बिहीबार, मंसिर १६ २०७८ ०३:३३ PM

×

व्यवसाय र राजनीतिमा सक्रिय व्यवसायी, जो बने कांग्रेस महाधिवेशन प्रतिनिधि

images

काठमाडौं । यति बेला देशमा कांग्रेस महाधिवेशनको चर्चा र चहलपहल दुवै छ । राजनीतिलाई नै कर्म र पेसा बनाएकाहरु त यसमा लागेका छन् नै । साथै व्यवसायमा एम्पाएर खडा गरेका ठूला व्यवसायीहरु पनि यसमा सहभागी भएका छन् । व्यवसायसँगै राजनीतिमा समेत यिनीहरू लोकप्रिय देखिन थालेका छन् ।

आसन्न कांग्रेसको १४ औं महाधिवेशन चलिरहँदा महाधिवेशन प्रतिनिधिको रुपमा विजयी भएसँगै राजनीतिमा पनि उनीहरुको पकड दरिलो देखिएको हो ।

व्यवसायमा अब्बल ठहरिएका व्यवसायी विनोद चौधरीदेखि देविप्रकाश भट्टचनसहित ३० जना व्यवसायीले महाधिवेशन प्रतिनिधिका रुपमा जित हासिल गरे । महाधिवेशन प्रतिनिधि जित्नका लागि पहिले क्षेत्रीय प्रतिनिधि जित्नुपर्ने हुन्छ । अनि मात्रै महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न पाइने विधान छ ।

व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका व्यवसायीहरु आफ्ना कार्यकर्तामाझ पनि लोकप्रिय देखिएका छन् । व्यवसायजस्तै राजनीतिलाई पनि व्यवस्थित तरिकाले अघि बढाउने उद्देश्यले उनीहरु कांग्रेसको राजनीतिमा लागेका हुन् ।

हालसम्म भएका जिल्ला अधिवेशनबाट ३० जना व्यापारीहरू महाधिवेशन प्रतिनिधि चुनिएका छन् । अब उनीहरुले आफ्नो सभापति कस्तो ल्याउने भन्ने निर्क्याैल गर्नुपर्ने हुन्छ ।   

पुँजीवादलाई अनुशरण गर्ने पार्टी हो, कांग्रेस । व्यापारीले पनि पुँजीवादलाई नै अनुशरण गर्छन् । कांग्रेस खुला अर्थतन्त्रलाई आत्मसात् गर्ने पार्टी भएकाले व्यापारीको रोजाइमा पर्नु स्वाभाविक भएको उनीहरुको भनाइ छ ।

महाधिवेशन जितेका व्यवसायीले अहिले पनि नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेकै छन् । सरकारी तहमा बसेर होस् वा निजी क्षेत्रबाट, नीति निर्माणमा उनीहरुले खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । अझ भन्नुपर्दा आर्थिक विषयक कानुन निर्माणमा पनि उनीहरुको सुझाव महत्वपूर्ण हुने देखिन्छ ।

देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्र २५ जना महाधिवेशन प्रतिनिधिका रुपमा आउँछन् । यसरी हेर्दा १ सय ६५ निर्वाचन क्षेत्रबाट जम्मा ४ हजार १२५ जना प्रतिनिधि आउँछन् । त्यसबाहेक कांग्रेसको जनसम्पर्क समिति, भ्रातृसंगठन र दलित समुदायबाट गरी थप ५ सय जना प्रतिनिधि थपिन्छन् । यसो हुँदा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ५ सय पुग्छ ।

कांग्रेसको विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदै छ । अर्बपति विनोद चौधरी, देविप्रकाश भट्टचन, मीनेन्द्र रिजाल, मोहन आचार्य, राजेन्द्र बजगाईं, चिरञ्जीवी थापा, लीलेन्द्र प्रधान, खगेश्वर बोहरा, जीपछिरिङ लामा, मोहनबहादुर बस्नेत, सुनील थापा, रवि सिंह, वीरबहादुर बलायरले कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि जितेका छन् ।

यसैगरी बहादुरसिंह लामा, हेमराज तातेड, पवनकुमार सारडा, दयाराम पाण्डे, राजेशबहादुर सिंह, ग्याल्जेल लामा, रामजी पन्त, गोकर्ण पौडेल, विमल ढकाल, जयराम लामिछाने, इन्द्र बानियाँ, बिन्दुकुमार थापा, मिलन थापा,  चन्द्र ढकाल पनि महाधिवेशन प्रतिनिधिका रुपमा जित हासिल गरेका छन् ।

केसी ग्रुपका निर्देशक किरण केसी पनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी स्वर्गिय सूर्यबहादुर केसीका छोरा हुन् ।  त्यसैगरी, जिल्ला सभापतिमा भीमबहादुर साउद (डडेलधुरा), डम्बर खड्का (इलाम) र कान्छा लामा (रामेछाप) पनि सक्रिय व्यवसायमा छन् ।

 

 

 

 

 

 

 

बिहीबार ९ मंसिर २०७८ ०२:२२ PM मा प्रकाशित

प्रतिक्रिया