×

पाल्पाका १० स्थानीय तहले गरे ६ अर्ब बढीको बजेट सार्वजनिक

images

रामपुर । पाल्पाका स्थानीय तहले आगामी वर्षका लागि ६ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । 

हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले ६ अर्ब ४५ करोड १३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको दुई नगरपालिका र ८ गाउँपालिकामध्ये आगामी आर्थिक वर्ष २०७९/८० का लागि सबैभन्दा धेरै तानसेन नगरपालिकाले १ अर्ब ३९ करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

तानसेन नगरले चालू खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय ४२ रुपैयाँ र पुँजीगततर्फ  ६३ करोड २५ लाख १७ हजार ११२ रुपैयाँ विनियोजन गरेको छ । 

रामपुर नगरपालिकाले  ७२ करोड ४७ लाख ९५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । बजेटमा वडागत बजेट ५  करोड २० लाख रुपैयाँ, सशर्त कार्यक्रम  ३५ करोड ४४ लाख रुपैयाँ, क्षेत्रगत कार्यक्रममा  ३१ करोड ८३ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकातर्फ बगनासकालीले  ५० करोड १८ लाख २३ हजार रुपैयाँ, माथागढीले  ५७ करोड ७४ लाख ९४ हजार रुपैयाँ, निस्दीले ६४ करोड ९८ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ । 

पूर्वखोलाले  ४८ करोड १७ लाख ७४ हजार रुपैयाँ, रम्भा गाउँपालिकाले  ५० करोड २९ लाख ८३ हजार रुपैयाँ, तिनाउले  ४८ करोड २० लाख ९१ हजार रुपैयाँ रैनादेवी छहराले  ६३ करोड ६९ लाख २५ हजार रुपैयाँ, रिब्दीकोटले  ५१ करोड २४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
       
नीति तथा कार्यक्रममा आगामी वर्षका लागि कृषि, पशुपालन, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार निर्माण, महिला सशक्तीकरणलगायतका विषयलाई पालिकाले प्राथमिकतामा राखेका छन् । सामाजिक सुरक्षा भत्ता, महिला, दलित र विपन्न वर्गका लागि विशेष जोड दिएका छन् । पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थप भएका छन् ।  

सोमबार १३ असार २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया