नागरिक लगानी कोषका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण

खोटाङ लामिडाडाँमा जन्मिएका भट्टराईले राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा लामो समय काम गरिसकेका छन् ।

नागरिक लगानी कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराईले शुक्रबार पदभार ग्रहण गरेका छन् । कोष सञ्चालक डा. रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

भट्टराईलाई २१ असोजको मन्त्रिपरिषद् बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भायरोनमेन्ट इकोनोमिक्स’मा विद्यावारिधि गरेका भट्टराईले हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा सूक्ष्म तथा बृहत् अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन् ।

खोटाङ लामिडाडाँमा जन्मिएका भट्टराईले राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा लामो समय काम गरिसकेका छन् । योसँगै उनीसँग नेपाल राष्ट्र बैङ्क, न्याय सेवा तथा कृषिक्षेत्रमा काम गरेको पनि अनुभव छ ।