×

टुकुचा खोला शुद्धीकरण परियोजनामा थप लगानी नगर्ने एडिबीको घोषणा

images

काठमाडौं। अन्तर्राष्ट्रिय दातृ संस्था एसियाली विकास बैंक (एडिबी) ले टुकुचा खोलाको फोहोर पानी शुद्धीकरण गर्ने परियोजनामा थप लगानी नगर्ने घोषणा गरेको छ। 

काठमाडौं महानगरपालिका र स्थानीयवासिन्दाबीच टुकुचामाथि बनेका संरचना भत्काउने÷नभत्काउने विवाद जारी रहेकै बेला एडिबीको उक्त घोषणा आएको हो। 

महानगरपालिकाले टुकुचामाथि बनेका घरलगायत संरचना ठाउँ–ठाउँमा डोजर हान्दै जबर्जस्ती भत्काउन धम्की दिएपछि सुरु भएको विवादमा अन्तर्राष्ट्रिय दातृ निकाय ध्यानाकर्षित भएका हुन्।

टुकुचा समुदाय सरोकारवालाका तर्फबाट भावना बानियाँले एडिबीको लगानीमा सञ्चालित बागमती नदी आधार सुधार आयोजनाको वित्तीय अवस्थाबारे जानकारी मागेपछि एडिबीले टुकुचामा थप लगानी नगर्ने स्पष्ट पारेको हो। 

‘एडिबीको लगानीमा सञ्चालित बागमती नदी आधार सुधार आयोजनाअन्तर्गत टुकुचा खोलाको पानी शुद्धीकरण गर्न जडान गर्ने भनिएको प्लान्टको कामका लागि अब थप लगानीको योजना छैन,’ नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नौ कुस्वाले भावना बानियाँलाई सम्बोधन गरी लेखेको पत्रमा उल्लेख छ, ‘उक्त प्लान्टमार्फत फोहोर पानी शुद्ध बनाइ टुकुचाबाट दैनिक १ करोड ७३ लाख लिटर बागमतीमा खसाल्ने योजना थियो।’ 

महानगरका मेयर बालेन्द्र साहले नारायणहिटीबाट सुरुङमार्फत कमलादीसम्म पठाइएको करिब ५ सय मिटर लामो टुकुचामाथिको खण्डमा व्यक्तिगत घर, सार्वजनिक संस्थानलगायत संरचना अनधिकृत बनाइएको भन्दै केही दिनअघि विभिन्न भागमा डोजरले खोतल्न लगाएका थिए। 
महानगरले झन्डै आठ दशक पुरानो जयनेपाल सिनेमा हल परिसरमा डोजर लगाएर खन्दा टुकुचा बगिरहेको भेटिएको थियो। त्यसपछि यो विवाद उत्कर्षमा पुगेको हो। 

टुकुचालाई सुरुङबाट पठाइएको खण्डमाथि रहेका घरलगायत संरचनाका धनीहरूले महानगरबाटै नक्सा पास भएको, मालपोत र नापीलगायत सबै सरकारी निकायमा राजस्व तिरेर घरजग्गा खरिद गरेको सरकारी कागजात हुँदाहुँदै महानगरले ‘गुन्डागर्दी शैली’ मा आफ्ना संरचना भत्काउन धम्की दिएको बताइरहेका छन्।

यता, महानगरपालिका भने टुकुचाको दायाँबायाँ र माथि बनेको सबै संरचना सार्वजनिक सम्पत्ति (जग्गा) माथि बनेका कारण सबै हटाउनुपर्ने अडानमा छ। 
 

बिहीबार ६ असोज २०७९ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया