×

यती डिष्टिलरीको व्यापार बढ्दो, ओल्डदरबार र ८८४८ भोड्का बेचेर ६ महिनामा साढे २ अर्ब आम्दानी 

images

काठमाडौं । निजी लगानीमा सञ्चालनमा रहेको यती डिष्टिलरी प्राइभेट लिमिटेडले ६ महिनामा साढे २ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यती डिष्टिलरीले ओल्डदरबार  ह्विस्की र ८८४८ ब्राण्डको भोडका बेचेर ६ महिनामा २ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।

६ महिनाको व्यापार हेर्दा एक वर्षमा यतिको आम्दानी ५ अर्ब रुपैयाँ नाघ्ने देखिएको छ । गत वर्ष डिष्टिलरीले ४ अर्ब ३३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै सन २०२० मा ३ अर्ब ५८ करोड ६० लाख, सन् २०१९ मा ४ अर्ब ५० करोड ४० लाख र २०१८ मा ३ अर्ब २६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

यतीले ७० यूपी क्षमताका कस्तुरीसमेत गरी ७ ब्राण्डको मदिरा उत्पादन गर्दै आएको छ । कुल आम्दानीको ९४ प्रतिशतसम्म हिस्सा ओल्डदरबार र ८८४८ भोड्काको छ । सन् २०२० मा यी दुई ब्राण्डको ९३ प्रतिशत आम्दानीको हिस्सा थियो । यी दुई ब्राण्डको बिक्रीका आधारमा कम्पनीको आम्दानी तलमाथि पर्ने गर्छ । 

सन् २००३ मा स्थापना भएको यती डिष्टिलरीले सन् २०१५ सम्म ७० युपीको मदिरा उत्पादन गर्दै आएको थियो । सन् २०१५ पछि यतिले २५ र ३० युपी क्षमताको ओल्डदरबार र ८८४८ भोडका उत्पादन थालेको हो । यी दुई ब्राण्डका मदिराको व्यापारमा चमक आएको छ ।

उद्योगले युरोपेली आपूर्तिकर्ताबाट माल्ट, स्प्रिट र इएनए आयात गरेर मदिर उत्पादन गरिरहेको छ । ओल्डदरबार ह्विस्की र भोडकाको आन्तरिक बजार हिस्सा राम्रो रहेकाले यती अहिले ठूलो मदिरा उत्पादक बनेको छ । सरकारले तयारी मदिरा आयातमा उच्च भन्सार शुल्क लगाएको छ ।

शुल्कका कारण विदेशी मदिरा आयातलाई अवरोधका साथै स्वदेशी उद्योगलाई संरक्षण प्रदान गरेको छ । आयात शुल्क कम्पनीको राजस्व प्रोफाइल, नाफा मार्जिन र ऋण कभरेजमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । अन्तःशुल्कमा निरन्तर वृद्धिसँगै मदिरा नेपालमा सबैभन्दा बढी कर लगाइने वस्तु हो ।

यतिले ३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले इक्रा एनपी एल ए रेटिङ दिएको छ । 
यती डिष्टिलरीमा रवि केसीको हिस्सा ५० र बाँकी अभिषेक श्रेष्ठ परिवारको रहेको छ । उद्योगले दैनिक ९ हजार केस मदिरा उत्पादन गर्दै आएको छ । यतीका देशभर १ सय २० वटा वितरक छन् । 


 

बिहीबार १२ जेठ २०७९ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया