आइतबार​, असोज १० २०७८ ०९:२७ PM

×

सिनेमा घरको पर्दा खुलेन, धमाधम बन्द हुँदै हल

images

काठमाडौं । कुनै समय दर्शकहरूले खचाखच हुने चाबहिलको गोपीकृष्ण हल अहिले धमाधम भत्किँदै छ । गोपीकृष्णले हल भत्काएर नयाँ संरचना बनाउन लागिरहेको छ । हलको संख्या पनि ७ वटाबाट तीनवटामा मात्र सीमित गरेको छ ।

गोपीकृष्ण मात्र होइन, जमलको विश्वज्योति हल भत्काएर सपिङ मल निर्माण भइरहेको छ। ललितपुरको ललित सिनेमा, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जलीलगायतका हल भत्काउने तयारी भइरहेको छ। दरबारमार्गको जय नेपाल हल पनि भत्काउने निश्चित भइसकेको छ । 

विगत दुई वर्षदेखि महामारीका रुपमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण जारी गरिएको लकडाउन(बन्दाबन्दी) र निषेधाज्ञाको मारमा फिल्म क्षेत्र पनि सबैभन्दा बढी मारमा परेका छन् । जसको कारण त्यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रहरू प्रभावित मात्र बनेको छैन, विस्थापितसमेत भइसकेको छ ।

हल सञ्चालनको विकल्प नहुँदा राजधानीमा मात्र होइन मुलुकभर हल भत्काउने, सधैंका लागि बन्द गर्ने र अरु व्यवसायमा जाने निर्णय हल सञ्चालकहरूले गरेका छन् । अर्बाैं लगानी रहेको हलमा सरकारले राहत, सुविधा र योजना नबनाउँदा मनोरञ्जन उद्योग धरापमा परेको हो । 

लकडाउन खुलेसँगै नेपाल चलचित्र संघले एकलौटी रुपमा २०७७ पुस १० गतेबाट हल खुला गरे पनि सरकारले भने १९ गतेबाट मात्र औपचारिक रुपमा खुला गर्ने निर्णय गरेको थियो । तर, फिल्म हल खुले पनि दर्शकहरूको चाप भने थिएन ।

केही महिना जसोतसो हल खुले पनि वैशाख १७ गतेबाट जारी गरिएको निषेधाज्ञाको कारण फेरि बन्द भयो, त्यसयता हल खुल्ने मात्र होइन उठ्नै नसक्ने अवस्थामा छ । 

चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले लामो समयसम्म लकडाउन र निषेधाज्ञा झेलेको फिल्म हल पछिल्लो समय सदाका लागि बन्द हुने लहर नै सुरु भएको बताउँछन् । कोरोना अघिसम्म देशभरका २०४ पर्दा भएको हलहरूमध्ये १३ वटा कोरोना भाइरस जोखिमकै बीचमा सदाका लागि बन्द भएको उनको भनाइ छ ।

देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए । नेपालमा कुल बन्द हुने हलको संख्या ७५ पुगेको छ। देशभर १ सय ५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन्।

चलचित्रकर्मीले कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै २ अर्ब रूपैयाँ बराबरको क्षति बेहोर्नु परेको बताउँदै आएका छन् । तर, यसको निश्चित तथ्यांक भने छैन । वर्षमा १२० को हाराहारीमा निर्माण हुने चलचित्र, १ सय ७० सञ्चालित हलका पर्दा र १५ हजारभन्दा बढी सक्रिय चलचित्रकर्मीको आधारमा अनुमानित क्षति चलचित्रसँग सम्बन्धित संघ–संस्थाबाट निकालिएको छ।

अहिले चलचित्र क्षेत्रमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ। नेपाली चलचित्रका प्राविधिक कामविहीन हुनुपरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको भनाइ छ । ‘काम नभएकै कारण कलाकारहरू घरमै आराम गरिरहेका छन् भने कतिपयमा मानसिक तनाव उत्पन्न भएको छ,’ अध्यक्ष अधिकारीले भने, हलवाला र निर्माता ब्याजको मारमा परेका छन् ।’

‘जबसम्म हल खुल्न सक्दैन तबसम्म चलचित्र क्षेत्रका कुनै पनि कार्य अघि बढ्न सक्दैन, दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा प्रतीक्षारत छन्’, अध्यक्ष अधिकारीले भने ।

संघका अध्यक्ष अधिकारीले सरकारले चलचित्र क्षेत्रलाई पनि अन्य प्रभावित क्षेत्रलाई झै कर्जा सुविधा उपलब्ध गराउने, पुनरुत्थान कार्यक्रमअन्तर्गत समायोजन गर्नुपर्ने माग अघि सार्दै आएको बताएका छन् ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने कोरोनाका कारण एउटा मात्र हल बन्द भएको जानकारी पाएको बताए । नामसमेत थाहा नभएको बताउँदै हल बन्दको आधिकारिक जानकारी एउटाले मात्र दिएको र अरुको खबर नपाएको उनको जिकिर छ । उनले फिल्म उद्योगलाई बचाउनका लागि सरकारसँग विशेष प्याकेजका लागि लबिङ गरिरहेको बताए । 

६० प्रतिशत जनसंख्यालाई खोप लगाउन सकियो भने हल सञ्चालन गर्न सहज हुने बताउँदै त्यसअघि इन्टरनेटमार्फत फिल्म सञ्चालनका लागि गृहकार्य भइरहेको उनले बताए । नेपालमा अनलाइनमार्फत फिल्म प्रदर्शन गर्दा साँवा नै उठ्न सक्ने सम्भावना कम रहेको उनको ठहर छ ।
संघले दिएको जानकारीअनुसार चलचित्र क्षेत्रमा प्रत्यक्ष रुपमा करिब ५० हजार र अप्रत्यक्ष रुपमा गरी करिब १ लाख ७० हजारले रोजगारी पाएका छन् ।

सामान्यतयाः एउटा हलमा १५ देखि २० जनासम्म आबद्ध हुने संघले जनाएको छ । कोरोनापछि उक्त जनशक्ति तरकारी पसल, कुखुरा पालन, खेतीपाती, व्यापार–व्यवसाय क्षेत्रमा आबद्ध भएको मधुसूदन प्रधान बताउँछन् । सरकारले राहत तथा कुनै सहयोग नगरेकोमा उनले गुनासोसमेत गरे । 

आर्थिक क्षतिलाई आँकलन गर्दा खर्ब नजिक पुगेको संघका अध्यक्ष प्रधान बताउँछन् । चलचित्र हलको भवन बनाउनदेखि डिजाइनसहितको खर्च हुँदा हलमा आर्थिक क्षति बढी भएको उनको भनाइ छ । नेपालमा भएका धेरैजसो हल भाडामा सञ्चालन भई थोरै हलको मात्रै आफ्नै भवन रहेको उनको भनाइ छ । नेपालमा ७० प्रतिशत हलहरू भाडामा रहेको छ ।

निर्देशक दीपेन्द्र लामाले कोरोनाका कारण फिल्म क्षेत्र संकटमा परेको बताए । कोरोनाका कारण लामो समयदेखि हल बन्द हुँदा त्यससँग आश्रित जनशक्तिहरू बेरोजगार भएको र कति पलायन भएको उनको भनाइ छ । जनशक्ति पलायन मात्र होइन, फिल्म क्षेत्रमा आउने लगानीकर्ताहरू समेत हच्किएको उनको भनाइ छ । 

नेपालमा फिल्म हल सञ्चालन गर्ने क्यूएफएक्स चेनअन्तर्गत देशभर १२ वटा हल छन् । त्यसमध्ये कोरोनाको कारण २ वटा हल पूर्णरुपमा बन्द भएका क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रोशन अडिगा बताउँछन् ।

आफ्नो मातहतका कुमारी र जय नेपाल हल क्यूएफएक्सले पूर्णरुपमा बन्द गरेको बताए । उक्त १२ वटा हलमा करिब साढे ३ सय जनाले रोजगारी पाएका थिए । तर, कोरोनाको कारण भएको आर्थिक क्षतिबारे क्यूएफएक्सले आँकलन नगरेको उनको भनाइ छ । 

७५ वटा फिल्म प्रदर्शनको पर्खाइमा

चलचित्र निर्माता संघको अनुसार छायांकन भएर प्रदर्शनको पर्खाइमा करिब ७५ वटा फिल्म छन् । ती चलचित्र निर्माण गर्नका लागि १ अर्ब ५० देखि ७० करोडको बीचमा लगानी भएको निर्माता संघले जनाएको छ । यद्यपि बोर्डले भने तयारी पूरा गरेर प्रदर्शनमा रोकिएका चलचित्रको संख्या करिब ५० वटा रहेको जनाएको छ ।

बजार तथा फिल्म हल खुल्ने हो भने उक्त फिल्म प्रदर्शन गर्न ६ महिनासमेत नलाग्ने बोर्डका अध्यक्ष दाहाल बताउँछन् । ‘हामी धेरै आत्तिन्छौं तर, नेपालमा मात्र नभई विश्वमा कतै पनि फिल्म प्रदर्शन भएका छैनन् ।

कोरोनाको अवस्था सामान्य भएमा ६ महिनाका लागि मात्रै चलचित्र निर्माण भएका छन् । विगत १८ महिनादेखि बन्द भएको कारण नयाँ फिल्म सुटिङ हुन सकेको छैन,’ उनले भने । 

विश्व बक्स अफिस शून्यमा खसेको उदाहरण हुन भारत र अमेरिका । हिन्दूस्तान टाइम्सका अनुसार कोरोना प्रभावका कारण बलिउडले १ हजार ३ सय करोड भारु गुमाएको छ। हलिउड रिपोर्टर म्यागजिनका अनुसार हलिउडले महामारीका कारण पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नु परेको छ। हलिउडमा मात्रै तत्काल १४ हजार कामदारले रोजगारी गुमाएका छन्। चीनका कुल ४० हजार हलमध्ये ४० प्रतिशत सधैंका लागि बन्द हुने बीबीसीले उल्लेख गरेको छ।

चलचित्रमा लगानी बढ्दै

पछिल्लो समय बनेका फिल्महरूमा लगानी धेरै हुन थालेको छ । पहिले–पहिले २० देखि ५० लाखसम्ममा नेपाली फिल्महरू बन्ने गरेका थिए । तर, पछिल्लो समय नेपालमा १ करोडदेखि सवा २ करोडसम्म एउटा फिल्ममा लगानी हुने गरेको छ । पछिल्लो समय बनेको तर, प्रदर्शन हुन नपाएको ‘प्रेम गीत ३’ को लगानी भने २ करोड ५० लाख पुगेको छ । 

एउटा फिल्म छायांकनमा ५० जना जनशक्ति

फिल्म सुटिङ(छायांकन) गर्नका लागि सरदर ५० जना जनशक्तिको आवश्यकता पर्छ । त्यसमा सवारी चालकदेखि खाना बनाउनेसम्म सबै पर्छन् । कहिलेकाहीँ त्यो संख्यामा आवश्यकताअनुसार फरक पर्न सक्छ ।

सामान्य अवस्थामा एकै दिन ८÷९ वटासम्म फिल्म सुटिङ हुन्थ्यो र ४÷५ सय मान्छेले फिल्म क्षेत्रमा दैनिक काम गथ्र्ये । त्यस्तै सामान्यतयाः ३५ दिनमा फिल्म सुटिङ गर्न सकिन्छ । सामान्य अवस्थामा ९० वटासम्म फिल्म प्रदर्शन हुने गरेको निर्माता तथा निर्देशकहरूको भनाइ छ । 

नाटक घर पनि प्रभावित

चलचित्र क्षेत्र मात्रै होइन थिएटर(नाटकघर) क्षेत्रको अवस्था पनि उस्तै छ । अझ थिएटरको अभिभावकत्व कसले ग्रहण गर्नेमा नै अन्योल रहेको कलाकार तथा थिएटर महलका कलानिर्देशक केदार श्रेष्ठ बताउँछन् ।

‘यो स्थानमा थिएटर आइपुग्नु भनेको व्यक्तिगत लगानीले मात्रै हो सरकारी निकायको कुनै आधिकारिक सहयोग छैन,’ उनले भने । ‘अन्य संस्थाहरूबाट सहयोग भएर अहिलेसम्म थिएटर क्षेत्रले नाटक प्रदर्शन गर्न सकिरहेको छ ।’ 

त्यस्तै मण्डला थिएटरका सञ्चालक तथा कलाकार दयाहाङ राई मनोरञ्जनका अन्य क्षेत्रभन्दा थिएटर क्षेत्र प्रत्यक्ष दर्शकसँग जोडिने भएकाले बढी असर भएको बताउँछन् । आर्थिक–व्यावसायिक हिसाबले थिएटर क्षेत्र धरासायी भएको तर, सिर्जनात्मक कुराले भने कोरोना संक्रमणको अवस्थालाई पनि सकारात्मक मान्न सकिने राईको भनाइ छ ।

‘पछिल्लो समय वैकल्पिक माध्यम र प्रयासहरू भएकाले त्यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । मण्डला र शिल्पि थिएटरले अनलाइनबाट ‘नाटक’ प्रदर्शन गरेका थिए, दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ,’ उनले भने ।

कलाकार राईले भर्चुअल माध्यमबाट नाटक प्रदर्शन गर्नु वैकल्पिक माध्यम रहेको तथा दर्शकसँग नजिक हुने उपाए मात्रै भएको बताउँछन् । थिएटरको मर्म बचाइ राख्नका लागि प्रत्यक्ष रुपमा नै प्रदर्शन गर्नुपर्ने उनले बताए । 

कलानिर्देशक श्रेष्ठ भन्छन्, ‘चलचित्र र नाटकबीचको फरक रेकर्डिङ र प्रत्यक्ष प्रदर्शनमा हो । यसलाई बचाइ राख्नका लागि प्रत्यक्ष रुपमा नटक प्रदर्शन गर्नुपर्छ तर, भर्चुअल माध्यम पनि नराम्रो त होइन ।’   

कोरोना संक्रमण पहिलादेखि नै थिएटर क्षेत्र आर्थिक रुपमा सबल भने थिएन । झन कोरोनाको संक्रमणले आर्थिक पक्षलाई संकटमा पारेको छ । कोरोना संक्रमण भएपछि केही व्यक्ति गाउँ फर्किएर कृषि व्यवसायमा लागेको तथा केहीले गैर–सरकारी संस्थामा काम गर्न थालेको श्रेष्ठ बताउँछन् । 

कलाकार श्रेष्ठका अनुसार, नेपालमा थिएटरको क्षेत्रमा करिब ५ सय जना प्रत्यक्ष आबद्ध छन् । त्यस्तै उपत्यका बाहिर पनि थिएटर सञ्चालनमा रहेकाले जम्मा जनशक्ति एक हजारसम्म पुग्न सक्ने श्रेष्ठ बताउँछन् । तर, उक्त विवरण थिएटर क्षेत्रको अभिभावकत्व ग्रहण गर्ने निकाय नभएकाले आधिकारिक तथ्यांक भने होइन ।

उनीहरूका अनुसार, उपत्यका भित्र मण्डला, शिल्पी, थिएटर महल, सर्वनाम, कौसिक, शैली तथा कुञ्ज थिएटरलगायत छन् । त्यस्तै काठमाडौं बाहिर पोखरा थिएटर, परिवर्तन थिएटर (काँकाडभित्ता), गुरु कुल विराटनगर (विराटनगर), मोरङलगायत ठाउँमा थिएटर छन् । 

नाटक बनाउनका लागि कम्तीमा ४ जनाले सक्छन् भने सामान्यतयाः ५ लाख रुपैयाँको लागतमा एउटा नाटक तयार हुने कलाकार दयाहाङ बताउँछन् । 
 

शनिबार १२ भदौ २०७८ ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया