×

स्वदेशी उत्पादनको प्रवर्द्धनमा राज्यको सहयोग आवश्यक 

images

मुख्य चाडपर्वको रुपमा रहेका दसैं, तिहार र छठलगायतका चाडपर्वहरुको समापनपछि नेपालमा मेला तथा महोत्सवको आयोजना हुने गरेका छन्। लामो समयदेखि कोरोना महामारीका कारण नेपाल उद्योग वाणिज्य महासंघ, मेला समिति तथा जिल्लागत मेला समितिहरुले मेला महोत्सव आयोजना गर्न सकेनन्। जसका कारण हामी ठूलो मारमा पर्‍याैं। 

तर कोरोना महामारी पनि सामान्यरुपमा आएको र ठूला चाडपर्वहरु पनि सकिएको अवस्थामा मेला महोत्सव आयोजना हुने देखिन्छ। मेला महोत्सव देशका उत्पादनहरुलाई प्रवर्द्धन गर्न, त्यहाँका व्यवसाय र उत्पादनहरुको पहिचान गर्न महत्वपूर्ण सावित हुँदै आएको छ। 

मेला महोत्सवले बाहिरका उत्पादनहरुलाई पनि एकै ठाउँमा पाउन सकिने सुविधा पनि प्रदान गर्छ। यस्ता मेलामा मानिसहरुले अन्य सामग्री हेर्न पाउने, आफ्नो उत्पादनलाई पहिचान गर्न पाउने र अरूबाट उत्पादित सामग्रीको पहिचान गरी सोहीअनुसारको वस्तु उत्पादन गर्न सम्भाव्यक्ता खोजिने अवस्था बन्छ। यस्ता विविध कारणले महोत्सव महत्वपूर्ण रहेको छ।

तर महोत्सव गर्न त्यति सजिलो छैन। हाल विदेशीले पनि नेपालमा विभिन्न समयमा विभिन्न किसिमका मेलाहरु आयोजना गर्ने गरेका छन्। त्यस्तै स्वदेशी निर्यातकर्ताले पनि बाहिर गएर मेला महोत्सव गरेका थुप्रै उदाहरणहरु छन्। यस्तो समयमा नेपाल उद्योग वाणिज्य महासंघले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।

साथै यस्ता काममा महासंघ सहयोगका लागि सधैं तयारी अवस्थामा छ। विश्वका अन्य मुलुकमा मेला महोत्सव गर्नु परेमा मेला हेर्न आउने/जानेलाई खाने, बस्ने खर्च दिएर स्वदेशी उत्पादीत वस्तुलाई प्रवर्द्धन गर्नका लागि सम्पूर्ण खर्च राज्यले बेहोरेर प्रवर्द्धनात्मक कार्यहरू गरिरहेको हामी पाउँछौं।

विश्वमा यस्तो किसिमको व्यवस्था भए पनि नेपालमा भने यस्तो प्रकारको सुविधा राज्यले दिएको छैन। व्यापार निकासी तथा प्रवर्द्धन केन्द्र (टिपिसी) ले उद्योग वाणिज्य महासंघलाई दिँदै आएको बजेट पनि कटौती गर्दै लगेको छ। एकातर्फ स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ भन्दै गर्दा अर्कोतर्फ त्यसकै बजेट कटौति गर्दै जाँदा हामी कतै उल्टो दिशातर्फ त जाँदै छैनौ ? भन्ने प्रश्न उठेको छ।

आज दशौं वर्षदेखि उद्योग वाणिज्य महासंघले एउटा स्तरिय अन्तर्राष्ट्रियस्तरको हलको व्यवस्था गर्न माग गरिरहेको छ। तर त्यो हलको व्यवस्था गर्नुको साटो हामीले जुनजुन ठाउँमा जग्गाहरु खोजेका थियौं त्यही ठाउँ उपलब्ध गराउन पनि बेवास्ता गरिएको छ। काठमाडौंको एउटा केन्द्रीय स्थानमा हामीले प्रदर्शनी हलको माग गरिरहेका छौं। चोभारमा जुन जग्गा छ, त्यहाँ सुक्खा बन्दरगाह बनिसकेको छ।

तर, प्रयाप्त बजेट छुट्याइएको अवस्था छैन। बाहिरी देशले विदेशी मुलुकमा गएर मेला महोत्सवमा भाग लिनुपर्ने भयो भने स्वदेशी उत्पादकहरुलाई आवश्यक खर्च राज्यले प्रदान गर्ने गर्छ। यो अवस्थामा नेपाली निर्यातकर्ता, व्यवसाय र उत्पादकरु बाहिरी देशमा मेलामा जानुपर्यो भने उहाँहरुलाई कुनै प्रकारको सुविधा राज्यको तर्फबाट छैन।

यसर्थ व्यवसायीबाट कर चाहियो मात्र भनेर मात्र हुँदैन। हिजोको दिनमा निर्यातकर्ताहरुलाई आयकर नलगाउने व्यवस्था भाको थियो, उनीहरुले विदेशी मुद्रा आयात गर्छन् भन्ने कुरा भाको थियो। तर अहिले उहाँहरुलाई करको दायरामा ल्याएको अवस्था छ। हामी निजि क्षेत्र सरकारलाई कर तिर्न पनि तयार छौं, राज्यलाई सहयोग गर्न पनि तयार छौं।

तर, सरकारले पनि निजि क्षेत्रलाई हेर्ने नजर परिवर्तन गरेर सहयोगी भावनामा काम गर्नुपर्छ। यसैका लागि आज मेला महोत्सव गर्दा संघका जिल्लागत साथीहरुलाई, उत्पादक र व्यवसायीक साथीहरुलाई के कस्तो समस्या हुन्छ, कस्ता चुनौती देखापर्छन् भन्ने कुरामा हामीले मेला महोत्सव गर्ने साथीहरुलाई सहयोगी भूमिका निर्वाह गर्ने छौं।

हाम्रो राज्यलाई सबैभन्दा ठूलो माग तथा गुनासो के छ भने उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु जब राज्यले जिल्ला प्रशासन कार्यालयमा व्यवसाय गर्न भनेर उहाँहरुको व्यवसाय दर्ता गर्छ भने प्रमुख जिल्ला अधिकारीले मेला महोत्सव गर्नका लागि स्थानीय निकायहरुलाई उत्पादन र व्यापार प्रवर्द्धन गर्न स्थानीय स–साना क्लबहरूलाई व्यापार मेला गर्न दिनुहुँदैन। त्यस्ता क्लबहरुले मेला गर्न स्थानीय निकाय र स्थानीय व्यवसायसँग स्वीकृति लिनुपर्ने व्यवस्थाका लागि हामी जोडदार माग गर्दछौं।

कुनै पनि स्थानमा गएर मेला महोत्सव गर्दा त्यहाँ कर तिरेर बसेका स्थानीय व्यापार व्यवसायी तथा उद्योगीहरुलाई सहज हुन्छ। त्यसका लागि पनि वर्षमा कुन ठाउँमा कति पटक मेलाको आयोजना गर्ने भन्ने विषय पनि अहिले मेला समिति गहनरुपमा काम गर्न तयार छ । यो दुई वर्ष हामीले विभिन्न कारणले काम गर्न सकेनौं।

मैले मेला समिति हेर्ने जुन जिम्मेवारी पाएको छु अब मेला महोत्सव गर्न आत्मबल बढाउने काम बढाउँदै लानेछु। सबल जिल्ला नगरका लागि पनि मेला महोत्सव महत्वपूर्ण रहेको मेरो बुझाइ छ। यसर्थ उद्योग संघहरु कुनै पनि आर्थिक असर नपर्ने गरी कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा हामीले जोड दिन्छौं। यसका लागि प्रत्येक जिल्लाका, संघका साथीहरुले साथ दिनुहुन्छ भन्नेमा म विश्वस्त छु। यस विषयमा हामी अत्यन्त चिन्ताजनक र संवेदनशील छौं। यो मेला महोत्सवलाई व्यवसायीक गरिमामय र उद्योग उपभोक्तहरुको हितका लागि, व्यवसायलाई राम्रो बनाउनका लागि मेला महोत्सव गर्न महासंघ सहकार्य गर्न तयार छ।

(उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महत्व, विद्यमान चुनौति र आगामी तयारी विषयक छलफलमा उपाध्यक्ष श्रेष्ठले राखेको विचार)

बुधबार १४ मंसिर २०७९ ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया