काठमाडौं । नेपाल राष्ट्र बैंकको असल कर्जामा थप शून्य दशमलव ३ प्रतिशत प्रोभिजनका बाबजुत मंगलबार २९ अंकले बढेको सेयर बजार सूचक बुधबार पनि दोहोरो अंकले बढेको छ ।
बैंकिङ समूह, जलविद्युत् र उत्पादनमुलक समूहमा आएको ठूलो गिरावटका बाबजुत पनि अन्तिम समयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ उचाइ छोएको हो ।
उच्च रेकर्ड कायम गर्न बुधबार होटल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमा समूहले अधिक भूमिका खेलेका छन् भने विकास बैंक, वित्त, व्यापार, लघुवित्तसहित अन्य समूहले दरो साथ दिएका छन् । यसदिन नेप्से १५.३ अंकले बढेर ३०९४.९५ अंकमा पुगेको छ ।
उच्च रेकर्डलाई कारोबार रकमले पनि साथ दिएको त छ तर, कारोबार रकम भने मंगलबारको भन्दा कम छ । यसदिन २ करोड ८१ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब २९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ३ करोड ३ लाख ५५ हजार सेयर कित्ता किनबेच हुँदा १५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसदिन बिना कुनै कारण कुनै बेला २८०० रुपैयाँसम्म पुगेर १४०० हाराहारीमा झरेको चन्द्रागिरी हिल्सको मूल्यमा उछाल आएको छ । चन्द्रागिरी सहित नारायणी विकास बैंक र मल्टीपर्पोज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ ।
लगानीकर्ताहरु सेक्टर छनोट गरेर लगानी बढाउने र १० देखि २० प्रतिशत नाफा देखिएपछि ती क्षेत्रबाट (कम्पनी) बाहिरिने र नयाँ क्षेत्र (कम्पनी) छनोट गर्ने प्रवृत्ति देखिएको छ । केही दिनदेखि जलविद्युत् समूहका अत्यन्तै कमजोर भनिएका सेयर मूल्यलाई लगातार उचालेका लगानीकर्ताहरुले बुधबार ती कम्पनीमा नाफा बुक गर्न खोजेका छन् । त्यसले यसदिन जलविद्युतका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।
सोमबार र मंगलबार अधिकांश जलविद्युत् कम्पनीको मूल्य बढेको थियो भने कतिपयको सर्किट लेवलमा कारोबार भएको थियो । तर, सेयर मूल्य घट्दा भने सर्किट लेवलमा झरेको छैन । सबैभन्दा बढी पञ्चकन्यामाई जलविद्युत् कम्पनीको ५ प्रतिशतले मूल्य घटेको छ । बुधबार उच्च मूल्य घट्ने कम्पनीहरुमा सुरुवाती १३ वटै जलविद्युत् कम्पनी छन् ।
बुधबार सबैभन्दा बढी कारोबार युनाइटेड मोदी हाइड्रोपावरको ३८ करोड ५३ लाख ६९ हजार रुपैयाँ छ । उच्च १० करोबारमध्ये ८ वटा जलविद्युत् कम्पनीका छन् ।