×

तरकारी बजार र चिया पसलमा पाइन्छ क्युआर कोड, पेट्रोल पम्पमा कहिले ?

images

काठमाडौं । पछिल्लो समय डिजिटल पेमेन्ट गर्नेहरूको संख्या तीव्र भएको छ । विशेष गरेर कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरे पनि नेपाल राष्ट्र बैंकले भुक्तानीलाई सहज बनाउनका लागि डिजिटल पेमेन्टको अवधारणालाई अगाडि बढाएसँगै क्युआर कोड प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोडमार्फत भुक्तानीका लागि अभियान नै चलाएका थिए । उनले विभिन्न ठाउँमा रहेको तरकारी बजारमा समेत गएर क्युआर कोडको शुभारम्भ गरेका थिए । त्यति मात्र होइन, अहिले साना–साना चिया पसल, सैलुन, ट्याक्सीलगायतका क्षेत्रमा समेत क्युआर कोडको प्रयोग बढिरहेको बेला सर्वसाधारणले धेरै प्रयोग गर्ने ठाउँ पेट्रोल पम्पहरूमा भने अझै डिजिटल पेमेन्टमैत्री हुन सकेको छैन । अर्थात्, अधिकांश पम्पहरूमा क्युआर कोड राखिएका छैनन् ।

जसको कारण रकम भुक्तानीका लागि लामो समयसम्म लाइनमा बस्नु पर्ने र खुद्रा पैसासमेत पम्पहरूले नदिने समस्या हालसम्म ज्युँका त्युँ छ । कोभिड सुरु भएलगत्तै भने केही पम्पहरूले क्युआर कोडको प्रयोग गरेका थिए ।

तर, पछिल्लो समय ती पम्पहरूले पनि क्युआर कोडको प्रयोग हटाएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पम्पहरूमा डिजिटल पेमेन्टका लागि क्युआर कोडको प्रयोग बढाउने बताए । यसअघि पनि काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्पहरूमा क्युआरकोड राखिएको भए पनि नेपाल आयल निगमले नै हटाउन लगाएकोको उनको भनाइ छ ।

‘हाम्रा पम्पहरूमा आईएमई पेले क्युआर कोड राखिदिएको थियो अध्यक्ष प्रधानले भने, ‘पछि निगमले नै हटाउन निर्देशन दिएपछि हटाएका हौं ।’ पम्पहरूलाई डिजिटल पेमेन्टमैत्री बनाउनका लागि तयार रहेको बताउँदै ग्राहकको चाहनाअनुसार आफ्नो सेवा विस्तार गर्दै लैजाने उनको प्रतिबद्धता छ । 

जोरपाटी, बेंसीगाउँमा रहेको जेएमबी पम्पका सञ्चालक कुमार श्रेष्ठले भने क्युआरकोडको कारणले धेरै सहज भएको बताए । ‘मैले पहिलादेखि नै राखेको छु, बीचमा आईमई पेले राखेको क्युआरकोड आयल निगमले नै हटाएको हो’, उनले भने । ‘हामीलाई त क्युआरकोड हुँदा धेरै सहज भएको छ, सञ्चालक श्रेष्ठले भने तर, केही ग्राहकहरूले क्युआर गरेको नाममा झुक्याएर भाग्ने पनि गरेका छन् ।’ क्युआर कोडको प्रयोगले पैसा बोक्ने झनझटको अन्त्य मात्र नभई पम्पमा खुद्रा पैसा नहुने समस्याको पनि समाधान भएको उनले बताए । 

धेरै पम्पहरूले भने क्युआरकोड राख्न नै चाहेको थिएन । कोभिडको बेलामा संक्रमणको डरले जबर्जस्ती क्युआरकोड राखे पनि पछि अवस्था सामान्य हुँदै गएपछि विस्तारै हटाउँदै लगेका छन् ।

एसोसिएनका एक सदस्यका अनुसार पम्पहरूले खुद्रा पैसा फिर्ता गर्ने नाउँमा दैनिक हजारौं रुपैयाँ संकलन हुने बाटो नै बन्द भएपछि त्यहाँका कर्मचारीहले नै झन्झट मान्ने गरेका छन् । पम्प सञ्चालकहरूको चाहनाभन्दा पनि त्यहाँ काम गर्नेहरूको चाहनाअनुसार नै पम्पमा क्युआरकोड नराखिएको ती सदस्यले बताए । हामीले सबै सञ्चालकहरूलाई क्युआरकोड राख्न भनिसकेका छौं ।

तर, कर्मचारीहरूले नै अटेर गर्दै आएका छन् । पम्पमा ग्राहकबाट उठ्ने खुद्रा पैसाहरू कर्मचारीहरूले नै लिने गरेका छन् । सञ्चालकहरूलाई त लिटरको हिसाबले पैसा बुझाउने भएकाले क्युआरकोड राख्दा नै फाइदा पुग्ने बताउँछन् । 

यता आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीले पम्पहरूमा रहेको क्युआरकोड हटाउन कुनै निर्देशन नदिएको बताए । ‘हामी त सबै पम्पमा क्युआरकोड राख्न भनिरहेको बेला किन हटाउँछौं ?, सहप्रवक्ता कार्कीले भने, पम्पको हातामा भित्रमा निगमसँग सम्बन्धित र सुरक्षासँग सम्बन्धित सूचनाहरू बाहेक अरुको विज्ञापन नराख्न मात्र भनिएको हो ।’ आईएमई पेले भने पम्पहरूमा क्युआर कोडसहित आफ्नो विज्ञापनसमेत राखेको थियो । सबै पम्पहरूमा क्युआरकोड राख्नका लागि सर्कुलर जारी गर्नका लागि निगमले आन्तरिक तयारी गरिरहेको समेत जानकारी दिए । 


 

मङ्गलबार १४ असार २०७९ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया