चौंरी बेचेर कन्स्ट्रक्सनमा

गाउँमा चौंरी पालेर खर्च धानिरहेका लामा २०२४ सालमा गाउँकै दाजु पर्ने आङदोर्जे शेर्पासँग काठमाडौं छिरे । त्यसपछि मात्र उनको व्यवसाय र जीवनले लय पक्रियो । चौंरी बेचेर आएको १५ हजार रुपैयाँ लगानीले उनलाई स्थापित निर्माण व्यवसायी बनाइदियो । राजनीति र व्यवसायलाई सँगसँगै लगेका ७० वर्षीय लामा दुवै क्षेत्रमार्फत विकासको बाटोमा अघि बढेकोमा सन्तुष्ट छन् ।

दोलखाको अति विकट गाउँ श्यामाका जिपछिरिङ लामाले त्यो बेला काठमाडौं देखेकै थिएनन् । सदरमुकाम भने आउजाउ गर्थे । गाउँमा चौंरी पालेर खर्च धानिरहेका लामा २०२४ सालमा गाउँकै दाजु पर्ने आङदोर्जे शेर्पासँग काठमाडौं छिरे । त्यसपछि मात्र उनको व्यवसाय र जीवनले लय पक्रियो ।

गाउँमै हुँदा साथीहरुसँग पश्चिम नेपालतिर गएका लामा के गर्ने भन्ने द्विविधामै थिए । उनी घरमा पनि त्यति नियमित बसिरहेका थिएनन् । छोराको घुमन्ते अवस्था देखेर आमाले उनलाई चौंरी किनिदिइन् । त्यसपछि उनी दुई वर्ष चौंरीमा पालनमै रमे । आमाको मृत्युपछि चौंरी बेचेर दाजु शेर्पासँग काठमाडौं आएका लामाले निर्माण व्यवसायको काममा हात हाले । आमाभन्दा अगाडि बुबाको पनि मृत्यु भइसकेको थियो । त्यसैले शेर्पाले लामालाई लिएर काठमाडौं आएका थिए ।

जिपछिरिङ लामाले भविष्यमा ’ए’ लेभलको निर्माण व्यवसायी बन्छु भन्ने कल्पनासमेत गरेका थिएनन् । २०१२ सालमा जन्मिएका लामा १० वर्षको हुँदा नै उनका बुबा बितेका थिए । बुबाको निधन भएपछि दाजुहरु छुट्टै बसेका थिए । दुई दाजु छुट्टिएर बसेपछि आमाको हेरचाह गर्ने र घर सम्हाल्ने जिम्मेवारी उनले लिए । त्यही बेला पनि निर्माणको काम गर्न गाउँका अन्य साथीसँग पश्चिम नेपालका विभिन्न जिल्ला पुगे, लामा ।

चौंरी बेचेर आएको १५ हजार रुपैयाँ लिएर राजधानी छिरेका लामा अहिले स्थापित निर्माण व्यवसायी भएका छन् । गाउँका दाजुले नै उनलाई निर्माण कर्ममा लगाएका थिए । राजधानी छिरेको झन्डै ९ वर्षपछि लामाले २०३३ सालबाट लामा कन्स्ट्रक्सनबाट आफैंले व्यवसाय सुरु गरेका थिए । ‘डी लेभल’बाट निर्माण व्यवसाय सुरु गरेका लामा कन्स्ट्रक्सन २०४६ सालमा ‘ए’ लेभलको निर्माण कम्पनी बन्यो । उनी पनि ‘ए’ लेभलकै व्यवसायी बने ।

‘बाल्यकाल र युवामा धेरै नै दुःख गरियो, निर्माण व्यवसायमा आएपछि पनि दुःखका दिन गएनन्,’ लामाले भने । पूर्वाधारको काम भनेको विकासको हो । तर कहिल्यै यो व्यवसायमा जस नपाइने उनी बताउँछन् । सुरुसुरुमा काम गर्दा अहिलेको जस्तो अत्याधुनिक निर्माण सामग्री नहुँदा धेरै दुःख भोग्नुपरेको लामाको अनुभव छ । कामको गुणस्तर हेर्न आफंै निर्माण स्थलमा खट्ने लामा, निर्माण व्यवसायमा अनुगमन र गुणस्तरको विषयमा सम्झौता गर्न नहुनेमा जोड दिन्छन् ।

‘सी’ लेभलको हुँदा केही निर्माणका लागि डोजर, टिपर, रोलरलगायतका सामग्री जोडेको थिएँ, अहिले अत्याधुनिक निर्माणका मेसिन र सामग्री रहेका छन्,’ उनले भने । सुरुमा सामान्य पेटीमा लिएर सडकको काम गर्दै आएका लामाले पश्चिम नेपालको लमजुङ, पोखरा, बागलुङ, डडेलधुरालगायत जिल्लामा धेरै काम गरेका छन् । लामाले २०४२ सालमै ४० लाख रुपैयाँ लागतको भैरहवास्थित सडक निर्माणको काम गरेका थिए ।

त्यतिखेर निर्माण सामग्री जुटाउन अहिलेको जस्तो सहज परिस्थिति थिएन । २०५६÷५७ सालतिर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरेर पनि काम गरेको उनी सम्झन्छन् । हेलिकोप्टर प्रयोग गर्दा धेरै महँगो हुने र लागत बढ्ने भए पनि त्यो बेला घाटा खाएरै पनि धेरै परियोजना पूरा गरेको उनको दाबी छ ।

आफूले काम गरेकोमध्ये सबैभन्दा राम्रो इलामको फिदिममा गरेको कालोपत्रेलाई उनी सम्झिन्छन् । ‘सो कालोपत्रे हालसम्म राम्रो रहेको छ,’ उनले भने । यस्तै २०६३ सालतिर धनकुटाको वसन्तपुरमा पनि कालोपत्रे गरेका थिए, जुन सडक अहिले पनि राम्रो रहेको र धनकुटामा जाँदा र उक्त कालोपत्रेको विषयमा कुरा चल्दा आफूलाई आनन्द आउने लामा बताउँछन् ।

आफूले गरेको काममध्ये सबैभन्दा गाह्रो दाङको लमहीमा ३ सय मिटरको पुल बनाउँदा भएको अनुभव लामासँग छ । लामो समय सम्म पुलको काम गर्न नसकेपछि सरकारले कम्पनीलाई कालोसूचीमा राख्न कोसिससमेत ग¥यो । तर सरकारले नै बनाएको छानबिन समितिले गलत डिजाइनका कारण पुल बनाउन नसकेको रिपोर्ट सार्वजनिक भएपछि मात्र जोगिएको उनको भनाइ छ ।

‘नेपालका अधिकांश आयोजनामा सम्बन्धित निकायले गलत डिजाइन दिएकै कारण धेरै निर्माण व्यवसायी समस्यामा परेका छन्,’ उनले भने । सरकारले कामका लागि ठेक्का निकाल्दा सोचविचार नै नगर्ने गरेको लामाको आरोप छ । भूगोलको अवस्था र समयको ख्यालै नगरी ठेक्काको सूचना निकाल्दा निर्माण व्यवसायीहरुले निर्धारित समयमै काम सम्पन्न गर्न नसकेको उनको भनाइ छ ।

विभिन्न चाडपर्वमा बिदा हुने, बर्सातमा करिब ३ महिना काम नहुने र हिमाली क्षेत्रमा हिउँ परेपछि काम गर्न नसकिने भएका कारण त्यस्ता ठाउँहरुमा समयानुकूल ठेक्काको सूचना निकाल्नुपर्छ । ‘तर अध्ययन नै नभई सूचना आउँछ, ठेक्का पर्छ, त्यसको असर काममा पर्छ,’ उनी भन्छन् ।

निर्माण व्यवसायमा लागेर केही चर्चा र सम्मान पाए पनि मेलम्ची आयोजनाको कामले भने उनको करिअरमा केही असर पु¥यायो । २०६०/६१ तिर मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको कोरियन कम्पनीले बीचमै छाडेर गएपछि लामाको कम्पनीले त्यो सम्हालेको थियो ।

‘हामीले सम्हालेपछि पनि निर्धारित समयमा काम नसकेको भन्दै जेलसम्म पुग्नुप¥यो,’ उनले भने । त्यो बेला आफूहरुलाई दरबारियाहरुले राजनीतिक प्रतिशोध साँध्न जेलमा हालेको र २ करोड रुपैयाँ जरिवानासमेत गरेको उनी बताउँछन् । तर आफूले अदालतमा मुद्दा लडेर सफाइ पाएपछि करिब १ अर्बबराबरको काम सम्पन्न गरेको उनको भनाइ छ ।

‘हामीले अहिलेसम्म गलत गरेका छैनौ, राज्यलाई नियमित रुपमा कर बुझाएका छौं,’ उनले भने, ‘कुनै पनि कामदारले अहिलेसम्म पैसा नदिएको गुनासो गरेका छैनन् । सय प्रतिशतमा १ प्रतिशत निर्माण व्यवसायीले गलत गरेका कारण पछिल्लो समय निर्माण व्यवसायमा नकारात्मक असर परेको छ ।’

गलत मनसाय राख्ने व्यवसायीले गरेको गल्तीको भागीदार सबै निर्माण व्यवसायी हुनुपरेको उनको गुनासो छ । ‘हामीले धेरै राम्रा काम गरेका हुन्छौं, ती कुराहरु मिडियामा आउँदैनन् । तर कुनै ठाउँमा सानो गल्ती भएको पाइए, त्यो भाइरल बनाइदिन्छन्,’ उनले गुनासो गरे, ‘एकोहोरो रुपमा हामीमाथि प्रहार हुन्छ । राज्य र मिडियाले निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टि नै गलत छ । के कारणले निर्माणको काम ढिला भयो र केके समस्या भयो भन्ने विषयमा कुनै पनि निकायले सोधखोज गर्दैनन् ।’

यहाँ कतिपय काममा निर्माण व्यवसायी मात्र नभई सरकार पनि दोषी रहेको उनको दाबी छ । ‘ठेक्का निकाल्दा कुन क्वालिटीको सामान प्रयोग गर्ने, कहाँको गर्ने र कतिसम्म गर्ने भन्ने नै टुङ्गो लगाइएको हुँदैन,’ उनले भने । निर्माण व्यवसायीले आफ्नै बुद्धि र विवेक प्रयोग गरेर निर्माण सामग्री प्रयोग गर्ने गरेकाले केही ठाउँमा कमसल सामग्री प्रयोग हुने गरेको र छिट्टै भत्किने गरेको उनी स्विकार्छन् ।

सरकारले निर्माण व्यवसायी भनेको दास नै हो, उनीहरुलाई जेजस्तो व्यवहार गरे पनि हुन्छ भन्ने सोच अहिले पनि राख्ने गरेको उनको दाबी छ । निर्माण व्यवसायीले देश विकासका लागि गरेको योगदानको कदर हुन नसकेकोमा उनले गुनासो पनि छ । राजनीति र व्यवसायलाई सँगसँगै लगेका ७० वर्षीय लामा दुवै क्षेत्रमार्फत विकासको बाटोमा अघि बढेकोमा आफू सन्तुष्ट रहेको बताउँछन् ।