महासंघका उपाध्यक्ष ढकालले भने, पर्यटनमा नीजि क्षेत्रको लगानी दोब्बर हुँदै गएको छ

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन विकासमा नीजि क्षेत्रले सदैव सहयोग र सहकार्य गर्ने बताएका छन् । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा आयोजित ‘हिमालयन समीट’ मा मुख्य वक्ताको रुपमा बोल्दै ढकालले निजी क्षेत्रले पर्यटनमा लगानी बढाउँदै लगेको पनि उल्लेख गरे ।

‘नेपाल र चीनवीच प्राचीनकालदेखि नै ऐतिहासिक र सांस्कृतीक सम्बन्ध रहेको छ,’ उनले भने । ‘पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिमप्राप्त शिक्षीत युवा जनशक्ति तयार हुँदै गएको छ,’ ।

काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउदै माउन्ट एभरेस्ट, उच्च हिमशृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताए ।

यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरे । ‘पर्यटनमा नयाँ नयाँ गन्तव्य थपिदै गएकाले तारे होटलदेखि नयाँ गन्तव्यका लागि नीजि क्षेत्रले लगानी दोब्बर बनाउँदै लगेका छन्,’ उनले भने ।

समिटमा चिनियाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधि सहित करिव एक सय जनाको सहभागिता रहेको थियो ।