काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार असल कर्जाको जोखिममा ०.३ प्रतिशत थप व्यवस्था (प्रोभिजन) राख्नुपर्ने व्यवस्थाको असर उच्च मूल्य भएका लघुवित्त संस्थाहरुको सेयरमा परेको छ । मंगलबार अधिकांश लघुवित्त संस्थाहरुको सेयर मूल्य घटेको छ ।
समग्रतामा बैंक तथा वित्तीय संस्था सबैलाई ०.३ प्रतिशतको प्रोभिजन कायम भए पनि लघुवित्तमा २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा राख्नुपर्ने व्यवस्थाका कारण उच्च मूल्य भएका लघुवित्त संस्थाहरुको सेयर मूल्य प्रभावित भएको हो ।
तर, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको सेयर मूल्यमा भने खासै फरक पारेको छैन । कारोबारको सुरुवातमै ठूलो झट्का दिए पनि त्यसपछि बजार सम्हालिन खोज्यो । प्रि–ओपनिङमा २० अंकले घटेको नेप्से सूचक त्यसपछिको ५ मिनेटमै अर्को ३० अंकले घटेर ३ हजार २ मा पुगेको थियो ।
त्यसपछि भने बजार ‘बाउन्स ब्याक’ हुँदै एक घण्टामा सोमबारको अंकलाई पार गरेर अघि बढ्यो । त्यसपछि सामान्य घट्ने र अधिक बढ्ने हुँदै हालसम्मकै उच्च विन्दु ३०८५.८१ अंकमा पुग्यो । तर, कारोबार बन्द हुँदा फेरि खस्किएर २९.२२ अंकले बढ्दै ३०७९.६५ अंकमा अडिएको छ । यो हालसम्म कै उच्च विन्दु हो ।
नेप्से सूचक आइतबार ३०५८ अंकमा थियो । बजारले नयाँ गति समाइरहेका बेला राष्ट्र बैंकबाट आएको निर्देशनले ठूलो असरको पूर्वानुमान गरिए पनि मंगलबार लघुवित्तमा सबैभन्दा बढी असर देखियो । लघुवित्त समूह सूचक ११७ अंकले घट्यो । उता बैंकिङ समूहमा सामान्य साढे ३ अंकले मात्र घटेको छ ।
तर, विकास बैंक र वित्त सूचकमा भने वृद्धि आएको छ । मंगलबार राष्ट्र बैंकको निर्देशनको सकारात्मक असर जलविद्युत कम्पनीहरुमा परेको छ । १३ वटा जलविद्युत कम्पनीहरुको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जानकी फाइनान्स, मल्टिपर्पोज फाइनान्सको पनि सर्किट लेभलमा कारोबार भएको छ ।
मंगलबार उच्च मूल्य घट्ने १० कम्पनीमध्ये ८ वटा लघुवित्त संस्थाहरु छन् । यद्यपि सबैभन्दा बढी सेयर मूल्य घट्ने सर्पोट लघुवित्तको सेयर मूल्य ५.४ प्रतिशतले घटेको छ । कारोबार प्रवृत्ति हेर्दा आगामी दिनमा बजारले अझै उचाइ लिने संभावना बढाएको छ । मंगलबार कारोबार रकममा पनि सुधार आएको छ ।
३ करोड ३ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ३ करोड ७० लाख ७३ हजार कित्ता सेयर किनेबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको थियो । यसअघि जेठको अन्तिम साता १९ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको रेकर्ड छ ।
मंगलबार सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंकको भएको छ । एनआईसी एसियाको ४९ करोड ४ लाख रुपैयाँ को कारोबार भएको नेप्सेले जनाएको छ ।
यो पनि हेर्नुहोस
उच्च विन्दुपछि नेप्सेमा सामान्य करेक्सन, एक दिन पनि टिकेन बैंकिङ समूह