लगानीकर्ताको धनवृद्धि भए सरकारलाई करमा फाइदा : अर्थमन्त्री खतिवडा

अर्थ मन्त्रालयतिर हेरेर कराउनेभन्दा पनि कम्पनीको वासलात, कम्पनीको नाफा नोक्सान हेरेर लगानी गर्नु उपयुक्त हुने उनले बताए । खतिवडाले पुँजीगत लाभकर गणनाको विवाद अर्थ मन्त्रालयले टुङ्ग्याएको र केही दिनमा नै सबै लगानीकर्तालाई थाहा हुने जानकारी दिएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताको धनवृद्धि भए सरकारलाई फाइदा हुने बताएका छन् । अर्थमन्त्री खतिवडाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तयार पारेको अनलाइन कारोबार प्रणालीको उद्घाटन गर्दै लगानीकर्ताको धन वृद्धिको कामनासमेत गरेका छन् ।

उनले लक्ष्मी पुजाको श्रद्धा भए पनि सेयर मूल्यलालाई लक्ष्मीपूजाले प्रभावित पार्नु नहुने बताए । ‘लक्ष्मीले तपाईहरुलाई साथ दिऊन् । लगानीकर्ताको धन बढ्यो भने मुलकको पनि धन बढ्छ । त्यसपछि हामीले पुँजीगत लाभकर त लगाउन पाइनै हाल्छौं’, उनले भने ।

अर्थ मन्त्रालयतिर हेरेर कराउनेभन्दा पनि कम्पनीको वासलात, कम्पनीको नाफा नोक्सान हेरेर लगानी गर्नु उपयुक्त हुने उनले बताए । खतिवडाले पुँजीगत लाभकर गणनाको विवाद अर्थ मन्त्रालयले टुङ्ग्याएको र केही दिनमा नै सबै लगानीकर्तालाई थाहा हुने जानकारी दिएका छन् ।

सेयर बजारको विकासका लागि संस्थागत लगानीकर्ता आवश्यक परे पनि बैङ्कमै ११ प्रतिशत व्याज पाउने भएपछि सेयर बजारमा आउन लगानीकर्ता हच्किएको उनको भनाइ छ । हरेक चिजको सिजन भएजस्तै बैङ्किङ तरलताको पनि सिजन हुने हुँदा केही समयसम्म यस्तो सिजन कायम रहने उनले बताए ।