×

धितोपत्र बजारमा बुक बिल्डिङ विधिको उपादेयता

images

टाइम फ्लाइस लाइक एरो भनेझैं धितोपत्र बजारमा मर्चेन्ट बैंकर भएर कार्य गरेको करिव २ वर्ष पुग्न लागेछ । धितोपत्र बजारसँग सामान्य लगानीबाहेक अन्य अनुभव नरहेकामा प्राविधिक विश्लेषणका अनगिन्ती प्याटर्न, फर्मेसन तथा प्राइस भोल्युम, आएसआई, एमएसीडी, अल्फा, बेटा, टे«नर रेसियोजस्ता वित्तीय शब्दावलीको भुलभुलैया सिंगापुरको सेन्तोषा टापुको थिम पार्कभन्दा कम रोचक रहेन । 

मर्चेन्ट बैंकिङको ‘कट थ्रोट’ प्रतिस्पर्धाले यात्रामा ‘गेम प्ले’ समेत गरायो । कुनै एक कम्पनीको निष्कासन प्रबन्धकको काम पाउनु कुनै स्लट मेसिनमा ज्याकपट जित्नुभन्दा कम रहेन । यसै सन्दर्भमा सह बिक्री प्रबन्धकको रुपमा नेपालमा पहिले पटक बुक बिल्डिङ विधिद्वारा सेयर जारी हुन लागेको सर्वोत्तम सिमेन्टसँग जोडिने मौका भयो ।

के हो बुक बिल्डिङ विधि ?

‘बुक बिल्डिङ’ सर्वसाधारणलाई सेयर (धितोपत्र) उपलब्ध गराउने वैकल्पिक विधि हो । खासगरी अंकित मूूल्यभन्दा बढी रकममा सेयर बिक्री गर्नुपर्दा बजारले नै मूूल्य निर्धारणका लागि प्रयोग गरिने यथार्थपरक र भरपर्दो विकल्प हो । बुक बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने मान्यता राखिने भएकाले अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रयोग हुने गरेको हो । नेपालमा पनि बुक बिल्डिङले चर्चा पाउन थालेकामा हालसालै केही कम्पनीहरु यसको प्रयोग गर्ने प्रकियामा रहेका छन् ।

धितोपत्र बजारको क्षेत्रमा बुक बिल्डिङको माध्यमबाट धितोपत्र निष्कासन गर्न पाउने गरी नियामक नेपाल धितोपत्र बोर्डले २०७७ मा पारित बुक बिल्डिङ निर्देशिका २०७७ जारी गरेपछि नयाँ आयाम थपेको मान्न सकिन्छ । 

हालसम्मको निष्कासन विधि तथा तिनको बेफाइदा

वास्तवमा प्राथमिक बजारमा सामान्यतया ३ प्रकार (निश्चित मूल्य, बोलकबोल र बुक बिल्डिङ विधि) ले धितोपत्रको निष्कासन गर्ने गरिएको पाइन्छ ।  

नेपालमा अहिलेसम्म सामान्यतया निश्चित मूूल्य (फिक्स्ड प्राइस) को माध्यमबाट पुँजी संकलनको काम भइरहेको छ । यसअन्तर्गत अंकित मूल्य वा प्रिमियम (किताबी मूल्यका आधारमा अंकित मूूल्यमाथि थप प्रिमियम राखेर) मा सेयर बिक्री गरी पुँजी उठाउने गरिन्छ । अर्थात् फिक्स्ड प्राइस विधिमा कुनै एउटा मूल्य तोकिन्छ र त्यही मूल्यमा बजारमा सेयर बिक्री गरिन्छ । 

बुक–बिल्डिङमा पहिलो कार्य धितोपत्रको मूल्यांकन गर्नु हो । बिक्री प्रबन्धकले वास्तविक र प्रक्षेपित वित्तीय तथ्यांक र सूचना संकलन गरेर एक वा बढी मूल्यांकन विधिको प्रयोग गरी निष्कासन गरिने धितोपत्रको वित्तीय मूल्यांकन गर्छ । कम्पनीको वित्तीय अवस्था, सम्पत्तिको गुण, वासलात, आम्दानी–खर्चको अनुमान, नगद प्रवाह र प्रक्षेपणका तथ्यांकले मूल्यांकन रकम निर्धारण गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा चलनचल्तीमा रहेको बोलकबोल (अक्सन) विधिमा बोलकबोल वा बोलीद्वारा सम्बन्धित कम्पनीको सेयर बिक्री गरी कम्पनीको पुँजी उठाइन्छ । अक्सनमा पनि डच अक्सन विधिमा निश्चित मूूल्य नतोकी माथिल्लो मूल्य हुँदै न्यून मूल्यतिर झरेर पुँजी उठाउने काम हुन्छ भने इंग्लिस अक्सनमा न्यूनतम निश्चित मूल्य तोकिन्छ र न्यूनतम मूल्यभन्दा माथि बोलकबोल गराई अधिकतमलाई सेयर हिस्सा बिक्री गरिन्छ ।

फिक्स्ड तथा अक्सन विधिमा दुवैमा अकुशल मूल्य निर्धारण (इनइफिसियन्ट प्राइसिङ) तथा जित्ने श्राप (विनर्स कर्स) जस्ता बेफाइदा रहन्छन् । अकुशल मूल्य निर्धारण भन्नाले कुनै स्क्रिप्टको वास्तविक बजार मूल्यभन्दा कम मूल्य तोकिनु हो । फिक्स्ड वा अक्सन दुवै विधिमा विनर्स कर्सका कारण स्क्रिप्टको वास्तविक मूल्यभन्दा बढी तिर्नुपर्ने स्थिति पैदा हुन्छ । अक्सनमा प्रतिस्पर्धा हुँदा भावनात्मक बहावले पनि भूमिका खेल्ने सम्भावना रहन्छ ।

उदाहरणका रुपमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछिको स्थितिबाट कसरी अकुशल मूल्य निर्धारण हुँदो रहेछ भन्ने विश्लेषण गर्न सकिन्छ ।

जीवन विकास लघुवित्तको प्राथमिक बजार मूल्य तथा कारोबार कित्ता 
 
मूल्य तथा कारोबार एकाइको चार्ट हेर्दा ९१४ रूपैयाँबाट ‘ट्रेडिङ’ सुरू भएको जीवन विकासको कारोबार २० दिनको कारोबार तथा १७ दिनको सकारात्मक सर्किटपश्चात् मात्र ठूलो भोल्युममा कारोबार हुन पुगेको देखिन्छ । 

प्रथम कारोबार मूल्य र बजारमा सहज रुपमा कारोबार भएको मूल्यको फरक करिब ४ हजारको देखिन्छ, जुन प्रथम कारोबार मूल्यभन्दा करिब ४५५ प्रतिशत अधिक हो । उच्च मूल्य नपुग्दासम्म प्रतिदिन २०० कित्ताहाराहारी मात्रै कारोबार देखिन्छ र लगभग हरेक दिन सकारात्मक सर्किटमा कारोबार भएको छ । यसले कम्पनीको वास्तविक मूल्य निर्धारण नभएको देखिन्छ, जसको असर कम्पनीलाई प्राप्त हुन सक्ने प्रिमियम करिब सवा ८ अर्ब रूपैयाँ (१९.७७ लाख कित्ताको) प्राप्त हुन सकेको देखिन्न । यसकारणले नै हालसम्म वास्तविक क्षेत्र बजारमा पुँजीकरण भएको देखिँदैन । 

करिब ७० प्रतिशत सूचीकृत कम्पनी वित्तीय क्षेत्र (बैंक विकास बैंक, वित्तीय संस्था, विमा) रहेको छ भने उत्पादन तथा प्रशोधन लगायत वास्तविक क्षेत्र एकदम न्यून देखिन्छ । 

विकल्प बुक बिल्डिङ विधि तथा यसको प्रकिया

यसको समाधानको विकल्प बुक बिल्डिङ विधि नै हो । त्यसका लागि निर्देशिकासमेत आइसकेको छ । ‘बुक बिल्डिङ’ विधिमा बिक्री प्रबन्धक (यसलाई अन्तर्राष्ट्रिय बजारमा बुक रनर पनि भनिन्छ) को भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले मर्चेन्ट बैंकलाई बिक्री प्रबन्धक नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरू हुन्छ । बुक–बिल्डिङ विधिको सफलता बिक्री प्रबन्धकको भूमिका र दक्षतामा पनि भर पर्छ ।

स्वतन्त्र तर धितोपत्र बोर्डबाट स्वीकृति प्राप्तयोग्य लगानीकर्ताले अधिकतम रुपमा सम्पूर्ण मूल्यांकनको चिरफार र छानबिन गरी आशय मूल्य कायम गरेको, सो आधारमा विवरणपत्र धितोपत्र बोर्डले स्वीकृत गरी बोलकबोल विधिद्वारा बिक्री गरिएको, बिक्री प्रबन्धक स्वयं पनि आफैं सेयरको प्रत्याभूतिकर्तासमेत हुनुपर्ने अनिवार्य व्यवस्था भएको (जसले गर्दा जथाभावी मूल्यांकन नहुने), वास्तविक क्षेत्रका कम्पनीहरु जसले वर्षाैं लगाएर कम्पनीको हालसम्मको अवस्थामा पुर्याएका छन् ।

बुक–बिल्डिङमा पहिलो कार्य धितोपत्रको मूल्यांकन गर्नु हो । बिक्री प्रबन्धकले वास्तविक र प्रक्षेपित वित्तीय तथ्यांक र सूचना संकलन गरेर एक वा बढी मूल्यांकन विधिको प्रयोग गरी निष्कासन गरिने धितोपत्रको वित्तीय मूल्यांकन गर्छ । कम्पनीको वित्तीय अवस्था, सम्पत्तिको गुण, वासलात, आम्दानी–खर्चको अनुमान, नगद प्रवाह र प्रक्षेपणका तथ्यांकले मूल्यांकन रकम निर्धारण गर्छ । यसमा हाल सूचीकृत कम्पनीहरुमध्ये समान व्यापार गर्ने क्षेत्र तथा कम्पनी वा पूँजी वा अन्य मापनको आधारमा पियर कम्पनीसमेत पहिचान गरी तिनको प्राइस अर्निङ (पीई) प्राइस टु बुक भ्याल्यू (पीबिभि) इत्यादि तथ्यांकको आधारमा समेत मूल्यांकन गर्न सकिन्छ ।

निष्कासन कम्पनीले सो मूल्यमा आफ्नो प्रिमियम वा डिस्काउन्ट प्रदान गरी अनुमानित मूल्यको निर्धारण गरी धितोपत्र बोर्डमा सूचीकृतयोग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य माग गर्दछ । सोअगावै बिक्री प्रबन्धकले छलफल कार्यक्रम (रोड सो) को आयोजना गर्दछ ।

यस विधिको सुन्दर पक्ष भनेको नै स्वतन्त्र तथा सक्षमयोग्य संस्थागत लगानीकर्ताले आफ्नो स्वयं विधिद्वारा मूल्यांकन गर्ने, बिक्री प्रबन्धक तथा धितोपत्र जारी गर्ने संस्थाले प्रदान गरेको मूल्यांकन, योजना तथा वित्तीय विवरण उपर खुला प्रश्न तथा छलफल गर्ने एवं आफ्नो प्रतिफलको आशयअनुरुप आशय मूल्य तोकी पेस गर्न सकिने अवस्था हो । यो सुविधा हालको विधिहरुमा रहेको छैन । हालसम्म लगानीकर्ताले विवरणपत्रमा उल्लेख भएको विवरणको आधारमा लगानी गर्ने वा नगर्ने निर्णय लिनुपर्ने अवस्था रहेको छ ।

यसरी प्राप्त भएको आशयको आधारमा मूल्य सीमा निर्धारण गरी बोलकबोल माग गरिन्छ । यसमा हालको निर्देशिकाबमोजिम यस प्रक्रियाको पारदर्शीतालाई कायम राख्न धितोपत्र बजार (नेप्से) मा बोलकबोल संकलन गर्ने प्रावधान रहेको छ । यस बोलकबोलको माध्यमबाट कट अफ मूल्यमा सर्वसाधारणलाई जारी भएको धितोपत्रमध्ये चालीस प्रतिशत सेयर बाँडफाँट भएपश्चात् सो मा १० प्रतिशत कम गरी ६० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरिन्छ । 

अन्त्यमा

स्वतन्त्र तर धितोपत्र बोर्डबाट स्वीकृति प्राप्तयोग्य लगानीकर्ताले अधिकतम रुपमा सम्पूर्ण मूल्यांकनको चिरफार र छानबिन गरी आशय मूल्य कायम गरेको, सो आधारमा विवरणपत्र धितोपत्र बोर्डले स्वीकृत गरी बोलकबोल विधिद्वारा बिक्री गरिएको, बिक्री प्रबन्धक स्वयं पनि आफैं सेयरको प्रत्याभूतिकर्तासमेत हुनुपर्ने अनिवार्य व्यवस्था भएको (जसले गर्दा जथाभावी मूल्यांकन नहुने), वास्तविक क्षेत्रका कम्पनीहरु जसले वर्षाैं लगाएर कम्पनीको हालसम्मको अवस्थामा पुर्याएका छन् । तिनको मालिक वा बजारका मान्छेले होइन, बरु कम्पनी स्वयंले सोको यथोचित प्रिमियम प्राप्त गर्नेलगायतको कारणले यस विधिलाई प्रोत्साहन गर्न आवश्यक छ ।

बुुक बिल्डिङ विधि कार्यान्वयन गर्ने गरी सर्वोत्तम सिमेन्टले नेतृत्व लिएकामा नेपाल धितोपत्र बोर्ड तथा नेप्से दुवैमा नयाँ नेतृत्व आएसँगै सकारात्मक रुपमा अघि बढेको छ । सबै सरोकार पक्ष (नियामक, लगानीकर्ता, धितोपत्र व्यवसायी, योग्य संस्थागत लगानीकर्ता, सञ्चारमाध्यम) ले सकारात्मक रुपमा सहजीकरण गरेको खण्डमा ठूला परियोजनाहरुको स्रोत जुटाउने, हाल भएका वास्तविक क्षेत्रका कम्पनीलाई समेत बजारमा सहभागी गराई संरचनागत सन्तुलन मिलाउने, नवीनतम सोचका नयाँ–नयाँ कम्पनीहरु बजार प्रवेश गराउने स्थिति आउन सक्छ ।

-क्यापिटल बिजनेस म्यागजिनबाट । 
 

सोमबार १३ असार २०७९ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया