×

फुयाँल दाजुभाइको भेन्चर, आफैंले रोजेर गाडी लिन सकिने ‘सजिलो रेन्टल’

images

काठमाडौं । हेटौंडाका अर्जुन फुयाँल पेसाले आईटी इन्जिनियर हुन् । विश्वविख्यात अमेरिकी कम्पनी ‘फच्र्युन फाइभ हन्ड्रेड’ मा कार्यरत अर्जुन सन् २०१२ देखि आफ्नो कर्मभूमि अमेरिकामा छन् । 

एक दशक लामो अमेरिकी बसाइँका क्रममा आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले एक महिनाअघि अर्जुनले आफ्ना भाइ प्रज्ज्वल फुयाँलसँग मिलेर ‘सजिलो रेन्टल’ नामको नयाँ भेन्चर स्थापना गरेका छन् । 

नेपालमा सजिलो रेन्टलको एप सार्वजनिक भएको १ महिना भयो । साथीभाइसँगको सरसापटी र आफूले कमाएको पैसाबाट लगानी गरेर नेपालमा स्थापना गरेको नयाँ भेन्चरबाट मोबिलिटीको परम्परागत शैलीलाई चुनौती दिन अहिले फुयाँल दाजुभाइ कस्सिएका छन् । 

सजिलो रेन्टलका संस्थापक अर्जुनको मस्तिष्कमा यो भेन्चर स्थापना गर्ने आइडिया फुरेको लामै समय भयो । ५ वर्षअघि अर्जुन नेपाल आउँदा विमानस्थलमा ओर्लिएपछि एकदमै अलमलमा परे । 

सार्वजनिक सवारी साधनको समस्या त छँदै थियो, महँगो पैसा तिरेर गाडी भाडामा लिन्छु भन्दा पनि कहाँ, कसरी, कुन गाडी कस्तो चालकबाट लिने भन्ने कुनै भेउ उनले पाउन सकेनन् । ट्याक्सी स्ट्यान्डमा आइपुग्दा ब्याक र प्यासेन्जर लुछाचुँडी गर्ने चालकहरुको हर्कत देखेर उनी वाक्कै भए । 
अमेरिकाको व्यवस्थित यातायात शैलीसँग अभ्यस्त अर्जुनले यहाँ कहिल्यै पनि यातायातमा सहजता अनुभव गर्न सकेनन् । 

केही समयपछि उनी अमेरिका फर्किए । प्राविधिक पृष्ठभूमिका अर्जुन स्वभावैले सधैं मान्छेको जिन्दगीलाई प्रविधिबाट कसरी सजिलो बनाउन सकिन्छ भनेर घोत्लिरहेका हुन्छन् । नेपालको यातायातमा सकसपूर्ण अनुभवलाई पनि समाधान गर्नुपर्छ भन्ने उनलाई लाग्यो ।

नेपालमा सजिलो रेन्टलको एप सार्वजनिक भएको १ महिना भयो । साथीभाइसँगको सरसापटी र आफूले कमाएको पैसाबाट लगानी गरेर नेपालमा स्थापना गरेको नयाँ भेन्चरबाट मोबिलिटीको परम्परागत शैलीलाई चुनौती दिन अहिले फुयाँल दाजुभाइ कस्सिएका छन् । 

यो क्षेत्रमा क–कसले कसरी काम गरिरहेका छन् भनेर बुझ्दा उनले राइड सेयरिङ सोल्युसनबाहेक आफूले अनुभव गरेका ठाउँमा खासै कसैको ध्यान नगएको पाए । 

प्रविधिको माध्यमबाट ‘कार रेन्टल’ सेवालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा उनी केन्द्रित थिए । यसका लागि युरोप तथा अमेरिकाको कार रेन्टल सर्भिस कुन मोडलमा चलिरहेको छ भन्ने कुराको समेत अध्ययन गर्न थाले । लामो समयको अध्ययन, अवलोकन तथा विमर्शपछि उनको मस्तिष्कमा ‘सजिलो रेन्टल’ को अवधारणा जन्मियो । 

एक महिनाअघि मात्र सजिलो रेन्टल नेपालमा सार्वजनिक भएको छ । एक वर्षदेखि परियोजना सुरु गरे पनि प्रविधि तथा अन्य पाटोलाई व्यवस्थित गर्दै लैजाने क्रममा अहिले आएर एप सार्वजनिक गरेको संस्थापक अर्जुन बताउँछन् । 

वास्तवमा सजिलो रेन्टल कार भाडामा लिने एउटा अनलाइन प्लेटफर्म हो । जहाँ कुनै पनि व्यक्तिले आफूलाई मन परेको गन्तव्यमा आफैंले रोजेर गाडी बुक गर्न सक्छन् भने गाडी भएको व्यक्ति वा संस्थाले पनि गाडी भाडामा लगाउन सिस्टममा आफ्नो गाडीलाई ‘अनबोर्ड’ गर्न सक्छन् । 

एप सार्वजनिक भएको एक महिनामै यसलाई एक सयभन्दा धेरैले डाउनलोड तथा इन्स्टल गरिसकेका छन् । 

‘नेपालमा कुनै व्यक्तिलाई आफ्नो परिवार तथा इस्टमित्रहरुसँग कतै घुम्न जान पर्यो र गाडी रिजर्भ गर्नुपर्र्यो भने अल्लमल्ल पर्छन् । कता जाने, कसलाई भन्ने दुविधा हुन्छ’, अर्जुन भन्छन्, ‘यस्तो अवस्थाका लागि हामीले सजिलो रेन्टल प्लेटफर्म विकास गरेका हौं । यसबाट कम्तीमा मान्छेहरुले ‘लगइन’ गरेर आफूलाई चाहिने उपयुक्त गाडी आफैंले भाडामा लिन सक्छन् ।’ 

हेर्दा पठाओ वा टुटलजस्तो लागे पनि सजिलो रेन्टलको सेवा र व्यवसायको मोडल एकदमै फरक रहेको उनी बताउँछन् । सजिलो रेन्टलमार्फत ४ घण्टाभन्दा कम समयका लागि गाडी बुक गर्न पाइन्न । ४ घण्टाभन्दा बढी, एक दिन वा महिनाभरि काठमाडौं उपत्यका वा नेपालभरि घुम्न जाँदा सजिलो रेन्टल एपबाट गाडी बुक गर्न सकिन्छ । 

यसरी लामो समयका लागि गाडी भाडामा लिँदा सुरक्षाका कुराहरु पनि अति नै महत्वपूर्ण हुन्छन् । यस्तो बेला आफूले बुक गरेको गाडीको चालक कत्तिको सुरक्षित छ, सवारी चलाउने क्षमता, लाइसेन्स, दुघर्टनाको इतिहास या कतै कुनै ठाउँमा लगेर बिचल्ली पो बनाउने हो कि ? यस्ता विविध प्रश्नहरु मनमा उठ्छन् । जुन स्वाभाविक पनि हो । यस्ता कुरामा सुनिश्चित नभइकन कुनै पनि व्यक्ति आफ्नो परिवारलाई लिएर ढुक्कसाथ बाहिर जान सक्दैन । 

यात्रुहरुको सुरक्षा सरोकारलाई पनि सजिलो रेन्टलले राम्रोसँग सम्बोधन गरेको छ । वास्तवमा कुनै पनि सवारी चालकले सजिलो रेन्टलमा आफ्नो सेवा वा गाडी ‘अनबोर्ड’ गर्नुअघि सजिलो रेन्टलका कर्मचारीहरुले चालकको सम्पूर्ण कागजात, ट्राफिक हिस्ट्री, लाइसेन्सलाई प्रमाणीकरण गरेर मात्र अनुमोदन गर्दछन् ।

साथै कुनै यात्रुले सजिलो रेन्टलबाट गाडी बुक गरेर यात्रा गरेपछि यात्राको अनुभव, सुविधा र सहजताका बारेमा आफ्नो धारणा लेखेर, चालकलाई रेटिङ दिने साथै अन्य यात्रुका लागि सिफारिससमेत गर्न सक्ने सुविधा छ । 

हेर्दा पठाओ वा टुटलजस्तो लागे पनि सजिलो रेन्टलको सेवा र व्यवसायको मोडल एकदमै फरक रहेको उनी बताउँछन् । सजिलो रेन्टलमार्फत ४ घण्टाभन्दा कम समयका लागि गाडी बुक गर्न पाइन्न । ४ घण्टाभन्दा बढी, एक दिन वा महिनाभरि काठमाडौं उपत्यका वा नेपालभरि घुम्न जाँदा सजिलो रेन्टल एपबाट गाडी बुक गर्न सकिन्छ । 

सजिलो रेन्टलमा भएको यो फिचरले यात्रुलाई पनि सेवा तथा यात्राप्रति विश्वस्त बनाउने र चालकलाई थप जिम्मेवार बनाउने अर्जुन बताउँछन् । 
‘हाम्रो प्राथमिकता भनेको यात्रुको सहजता र सुरक्षा हो । यसका लागि हामीले चालकको हकमा विभिन्न मापदण्डहरु तोकेका छौं । त्यो पूरा नगर्नेहरुलाई प्लेटफर्ममा ‘अनबोर्ड’ गर्दैनौं ।

हाम्रो प्लेटफर्ममा गाडी आउनुअघि चालकको लाइसेन्स, गाडीको बिमालगायतका सम्पूर्ण कागजातहरु चालकले अपलोड गर्नुपर्छ । ती सम्पूर्ण कुराहरु हाम्रा कर्मचारीहरुले भेरिफाई गर्छन् । हाम्रो क्राइटेरिया पूरा गरेको गाडी मात्र सेवाका लागि देखापर्छ’ उनी भन्छन् । 

यसैगरी सवारी चालकको हकमा पनि सजिलो रेन्टलले ठूलो फाइदा पुर्याउने उनको विश्वास छ । गाडीलाई प्लेटफर्ममा राखेपछि चोकचोकमा बसेर यात्रु तान्नुपर्ने बाध्यताबाट चालकहरुले पनि मुक्ति पाउने उनी बताउँछन् । 

परम्परागत रेन्टल सेवामा गाडी चालकहरुले मनपरी भाडा तय गर्ने परम्परा छ । यसमा पनि आफूहरुले केही परिवर्तन ल्याउन चाहेको उनी बताउँछन् । हाल गाडी भाडामा सजिलो रेन्टलले कुनै हस्तक्षेप गरेको छैन ।

चालकहरुले आफूलाई सही लागेको भाडा प्लेटफर्ममा आफैं निर्धारण गर्छन् । र, ग्राहकले आफूलाई मन परेको ठाउँमा जान उपयुक्त भाडा लिने गाडी चयन गर्न सक्छन् । 

तर, गाडी भाडालाई विभिन्न तत्वहरुले असर गर्छ । यस्ता विभिन्न तत्वहरुको ‘इनपुट’ राखेर गाडीको भाडा वैज्ञानिक तरिकाबाट तय गर्ने ‘एल्गोरिदम’ अहिले आफ्नो टिमले विकास गरिरहेको समेत उनले क्यापिटल नेपाललाई जानकारी दिए । यस्तो हुन सकेको खण्डमा गाडी भाडामा चालक र यात्रु दुवै नठगिने उनको तर्क छ । 

सजिलो रेन्टलले सेवा दिन थालेको एक महिना भयो । धेरैजना यात्रुहरुबाट एकदमै सकारात्मक प्रक्रिया आइरहेको उनले सुनाए । तर, सेवा नयाँ भएका कारण अहिले सजिलो रेन्टलसँग गाडीको पर्याप्त ‘इन्भेन्ट्री’ छैन । पर्याप्त ट्राभल एजेन्सी तथा स्वतन्त्र गाडी चालकहरु सजिलो रेन्टलमा जोडिइसकेका छैनन् । यसैले पोखरा तथा धनगढीमा पनि आफ्नो ‘इन्भेन्ट्री’ जोड्दै जाने र केही समयभित्र देशका सातै प्रदेशमा गाडीहरुलाई प्लेटफर्ममा ल्याएर सेवा विस्तार गर्ने उनको योजना छ । 

यस योजनालाई अघि बढाउन अहिले अर्जुन र प्रज्ज्वल लगायत ८ जना कर्मचारी सजिलो रेन्टलमा खटिएका छन् । उनीहरुले डेटा संकलन गर्ने, ट्राभल एजेन्सीहरुसँग सम्पर्क गर्ने, उनीहरुको गाडीको ‘इन्भेन्ट्री’ को संख्या तथा अवस्था बुझ्ने, उनीहरुले जान चाहेको मोडलका बारेमा परामर्श तथा छलफल गर्ने काम भइरहेको उनले सुनाए । सजिलो रेन्टलमा फिचर तथा मोडललाई अझ विविधीकरण गर्दै लैजाने टिमको योजना छ ।

गाडीलाई सम्पत्ति र दायित्व दुवैको रुपमा हेर्ने चलन छ । तर, अर्जुनलाई गाडी जति नयाँ भए पनि दैनिक मूल्य अवमूल्यन भइरहने उपभोग्य वस्तुजस्तो लाग्छ । यसैले गाडीलाई महिनाको ८/१० दिन यत्तिकै घरमा थन्काएर राख्नुको सट्टा उत्पादनशील क्षेत्रसँग जोड्ने अवसर मानिसहरुलाई प्रदान गर्ने उनको धोको छ । यसलाई कम्पनीको एउटा मोडलको रुपमा समेत विकास गर्दै लग्ने सोचमा छन् उनी । 

‘गाडी प्रयोग नै नगरेर सधैं नयाँ भए पनि मूल्य अवमूल्यन भइरहेको हुन्छ । तपाईं घरमा बस्दा वा सप्ताहन्तमा मात्र पनि गाडी खाली हुन्छ, अरु दिन हुँदैन भने पनि गाडी हाम्रो प्लेटफर्ममा हालिदिनुहोस् । कसैले गाडी बुक गरेपछि गाडीवालालाई नोटिफिकेसन आउँछ ।

त्यस्तो बेला गाडी मालिकलाई यात्रुको सम्पूर्ण विवरण मोबाइलमै आउँछ र सोअनुसार आफूलाई मन परेको खण्डमा उनीहरुले अप्रुभ पनि गर्न सक्छन्’, उनी सुनाउँछन्, ‘गाडी महिनाको ७/८ दिन घरमै थन्किन्छ यस्तो बेला गाडीलाई उत्पादकत्वसँग जोड्न मन छ भने हाम्रो प्लेटफर्मले त्यो अवसर प्रदान गर्छ ।

घरमै बसीबसी केही डक्युमेन्ट अपलोड गरेर मेरो गाडी फलानो दिन उपलब्ध छ भनेर खुलाइदियो भने त बाहिर गएर ग्राहकसँग मेरो गाडी लिनुस् भनेर भनिरहनै पर्दैन । गाडी अवमूल्यन हुने वस्तु भएकाले घरमा थन्काइरहनुभन्दा उत्पादनशील क्षेत्रसँग जोड्दा किस्ता तिर्न पनि सहज हुन्छ ।’

यसैगरी गाडी चलाउने क्षमता तथा सीप भएका तर गाडी नभएका व्यक्तिलाई पनि गाडी चलाएर केही आर्जन गर्ने इच्छा छ भने त्यो सुविधा पनि दिन ६ महिनादेखि एक वर्षभित्र नयाँ मोडल विकास गर्ने तरखरमा रहेको टिमले सुनायो । 

गाडीलाई सम्पत्ति र दायित्व दुवैको रुपमा हेर्ने चलन छ । तर, अर्जुनलाई गाडी जति नयाँ भए पनि दैनिक मूल्य अवमूल्यन भइरहने उपभोग्य वस्तुजस्तो लाग्छ । यसैले गाडीलाई महिनाको ८/१० दिन यत्तिकै घरमा थन्काएर राख्नुको सट्टा उत्पादनशील क्षेत्रसँग जोड्ने अवसर मानिसहरुलाई प्रदान गर्ने उनको धोको छ । यसलाई कम्पनीको एउटा मोडलको रुपमा समेत विकास गर्दै लग्ने सोचमा छन् उनी । 

गाडीजस्तो कुरा जो कसैसँग लाइसेन्स छ भन्दैमा कसैले सुम्पिँदैन । यस्तो विश्वासको वातावरण कहीँ पनि हुँदैन । तर, सीप र गाडी कुदाउन इच्छा भएका चालकलाई यो सुविधा पनि उपलब्ध गराउन अर्को मोडल विकास गर्ने टिमको योजना छ । 

‘अहिलेको हाम्रो मोडल भनेको गाडीसँगै चालक दिने मोडल हो । तर, अबको ६ देखि १ वर्षभित्रमा अर्को मोडल विकास गर्दैछौं । जसमा हामीले लाइसेन्स दिन नमिले पनि स्वतन्त्र ड्राइभर छन् जोसँग कुदाउने सीप छ भने उनीहरुलाई पनि हामी प्लेटफर्म प्रदान गर्छौं । देश–विदेशमा गाडी चलाएका हुन सक्छन् । त्यो सबै ‘हिस्ट्री कलेक्ट’ गरेर उहाँहरुलाई स्वतन्त्र ड्राइभरको रुपमा प्रवेश गराउने हाम्रो अर्को योजना हो’ उनले भने । 

संस्थालाई चलाउन आम्दानीका लागि भने सजिलो रेन्टलले कमिसन मोडल निर्माण गरेको छ । टिकट काउन्टरहरुले गाडीवालाबाट २० देखि ३० प्रतिशत कमिसन लिइरहेको अवस्थामा सजिलो रेन्टल एपबाट १० प्रतिशत मात्र कमिसन लिने उनले बताए । 

सेवा तथा मोडल विस्तार गर्दै लैजाँदा अहिले जसरी आफ्नै मात्र लगानीले नपुग्न सक्छ । यसैले स्टार्टअपहरुमा लगानी गर्न इच्छुक संस्था, स्थानीय बैंक, सहकारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने योजना उनीहरुको छ । 

सुरक्षा सुनिश्चितताका लागि अहिले भइरहेको राइडर बिमाबाहेक अतिरिक्त बिमाका लागि इच्छुक कम्पनीहरुलाई सिस्टममा समावेश गराउँदै लग्ने सोच रहेको अर्जुन सुनाउँछन् ।

अमेरिकामा बसेर सजिलो रेन्टलका सम्पूर्ण प्राविधिक पक्षलाई अहिले उनी आफैंले सम्हाल्छन् । भौतिक दूरीका कारण अहिले सजिलो रेन्टलको सञ्चालन, व्यवस्थापन तथा बजारीकरणको जिम्मा भने उनका भाइ प्रज्ज्वल फुयाँलले सीईओको रुपमा लिइरहेका छन् । 

बिहीबार १३ माघ २०७८ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया