ज्याला वृद्धिको माग राख्दै टानमा मजदुरले लगाए ताला

मजदुरको हितमा उठाउँदै आएका मागलाई बेवास्ता गरेको भन्दै सोमबार नेपाल ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)मा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडाैं : ट्रेकिङमा जाने श्रमिकहरुको ज्याला वृद्धिको माग राख्दै पर्यटन क्षेत्रमा क्रियाशील आधिकारिक ट्रेड युनियन आन्दोलनमा उत्रिएको छन् । मजदुरको हितमा उठाउँदै आएका मागलाई बेवास्ता गरेको भन्दै सोमबार नेपाल ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)मा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले ट्रेकिङमा जाने श्रमिक र कार्यालयमा कार्यरत श्रमिकलाई हाल दिइँदै आएको ज्याला तथा तलबमा ३९ प्रतिशतले वृद्धि गर्नुपर्ने जनाएका छन् । यस्तै मजदुर कल्याणकारी कोषको सम्बन्धमा २०६६ साउन १८ गते पर्यटन विभागमा यस क्षेत्रमा क्रियाशील २ ओटा मजदुर सङ्गठन र २०७३ माघ २५ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ४ ओटा ट्रेड युनियन र टानबीच भएको सहमतिअनुसार कल्याणकारी कोष स्थापना गरी विगतदेखि हालसम्मको मजदुर कल्याणकारी कोषमा तोकिएअनुसार १० प्रतिशत रकम जम्मा गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।

मजदुर सङ्गठनहरुले गत २६ गते टानलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूहरुले राखेका माग तत्काल समाधान गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका थिए । आफूहरुले राखेका माग सम्बोधन नगरिएको र वार्ताका लागि एक पटक पनि सम्पर्क नगरिएको भन्दै तालाबन्दी गरिएको अखिल नेपाल पर्यटन मजदुर सङ्घका महासचिव उपेन्द्र उप्रेतीले जानकारी दिए । उनले आफूहरुले राखेका माग टानले बेवास्ता गरेका कारण तालाबन्दी गर्नु परेको बताए । मागका विषयमा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उप्रेतीको भनाइ छ ।

आन्दोलनको नेतृत्व नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स मजदुर युनियन (युनिट्राभ), नेपाल पर्यटन श्रमिक सङ्घ र अखिल नेपाल पर्यटन मजदुर सङघले गरिरहेका छन् ।

यसैबीच टानका अध्यक्ष नवराज दाहालले मजदुर युनियनहरुले राखेका माग श्रम मन्त्रालय र पर्यटन बोर्डमा जानकारी गराइसकिएको बताए । राज्यसँग राख्नु पर्ने माग टानलाई राखेर समाधान नहुने बताउँदै सरकारी संयन्त्रले यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । टान सदैव मजदुरहरुको हितमा रहेको बताउँदै तत्काल वार्तामा आएर सरकारसँग सामूहिक रुपमा माग राख्न आफूहरु तयार रहेको अध्यक्ष दाहालको भनाइ छ ।