राष्ट्र बैङ्कले मुद्दती निक्षेपमार्फत् बजारमा १० अर्ब पठाउँदै, बैङ्कसँग प्रस्ताव आह्वान

वाणिज्य बैङ्कमा ८ अर्ब १२ करोड ६९ लाख, विकास बैङ्कमा १ अर्ब ५२ करोड ३८ लाख र वित्त कम्पनीमा ५० करोड ७९ लाख रुपैयाँ दिन लागेको राष्ट्र बैङ्कले जनाएको छ ।

काठमाडौं । बैङ्कसँग लगानीयोग्य पुँजीको अभाव भएका बेला नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँ बैङ्किङ प्रणालीमा पठाउन लागेको छ ।

केन्द्रीय बैङ्कले मुद्दती निक्षेपका रुपमा बैङ्क तथा वित्तीय संस्थामा प्रतिस्पर्धाबाट सो रकम पठाउन लागेको हो । जसअनुसार वाणिज्य बैङ्कमा ८ अर्ब १२ करोड ६९ लाख, विकास बैङ्कमा १ अर्ब ५२ करोड ३८ लाख र वित्त कम्पनीमा ५० करोड ७९ लाख रुपैयाँ दिन लागेको राष्ट्र बैङ्कले जनाएको छ ।

सो रकम पुस १ गते बैङ्क तथा वित्तीय संस्थामा पठाउने र आगामी आर्थिक वर्षको मङ्सिर ३० गते परिपक्व हुने केन्द्रीय बैङ्कले जानकारी दिएकोे छ । केन्द्रीय बैङ्कले यसका लागि बैङ्क तथा वित्तीय संस्थाबाट प्रस्ताव आह्वान गरेको छ ।

बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएका, न्यूनतम पुँजीकोष कायम राखेका, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा बढी नभएका, प्राथमिक पुँजी, कर्जा र निक्षेप (सीसीडी) रेसियो कायम गरेका र रियल इस्टेट कर्जा सीमाभन्दा बढी नभएका बैङ्क तथा वित्तीय संस्था सो रकम लिनका लागि योग्य हुने राष्ट्र बैङ्कले स्पष्ट पारेको छ ।

वाणिज्य बैङ्कहरुले लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) अभाव भएपछि धमाधम मुद्दती निक्षेपको ब्याजदर बढाइरहेका बेला केन्द्रीय बैङ्कले प्रतिस्पर्धाबाट रकम वितरण गर्न लागेको हो । मुद्दती निक्षेपमा ब्याजदर बढेर १३ प्रतिशतसम्म पुगेको छ ।