×

६ महिनामै भित्रिए १७ सय विद्युतीय गाडी

images

काठमाडौं। विश्वबजारमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएको छ। नेपालमा पनि विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएको देखिन्छ।

सरकारले इन्धनयुक्त सवारीसाधनको प्रयोगभन्दा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउनुपर्ने विषयमा जोड दिँदै आएको छ। गत वैशाखदेखि पुस १ गतेसम्म इन्धन सवारीमा लागेको आयात प्रतिबन्धका कारणले मुलुकमा विद्युतीय सवारीसाधनको बजार थप बढाउन मद्दत पुगेको देखिन्छ।

मुलुकमा भित्रिने विद्युतीय सवारीसाधनको तथ्यांकलाई हेर्दा दिनप्रतिदिन यस्ता सवारीहरूको आयात बढ्दै गएको देखिन्छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिना साउनदेखि पुस मसान्तसम्म १ हजार ७ सय ४९ विद्युतीय सवारी भित्रिएका छन्।

यो अवधिमा सय किलोवाट क्षमताका १ हजार ७०८ र त्यो भन्दा बढी क्षमताका ४१ सवारी साधन नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ। चालू आर्थिक वर्षको यो अवधिमा जम्मा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको देखिन्छ। 

विभागको तथ्यांकलाई हेर्दा आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्र २११ विद्युतीय सवारी मुलुकमा भित्रिएको देखिन्छ। त्यस्तै भदौमा २ सय तीन, असोजमा २ सय ९१, कात्तिकमा ३ सय १३, मंसिरमा ३ सय ३५ र पुसमा ३ सय ९६ विद्युतीय सवारी मुलुकमा भित्रिएको देखिन्छ।

यसरी चालू आर्थिक वर्षको छ महिना मध्ये भदौमा बाहेक प्रत्येक महिना विद्युतीय सवारी आयातको मात्रा बढ्दै गएको देखिन्छ। चालू आर्थिक वर्ष २०७९/८०को छ महिनामा १ हजार ७ सय ४९ विद्युतीय सवारी नेपाल भित्रिदा गत आर्थिक वर्ष २०७८/७९ भरमा जम्मा १ हजार ८०७  विद्युतीय गाडी मुलुकमा भित्रिएका थिए।
 

मङ्गलबार १० माघ २०७९ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया