काङ्ग्रेस नेता शेखर कोइरालाले भने— श्रममन्त्रीको स्वार्थका कारण मलेसिया खुलेन, छानबिन होस्

मन्त्री विष्टले आफैंले कारबाही गरेका संस्था आफूनिकट रहेका म्यानपावर व्यवसायी रघु पुरी, सन्तोष कार्की र ऊर्जा व्यवसायमा रहेकी पूजा चन्द ठकुरीलाई दिलाउन मलेसियाको रोजगारी खुला नगरिएको वैदेशिक रोजगार व्यवसायी सङ्घले आरोप लगाएको छ । उसले १९ गतेभित्र नखोलिए कलिङ भिसाका लागि राहदानी बुझाएर प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

मलेसियासँग श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी नखुलेपछि काङ्ग्रेसले श्रममन्त्रीले आफूनिकटलाई फाइदा पुर्याउन लागिपरेको भन्दै छानबिन मागेको छ । काङ्ग्रेस केन्द्रीय सदस्य तथा नेता डा. शेखर कोइरालाले सोमबार आफ्नो फेसबुकमा लेख्दै श्रममन्त्रीको निहित स्वार्थका लागि सम्झौताविरुद्ध गएर भेन्डर चेन्ज गरी आफू निकटलाई दिन लागेकाले छानबिन हुनुपर्ने बताएका हुन् ।

कोइरालाले लेखेका छन्, ‘मलेसियासँगको श्रम सम्झौतापछि पनि नियोजित रुपमा रोजगारका लागि मलेसिया पठाउने काम अझै अगाडि नबढ्नु दुर्भाग्य हो । विभागीय मन्त्री तथा सरकारको कमजोरी पनि हो । श्रममन्त्रीले निहित स्वार्थका लागि सम्झौताविरुद्ध गएर भेन्डर चेन्ज गरी आफू निकटलाई दिन लागिपरेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा तत्काल यसको छानबिन होस् र पूर्वसहमतिअनुसार मलेसिया पठाउने प्रक्रिया तत्कालै सुरु गरियोस् ।’

यसअघि काङ्ग्रेसकै नेता रामहरि खतिवडाले पनि श्रममन्त्री विष्टले पूजा चन्दलगायत केही व्यवसायीलाई मलेसिया जाने कामदारको भिसा प्रक्रिया र मेडिकलको संयन्त्र दिन ढिला गरेको भन्दै विष्टको आलोचना गरेका थिए । श्रममन्त्री गोकर्ण विष्टले जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि ठगी गरेको भन्दै पाँच संस्थाको खारेजी घोषणा गरी कारबाहीको दायरामा ल्याएका थिए । मलेसियाको रोगारी ६ महिना बन्द भएपछि कात्तिक १२ गते मलेसियासँग श्रम समझदारी भएको थियो । समझदारीअनुसार कामदार पर्ने सम्पूर्ण आर्थिक भार मलेसियाको रोजगारदाताले तिर्ने सहमति भएको छ ।