निजगढ विमानस्थलको काम अघि बढाउन आग्रह

बारा वन प्राविधिक सङ्घले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सन्दर्भमा पत्रपत्रिकामा प्रकाशित सामाचार एवम् सरकारी क्षेत्रबाट आएका विषयप्रति आफूहरुको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

सङ्घका अध्यक्ष राजदेवप्रसाद यादवले बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्दो सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् । ८ हजार ४५ हेक्टर वन क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्ट्याइएकोमा सोमध्ये १ हजार ५ सय ५० हेक्टरमा विमानस्थलका रुखबिरुवाहरु कटान गरी भौतिक संरचना निर्माण हुने प्रावधान रहेकोमा बाँकी ६ हजार ९ सय ९५ हेक्टर वन क्षेत्र विमानस्थलको रिजर्भका रुपमा नराखी काठ, दाउराको आपूर्तिलाई मध्यनजर राख्दै सक्रिय वन व्यवस्थापनलाई निरन्तरता दिनुपर्नेमा उनीहरुको जोड छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर तथा लगानीको सुनिश्चितता भएपछि निर्माणको प्रगति आधारमा मात्र रुख कटानको प्रक्रिया अगाडि बढाउन पनि उनीहरुको सुझाव छ । ‘सन् १९७२ मा टाँगिया क्षेत्रमा कृषि वन प्रणाली व्यवस्थापनका लागि राज्यले खटाएका कामदारहरुबाट ५ सय हेक्टर जमिन अतिक्रमित गरी बसेका छन्’, सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ । तर निर्माण हुने विमानस्थलमा सिर्जना हुने रोजगारीका अवसरमा सहजनाथ र तामागढी साझेदारी वनका उपभोक्तालाई प्राथमिकता दिनुपर्छ ।’