×

८ तोला सुनका गरगहना चोरी गर्ने दुई जना पक्राउ

images

काठमाडौं । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि–९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिए। साे चोरीका गहना किन्ने सुनारलाई समेत पक्राउ गरिएको प्रवक्ता मैनालीले बताए।

पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद  ६० हजार रूपैयाँ बरामद गरेको छ ।

प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको बताए। 

शुक्रबार​ ७ असोज २०७९ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया