, व्यावसायिक संस्था तथा देश र देशको अर्थतन्त्रका लागि महत्वपूर्ण योगदान पु¥याएको हुनाले यसको संभावनालाई अझै प्रगाढ बनाएको छ । विशिष्टीकृत लगानी कोषका फाइदाहरू देहायअनुसार छन् ः

१)  वैकल्पिक वित्तीय उपकरणहरू जस्तै प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डले पुँजी बजार विस्तार गर्न, घरेलु स्रोतसाधन परिचालन गर्न, निजी क्षेत्रमा लगानी गर्न नसकेर संचित भएर रहेको रकमलाई नयाँ तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न, तथा लगानीको अभावमा सुरु गर्न नसकेका नयाँ तथा उत्पादनमूलक क्षेत्रका लागि रकम संकलन गर्न प्राइभेट इक्विटी र भेञ्चर फन्ड भरपर्दो माध्यम हुने देखिन्छ ।

२)   देशमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) लाई सहज बनाउन र आकर्षित गर्न मद्दत गर्छ । उदाहरणका लागि, भारतमा प्रत्यक्ष विदेशी लगानीका रूपमा भित्रिने ५५ प्रतिशतभन्दा बढी रकम प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फन्डजस्ता विधिबाट प्राप्त हुन्छ जसले देशभित्रका साना तथा मध्यम आकारका उद्यमहरू  (एसएमई) का साथसाथै औद्योगिक भेन्चरको द्रुत वृद्धिका लागि मद्दत गरिरहेको छ । 

३)   नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट मध्यम आययुक्त मुलुकमा स्तरोन्नति भइरहेको सन्दर्भमा नेपालमा सिडिसी फन्ड, फिन फन्ड, प्रोपार्को, स्वीस फन्ड जस्ता विकास वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय दातृ निकायहरूले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमार्फत लगानी गर्न इच्छा देखाएका छन् । नेपालमा निजी क्षेत्रको वृद्धिका लागि यो निकै आवश्यक पुँजी लगानी हो । सन् २०१५ पछिको विकास एजेन्डा (दिगो विकास लक्ष्य) पछि विश्व व्यापार संगठन (डब्लूटीओ)को अगुवाईमा एड–फर–ट्रेड कार्यक्रमको पहलमा यो अभियान सञ्चालनमा छ जसले पुँजीमा पहुँच उपलब्ध गराई वित्त र वितरण च्यानलमा पहुँच समेतका निजी क्षेत्रको क्षमता निर्माणमा जोड दिएको छ ।

३)   प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डले युवालाई उद्यमशीलता उपलब्ध गराउनुका साथै युवालाई रोजगारीका अवसर सिर्जना मार्फत सकारात्मक सामाजिक लाभहरूका लागि योगदान गर्छ । कुनै विकल्प नभइरहेको स्थितिमा यसले निर्यात बढाउन, वा उत्पादन गर्न वा सेवाको विस्तार गर्न सघाउनेमा कुनै विमति छैन । 

४)   निजी क्षेत्रमा प्रतिस्पर्धा बढाउन र दिगो विकासलाई बढावा दिन प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डले महत्वपूर्ण भूमिका खेल्दछ । प्राइभेट इक्विटी फन्डहरूले उच्च–वृद्धि व्यवसायको निर्माण गर्न र आफ्ना नवीनतम उपक्रमलाई प्रसार गर्न महत्वपूर्ण पक्षका रूपमा भूमिका निर्वाह गर्छन् । उदाहरणका रूपमा, गुगल, फेसबुक, अमेजन इत्यादि विश्वव्यापी ठूला कम्पनीहरू प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डको पुँजी लगानीकै सहारामा स्थापित भएका हुन् । 

थापा ग्लोबल इक्विटी फन्डका कार्यकारी निर्देशक हुन् । 

बिहीबार ७ साउन २०७८ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया