प्रहरीको ‘अपरेसन सेफ्टी पिन’मा परे ३ सय ७१ जना

अभियानअन्तर्गत प्रहरीले ७४ साउनदेखि हालसम्म ३ सय ७१ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं : सार्वजनिक सवारीसाधनभित्र हुने यौनजन्य दुव्र्यवहार रोक्न प्रहरीले थालेको ‘सेफ्टी पिन अपरेसन’मा ३ सय ७१ जना कारबाहीमा परेका छन् । सार्वजनिक सवारीसाधनभित्र हुने यौनजन्य दुव्र्यवहार रोक्न प्रहरीले २०७४ साउन १८ गतेबाट अपरेसन सेफ्टी पिन सुरु गरेको थियो ।

अभियानअन्तर्गत प्रहरीले ७४ साउनदेखि हालसम्म ३ सय ७१ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

उनका अनुसार अपरेसनकै लागि महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीबाट ५ टोली, काठमाडौं प्ररिसरबाट १५ टोली, ललितपुर परिसरबाट १० टोली र भक्तपुरबाट ३ टोली गरी ३३ टोलीले सार्वजानिक यातायात्रभित्र निगरानी बढाउँदै आएका छन् ।

‘महिलामाथि हुने हिंसा रोक्न बिहानदेखि बेलुकासम्म उपत्यकाभित्र चल्ने सार्वजानिक यातायातभित्र सादा पोसाकमा प्रहरी खटिएका हुन्छन्,’ डीआईजी थापा क्षेत्रीले भने ।

करिब २ वर्षको अवधिमा पक्राउ परेका ३ सय ७१ जनामा ९ जनालाई सार्वजानिक अपराधमा मुद्दा चलाइएको र बाँकीलाई सम्झाइबुझाइ गरी छाडिएको डीआईजी थापा क्षेत्रीले बताए ।

के हो अपरेसन सेफ्टी पिन ?
उपत्यकामा चल्ने सार्वजानिक यातायातका साधनमा सवार महिलालाई विभिन्न प्रकारका हिसां हुने गरेको गुनासो र उजुरी बढ्न थालेपछि महानगरीय प्रहरी आयुक्त कार्यालयले सम्बन्धित क्षेत्रका जानकारसँग समन्वय गरी त्यस्ता व्यक्तिलाई तह लगाउन अभियान थाल्यो र सो अभियानका नाम दिइयो— अप्रेसन सेफ्टी पिन ।

‘अपरेसन सेफ्टी पिन’मा एक महिला प्रहरी र दुई पुरुष प्रहरी सादा पोसाकमा खटिने गरेका छन् । त्यो टोली जति बेला पनि सार्वजानिक यातायातभित्रै हुन्छ । तर त्यो कुरा अन्यलाई थाहा हुँदैन ।

जब कुनै पनि व्यक्तिले महिलामाथि विभिन्न हर्कत गर्न खोज्छ, टोलीले त्यस्ता व्यक्ति नियन्त्रणमा लिएर सम्बन्धित क्षेत्रका प्रहरी बोलाएर जिम्मा लगाउने गरेको छ ।