स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा समावेश

पर्यटकीय गन्तव्यमध्ये दुई अाेटालाई नयाँ गन्तव्य र दुईलाई प्रवर्द्धनात्मक गन्तव्यको सूचीमा समावेश गरेको हो ।

वालिङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा परेका छन् । पर्यटकीय गन्तव्यमध्ये दुई अाेटालाई नयाँ गन्तव्य र दुईलाई प्रवर्द्धनात्मक गन्तव्यको सूचीमा समावेश गरेको हो ।

स्याङ्जाका सतौं चण्डीथान र आलमदेवी नयाँ गन्तव्य एवम् सिरुबारी र स्वरेक मैदानलाई प्रवर्द्धनात्मकतर्फ समावेश गरिएको छ ।

नेपाल सरकारको एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भएको स्याङ्जाको सतौं चण्डीथान पनि एक हो । पुतलीबजार नगरपालिकामा पर्ने सतौं चण्डीथान ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको एक सम्पदास्थल हो ।

यो ठाउँ बाइसे चौबीसे राज्यका पालामा पश्चिमका चौबीसे राज्यहरुमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रुपमा थियो । पृथ्वीनारायण शाहका सेनापति केयरसिंह बस्नेत मारिएको स्थल यही थियो । पृथ्वीनारायण शाहकै पालाका मन्त्री वंशीराज पाण्डे यसै स्थलमा नजरबन्दमा परेका थिए । यस स्थलमा अहिले दरबारको भग्नावशेष मात्रै बाँकी छ । यहाँ करिब छ सय वर्ष पुरानो कोतघर अहिले पनि देख्न सकिन्छ ।

सतौंकोटे राजाको इष्टदेवीका रुपमा पुजिने यस ठाउँमा चण्डी र कालिका गरी दुईटा मन्दिर छन् जुन मन्दिर झन्डै छ सय वर्ष पुरानो मानिन्छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।

त्यसैगरी, यस क्षेत्रलाई पर्यटकीय दृष्टिले पनि विकास गर्न खोजिएको छ । मन्दिरको नजीकै खर्सुको लेक रहेको छ जहाँ ऋषिहरुले तपस्या गरेका र अहिले पनि त्यहाँ तपस्या गरेका बेलाका भग्नावशेषहरु देख्न सकिन्छ ।

पुतलीबजार नगरपालिकाको वडा नं ४ गुढीखोलामा रहेको चम्पागिरी सन्न्यास आश्रमदेखि गुढीखोलाको किनार हुँदै आँधीखोला तरेर पाणिनि आश्रम, चण्डीकालिका मन्दिर हुँदै खर्सुको लेकसम्म पैदल मार्गका रुपमा विकास गर्ने योजना रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । खर्सुको लेकबाट बिहान मनमोहक सूर्योदय अवलोकन गर्न पाइने र यस स्थललाई घरबास (होमस्टे) को रुपमा पनि विकास गर्न सकिने सम्भावना छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ नं वडामा पर्ने शाह वंशको कुल देवताको रुपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको अर्को ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको स्थल हो । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी जलविद्युत् परियोजनाको बाँधस्थलबाट झन्डै १५ किलोमिटरको दूरी पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ ।

वेगमाता वेगेश्वरी कुल देवी अलप हुनुभएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करिब एक हजार मिटरभित्रबाट सुरुङ हुँदै कालीगंगाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बस्नुभएको किंवदन्ति रहेको बताउँछन् वालिङ नगर प्रमुख एवम् आलमदेवी मन्दिरका इतिहासविद् दिलीपप्रताप खाँण ।

“भीमसेन पातीको रुखबाट अलप भएकाले सोही दिनदेखि वेगमाता वेगेश्वरीलाई सजिलो रुपमा अलप देवी भन्दा भन्दै अपभ्रंस भई आलमदेवी बन्न पुगेको हो,” इतिहासविद् खाँणले भने– “अत्यन्त सक्रिय देवीका रुपमा चिनिएकी आलमदेवी वैद्धिक विधिअनुसार अष्टमात्रिकाको रुपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तान सरह माया र आशीर्वाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीहरुलाई निरोगी, भाकल एवम् इच्छाइएको बरदान माग्दा पुग्ने र आयु समेत लम्बाइन सकिने बरदान माग्दा पुग्ने विश्वास छ ।”

आलमदेवीका नाममा रहेका गुठी जग्गाहरुको अभिलेख नभएकाले हाल लथालिङ्ग अवस्थामा रहेका गुठी जग्गाहरुको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।

“कालीगण्डकी जलाशयसम्म देश तथा विदेशबाट हजारौं पर्यटकहरु अवलोकनका लागि आउने गरेका छन्,” जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष श्रेष्ठले भने, “जलाशयसम्म पुगेका पर्यटकलाई आलमदेवी पुर्याउने र पाल्पाको रानीमहलसम्म आएका पर्यटकलाई आलमदेवीमा ल्याई पुर्याउने गरी तयारी गर्दैछौं जसले गर्दा पर्यटकको बसाइ स्याङ्जामा लम्बिन सक्छ ।”

त्यसैगरी, प्रवर्द्धनात्मक गन्तब्यतर्फ दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास सिरुबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो । स्याङ्जाको आँधीखोला गाउँपालिकाको १ नं वडामा रहेको सिरुबारी गाउँ देशमा मात्रै नभएर विदेशमा समेत प्रख्यात छ ।

सिरुबारीमा पुग्न सिद्धार्थ राजमार्गको नाउँडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै जान सकिन्छ । यस ठाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गरिने स्वागत तथा व्यवस्थापन पक्ष अन्य होमस्टेको तुलनामा राम्रो रहेको सिरुबारी पर्यटन तथा व्यवस्थापन विकास समितिका सदस्य संयोजक जुमबहादुर गुरुङले बताए ।

गत आर्थिक वर्षमा मात्रै सिरुबारीमा दुई हजार तीन सयभन्दा बढी नेपाली र ५ सयभन्दा बढी विदेशी पर्यटक आएको अभिलेख रहेको संयोजक गुरुङले बताए ।

“सिरुबारी दक्षिण एशियाकै पहिलो सामुदायिक होमस्टे भएकै कारणले पनि कतिपय पाहुनाहरु यहाँको व्यवस्थापन पक्ष बुझ्न आउनुहुन्छ,” संयोजक गुरुङले भने, “कतिपय पर्यटकहरु यहाँको स्वागत तथा स्थानीय खानाका परिकारहरुमा रमाउन आउने गर्नुहुन्छ ।”

त्यस्तै, अर्को प्रवर्द्धन गर्नुपर्ने गन्तव्यमा स्वरेक मैदान छ । स्याङ्जाको भीरकोट नगरपालिकाको ५ नं वडामा रहेको स्वरेक मैदान पर्यटकीय र धार्मिक आस्थाको केन्द्रको रुपमा विकास भइरहेको छ । यस ठाउँमा भर्खरै मात्रै प्रथम नेपाल एक्युरेसी प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न भइसकेको छ भने यसअघि सोही स्थानमा प्याराग्लाइडिङको छनौट प्रतियोगिता पनि भएको थियो ।

भीरकोट–५ स्वरेक मैदानबाट प्याराग्लाइडिङ उडेर (टेकअप) वालिङ नगरपालिकाको ११ नं वडाको डौंवाफाँटस्थित आँधीखोलाको किनारमा अवतरण गरिन्छ । सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–१ बयरघारीबाट ९ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १०/११ किलोमिटरको कच्ची सडक हुँदै यस स्थलमा पुग्न सकिन्छ । स्वरेकमा दक्षिण एशियाकै पहिलो प्याराग्लाइडिङ स्कुल स्थापना भएको छ । यहाँ स्वदेशी तथा विदेशी खेलाडीहरुलाई प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण प्रदान गर्ने गरिएको बाबु एडभेञ्चर स्कुलका सानोबाबु सुनुवारले बताए । – तोलाकान्त बगाले/रासस