विराटनगर । केही गर्नका लागि पैसा छैन के गर्नु भन्ने गुनासाहरु धेरै सुनिन्छन् । व्यवसाय गर्नका लागि पैसा चाहियो वा लगानी गर्दिने मानिस । थोरै पैसाले के गर्न सकिन्छ ? भन्नेहरु पनि छन् । तर, थोरै लगानी गरेर पनि धेरै आम्दानी गर्ने व्यक्तिहरु पनि छन् ।
तीमध्येकी एक हुन विराटनगरकी सरस्वती दाहाल ओझा । आफ्नो हातमा भएको सीपलाई धेरै महिलाहरुले व्यवहारमा उतार्न सकेका छैनन् । आफू घरायसी काममा सीमित भएर आर्थिक रुपमा पुरुषकै भर पर्ने महिलाहरुको संख्या अझै पनि ठूलो छ । जसले गर्दा विभिन्न खाले घरायसी हिंसा महिलाहरुले भोक्दै आएका छन् । आफूहरुमा भएको सीपलाई चिनेर त्यसलाई व्यवहारमा उतार्न सके महिलाहरु आर्थिक रूपले पनि सक्षम हुनेछन् ।
उनले आफ्नो सीपलाई प्रयोग गरेर १ लाख लगानीमा दुई वर्ष पहिले खाजा घर सञ्चालनमा ल्याइन् । विराटनगरको सात घुम्तीमा रहेको खाजा घरको नाम राखिन लाफिङ खाजा घर ।
दुई वर्ष अगाडि ग्राहकले मन पराउँछन् कि पराउँदैनन् भनेर मनमा डर मानेर सुरु गरेको व्यवसायले अहिले सार्थकता पाएको छ । १ लाख लगानीमा सुरु भएको व्यवसायमा अहिले ५ लाख लगानी पुगिसकेको छ । दैनिक १० हजारको कारोबार हुन्छ ।
विराटनगर बजार एरियामा रहेको खाजा घरमा सेलरोटी खान आउनेको लर्को हुन्छ । धनपालथानका प्रमोद मण्डल जहिले बजारमा काम गर्न आउँछन् । अनि उनको दैनिक खाजा सेलरोटी नै हुन्छ ।
‘यहाँको सेलरोटी अग्र्यानिक हुन्छ, एकदमै मिठो हुन्छ,’ उनले भने त्यही भएर हाम्रो घरायसी खाजा त्यसमा स्वास्थ्यको हिसाबले नि चाउमिन मःम भन्दा सेलरोटी नै राम्रो हुन्छ ।’ ‘अरू ठाउँमा नी पकाउँछन् तर यहाँको जति मिठो हुँदैन’ उनले भने ।
विराटनगरकी विमला अर्यालको खाजा खाने ठाउँ लाफिङ खाजा घर नै हो । उनले सेलरोटी खानकै लागि आउँछिन । घिउ र थोरै चिनी राखेर सामान्य तरिकाले भएकाले होला स्वादिष्ठ सेलरोटी पाउने भएकाले जहिले यही आउने गरेको उनले बताइन् । ‘अरू ठाउँमा धेरै किसिमका मिसावट कुराहरु हालेर पकाएको हुन्छ’, उनले भनिन्, ‘यहाँ त्यस्तो हुँदैन । जति खाए पनि खाउखाउ लाग्नेहुन्छ ।
उनको पसलमा सेलरोटीसँगै अन्य खाजाहरु पनि पाईन्छ । तर बढी मात्रामा सेलरोटी बिक्ने गरेको छ । चिसो समयमा दैनिक १०÷११ केजी पिठोको रोटी जाने गरेको र गर्मी समयमा दैनिक ५÷६ केजी पिठोको सेलरोटी जाने गरेको ओझाले जानकारी दिइन् ।
दुई जनालाई रोजगारी दिएकी छन् । हामीले सीपको पहिचाहन गरेर काम गर्न सके थोरै लगानीमा पनि आर्थिक रुपले सक्षम हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन् ओझा । व्यवसाय गरेपछि आम्दानी बढ्ने, जीवनस्तर परिवर्तन हुने त छँदै छ ।
महिलाहरु आयआर्जन मूलक व्यवसायमा लागेर आत्मनिर्भर वन्न थालेपछि पुरुषले गर्ने व्यवहारका कारण महिला हिंसाका घट्नाहरुमा पनि कमि आएको उनको अनुभव छ ।