मङ्गलबार, कात्तिक २ २०७८ ०६:०३ AM

×

डेढ अर्ब लगानीमा विराटनगरमा खुल्यो निप्पोन फर्मास्युटिकल्स, ६ प्रकारका औषधी उत्पादन गर्दै

images

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा डेढ अर्ब रुपैयाँ लगानीमा औषधी उद्योग सञ्चालनमा आएको छ । औषधीजन्य व्यवसायमा आबद्ध कमलेस घिमिरेलगायत १३ जनाको साझेदारीमा विराटनगर १२ मा निप्पोन फर्मास्युटिकल्स प्रालि सञ्चालनमा आएको हो ।

उद्योगले व्यावसायिक रूपमा औषधि उत्पादन सुरु गरेको छ । अहिले ६ प्रकारका औषधिको उत्पादन गरिरहेको उद्योगले जनाएको छ । उद्योग सञ्चालक घिमिरेका अनुसार उद्योगले १०० प्रकारका औषधी उत्पादनका लागि औषधी व्यवस्था विभागबाट अनुमति पाइसकेको छ ।

२०० प्रकारका औषधी उत्पादन गर्न सक्ने क्षमता उद्योगको छ । थप औषधी उत्पादन अनुमतिका लागि औषधी व्यवस्था विभागलाई विवरण पनि बुझाइसकेको घिमिरेले जानकारी दिए । भर्खरै सञ्चालनमा आएको उद्योगले १ घण्टामा १ लाख ट्याबलेट उत्पादन गर्न सक्ने सञ्चालक घिमिरेले बताए ।  १० कट्ठा जमिनमा उद्योग निर्माण भएको हो । 

उद्योगले अहिले पारासिटामोल ग्रुपको ५०० एमजीको गोली, सिरप र सस्पेन्सन गरी ३ वटा प्रकार, एजिथ्रोमाइसिन ग्रुपको एन्टिबायोटिक्सको २५० र ५०० एमजी गरी २ वटा प्रकार र घाउखटिरामा प्रयोग गरिने म्युपिरोसिन मलहमको एक प्रकार गरी ३ ग्रुपका ६ वटा प्रकारका औषधी उत्पादन गरिरहेको सञ्चालक घिमिरेले जानकारी दिए । 

सञ्चालक घिमिरेका अनुसार उद्योगले तत्काल तीनवटा भवनबाट औषधीहरू उत्पादनको काम गरिरहेको छ । ‘पहिलो भवनमा एन्टिबायोटिक्स र पेन्सिलिन औषधी, दोस्रोमा ट्याबलेट, क्याप्सुल, झोल र मलहम आदिको उत्पादन भइरहेको छ । यस्तै तेस्रो भवन अनुसन्धान र विकास (रिसर्च एन्ड डेभलपमेन्ट) का लागि छुट्ट्याइएको छ । 

उद्योगले औषधि उत्पादनका लागि भारत, चीन, जापान र स्वीटजरल्यान्डबाट अत्याधुनिक मेसिन ल्याएको घिमिरेले क्यापिटल नेपाललाई जानकारी दिए ।  उद्योगको आफ्नै अत्याधुनिक रिसर्च युनिट पनि रहेको उनले बताए । उत्पादित औषधीहरू रिसर्चमा प्रमाणित भएपछि मात्र बजारमा पठाइने उनले जानकारी दिए । 

उद्योगमा १०० जनाभन्दा बढीले रोजगारी पाएका छन् । उद्योगले आफ्ना उत्पादनलाई नेपालभरि पठाउने लक्ष्य राखेको छ । नेपालमा सफल भएपछि विदेशमा पनि निर्यात गर्ने योजना रहेको सञ्चालक घिमिरेले सुनाए । 

विराटनगरमा स्थापना भएका किशोर प्रधानको विराट फर्मास्युटिकल्स, ओमकार चापागाईंको दिङ्ला फर्मा र अरुण गुप्ताको मिलन फर्मास्युटिकल्स् विभिन्न समस्याले गर्दा बन्द भइसकेका छन् ।

मनीष अग्रवालको एमटेक फर्मा र सुवर्णभक्त जोशीको एलाइभ फर्मा गरी दुई औषधि उद्योग सञ्चालनमा छन् । निप्पोन सञ्चालनमा आएपछि विराटनगरमा औषधि उद्योगको संख्या तीन पुगेको छ ।


 

बिहीबार १० भदौ २०७८ ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया