काठमाडौं । पुरानो ऋण उठाउन नयाँ ऋण सिर्जना गर्न नपाएपछि आर्थिक वर्ष सकिनै लाग्दा बैंकरहरु तनावमा देखिएका छन् । विगतमा ठूला ऋणीहरुले ऋण नियमित (सावाँ तथा ब्याज) गर्न नसक्दा थप ऋण दिएर हिसाब मिलान गर्ने गरेका बैंकरहरुलाई यसपटक गम्भीर समस्या उत्पन्न भएको हो ।
केन्द्रीय बैंकले बैंकहरुको यस्तो धन्दा पूर्णरुपमा बन्द गरिदिएपछि बैंकरहरु सावाँ ब्याज नउठाउन सास्ती भइरहेको हो । बैंक तथा वित्तीय संस्थाको हिसाब पनि मिल्थ्यो र ऋण नियमित भएको देखिन्थ्यो र नयाँ कर्जा गएको पनि देखिन्थ्यो । यसले ऋणी र बैंकलाई विन–विनको अवस्थामा राखेको थियो ।
‘चालू वर्षको अन्त्य नजिकिएसँगै बैंकहरुलाई विगतको सुविधा उपलब्ध नभएका कारण गम्भीर समस्या उत्पन्न भइरहेको छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘बैंकमा स्रोत नजुटेपछि नयाँ कर्जा लगानी गर्ने अवस्था छैन ।
केन्द्रीय बैंकले कर्जा लगानीमा पनि कडाइ गरिरहेको छ । बैंकहरुमा देखिएको तरलता असहजता, कर्जा निक्षेप अनुपात पुर्याउनुपर्ने दबाब, पुँजी पर्याप्तता अनुपातमा पनि ख्याल गर्नुपर्ने स्थितिजस्ता कारणले नयाँ ऋण सिर्जना गर्ने अवस्था छैन ।’
ती बैंकरका अनुसार ऋणीहरुले नियमित ऋण तिर्ने अवस्था पनि छैन । यद्यपि, केन्द्रीय बैंकले चालू आर्थिक वर्ष सकिएपछि केही दिन ऋण असुलीका लागि समय दिन सक्छ ।
आगामी आर्थिक वर्ष सुरु हुनेबित्तिकै तरलता सहज भएको अवस्था, कर्जा निक्षेप अनुपात पुगेको स्थिति र पुँजी पर्याप्तता आधारलाई हेरेर नयाँ ऋण दिन सक्ने अवस्था आउन सक्ने आशा गरिएको छ । तर, अहिलेका परिवेश र परिस्थिति, सरकारी खर्चको स्थिति, कठोर मौद्रिक नीतिको पक्षमा बन्दै गएको माहोल र पुनर्कर्जामा पनि कडाइ गर्नुपर्ने अवस्थाले बैंकहरुलाई थप दबाब सिर्जना गर्ने देखिन्छ, जसले गर्दा छिटै बंैकहरुले ऋण प्रवाह गर्न नसक्ने अवस्था देखिन्छ ।
विगतमा ठूलो ऋणीले ऋण नतिर्दा थप ऋण सिर्जना गर्दै ऋण असुली देखाएका बैंकहरुलाई चालू वर्ष त्यो सुविधा कुनै पनि अवस्थामा प्राप्त नहुने भएपछि ऋण असुली बैंकरहरुका लागि थप टाउको दुखाइ बनेको छ ।
विगतमा असार लागेसँगै ऋण असुलीको दर बढेको देखाउँदै खराब कर्जा घटेको देखाउने र बैंकहरु मनग्य नाफामा गएको देखाउने प्रवृत्तिलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि पटकपटक प्रश्न उठाउँदै आएको छ । खासगरी, ऋणलाई नियमितता दिएको अवस्थामा खराब कर्जा (एनपीएल) घटेको स्थितिलाई आईएमएफले चेतावनी युक्त भाषामा केन्द्रीय बैंकलाई सचेत गराउँदै आएको छ ।
आईएमएफले यसलाई लोन ग्रिनरी हुनाको कारण र त्यसले पार्ने दीर्घकालीन प्रभावका विषयमा केन्द्रीय बैंकसँग प्रश्न गर्दै आएको छ । आईएमएफको प्रश्नको जवाफ चालू वर्षसँगै आउने खराब कर्जाको वृद्धिले देखाउने संकेत गरेको छ । बैंकहरुले नयाँ ऋण सिर्जना गर्न पाएनन् भने खराब कर्जाको रफ्तार ह्वात्तै बढ्ने देखिन्छ ।
ऋण नियमित नभएपछि आगामी वर्षसँगै खराब कर्जाको मात्रा बढ्ने र असुलीका लागि नयाँ उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । यसका लागि ऋण उठाउन लामो प्रक्रिया आरम्भ हुन्छ । यसले उद्योग/व्यवसायी कालोसूचीमा पर्नेदेखि उद्यम व्यवसाय नै कोल्याप्स हुने स्थितिसम्म आउन सक्ने देखिन्छ ।
बैंकहरुले ऋण असुली प्रक्रिया सुरु गर्दा उद्योगी व्यवसायीलाई ऋण तिर्न ताकेता गर्ने, त्यसो गर्नुअघि नै सकिएको समयको आधारमा खराब कर्जाबापतको जोखिम व्यवस्था (प्रोभिजन) गर्ने, तोकेको समयमा ऋण नतिरे (सावाँ तथा व्याज) कालोसूचीमा राख्ने र बोलकबोलमार्फत सम्बन्धित ऋणीको धितो÷जेथा बिक्री गरेर असुल्नुपर्ने हुन सक्छ । यसले उद्यमी व्यवसायी पनि बदनामी हुने र बैंकहरुलाई कर्जा असुली गर्न निकै कठिनाइ हुने स्थिति छ ।
हरेक त्रैमासमा अर्थात् ऋणको सावाँ–ब्याज समयसँगै बैंकहरुले नयाँ ऋणको प्रक्रिया आरम्भ गरेको हुन्छन् । यसपटक पनि धेरै बैंक तथा वित्तीय संस्थाले ऋण दिने फाइलहरु आन्तरिक रुपमा सदर गरेर पेन्डिङमा राखेका छन्, जसको असर असारमसान्तसँगै देखिनेछ ।
चालू आर्थिक वर्षको बैशाखसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब २४ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको असारसम्ममा बैंक तथा वित्तीय संस्थाले ४१ खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको केन्द्रीय बैंकको तथ्यांकबाट देखिन्छ ।