×

स्यान्कोः स्ट्रिट फुडदेखि कर्पाेरेट लेभलसम्मकाे यात्रा, आईपीओमा लैजाने ज्ञानप्रकाशको सपना

images

उपत्यकालगायतका प्रायः ठाउँहरूमा देखिने एउटा फुड स्टल हो, स्यान्को कट्टीरोल ।

स्वादका पारखीहरूको प्रिय र नियमित गन्तव्य । नेपाली परिकारको लोकप्रिय फुड–ब्रान्ड । अर्थात् स्यान्को कट्टीरोल ।

१९ वर्ष लामो इतिहास बोकेको स्यान्को आफैंमा ‘स्ट्रिट’ देखि उदय भएको जनप्रिय ‘कर्पोरेट कल्चर’ को एउटा दृष्टान्त हो । संस्थापक सीईओ ज्ञानप्रकाश राई स्यान्कोलाई आफ्नै शैलीमा ‘भोकको व्यापार’ भन्छन् ।

खोटाङबाट काठमाडौं छिरेका युवा ज्ञानप्रकाश राईले सन् २००२ मा बानेश्वरमा सानो स्टल सुरु गरे । नाम दिए, स्यान्को कट्टी रोल । त्यसमा ५ लाखको लगानी गरे । ‘स्ट्रिट फुड’ कट्टी रोललाई त्यति बेला उनी ठेलामा बेच्थे । खानेहरू पनि उभिएरै खान्थे र स्यान्कोको स्वाद जिब्रोमा लिएर जान्थे । तर, सधैं यसरी नै चल्छजस्तो उनलाई लागेन ।

स्वादिलो परिकार खाने-खुवाउने ठाउँ पनि व्यवस्थित गरौं भन्ने लागेपछि उनले सुरुमा त बसेर खाने व्यवस्था मिलाए । त्यसले केही हदसम्म कट्टीरोलका पारखीको मनोविज्ञानलाई सम्बोधन गर्यो । बिस्तारै ‘स्ट्रिट फुड’ पारिवारिक खानामा विकास हुन थाल्यो । ठेलाको परिकारलाई व्यवस्थित तरिकाले पारिवारिक वातावरणमा पस्किएको १४ वर्ष (सन् २०१६) सम्म पनि स्यान्कोे बानेश्वर र जावलाखेल गरी दुइटा आउटलेटमा सीमित थियो ।

तर, सन् २०१७ को सुरुवातदेखि स्यान्कोको लोकप्रियतालाई ध्यानमा राख्दै संस्थापक राई यसलाई विस्तार गर्नतिर लागे । अहिले स्यान्को उपत्यकाका डाँडाकाँडा नाघेर देशैभर पुगेको छ । कुनै बेला बानेश्वरको ठेलाबाट स्वादको यात्रा सुरु गरेको स्यान्कोका देशैभरमा ५५ ओटा आउटलेट छन् । उपत्यकामा बढी झांगिएको स्यान्को कट्टीरोल हिजोआज आफैंमा एउटा परिकार संस्कृति बनिसकेको छ ।

ठाेस भिजनबिनै सुरुवात

५ लाखबाट सुरु भएको स्यान्कोको कूल लगानी ६५ करोड पुगेको छ । व्यापार र आकार बढेसँगै सडकबाट सुरु भएको स्यान्को कर्पोरेट जगत्मा प्रवेश गरेको छ ।

दिगो व्यावसायिक भिजनबिनै सुरु भएको ज्ञानप्रकाशको स्यान्को केही वर्षअघिसम्म अघि बढ्छ या पछि फर्किन्छ भन्ने दुविधाजनक स्थिति थियो । तर, सबैको माया पाएर यसको आकार फैलिदैं गयो । आज स्यान्कोमा ज्ञानप्रकाशको जस्तै ससाना पूँजी र उत्साह भएका युवाहरूको लगानी छ । उनीहरूकै बलबुतामा स्यान्को देशभर विस्तार भएको छ ।

‘स्यान्को कुनै ठूला पुँजीपतिहरूको भेन्चर होइन’ ज्ञानप्रकाश भन्छन्, ‘अष्ट्रेलिया, अमेरिका जान नसकेका, खाडी मुलुक जाने विचार पनि नभएका एवम् सामान्य शैक्षिक पृष्ठभूमि भएका मान्छेहरुको सामूहिक प्रयासमा विकास भएको धरोहर हो’

आफूले जग बसालेको स्यान्कोका ५५ आउटलेटलाई व्यावसायिक अभ्यासमा फ्रेन्चाइजी भए पनि त्यसको मूल्य–मान्यता भने फरक रहेको उनी बताउँछन् ।

आफूले स्यान्कोको स्वामित्वलाई गरी खाने आधारको रुपमा मानिसमाझ साझा गरी सहयोग मात्र गरेको उनको भनाइ छ ।

‘स्यान्कोलाई हामीले फ्रेन्चाइजीको रूपमा विस्तार गरेका होइनौं । फ्रेन्चाइजीका आफ्नै सिस्टम र सर्त हुन्छन् । तिनलाई कडाइपूर्वक पालना गर्नुपर्ने हुन्छ । तर, हामीले त्यस्तो कुनै पनि अनिवार्य सर्त नराखी उत्साही युवालाई गरी खाने बाटो दिऊँ भनेर स्वामित्व साझा गरेका हौं ।’

१९ वर्षे यात्रामा स्यान्को लोकप्रिय फुड–ब्रान्डको रूपमा परिचित भइसकेको छ । यसको भविष्यमा आफ्नो भविष्य देख्ने धेरैलाई ज्ञानप्रकाशले उज्यालो सपना बाँडिसकेका छन् ।

आईपीओ सपना

स्ट्रिटबाट उठेको नेपालको पहिलो खान्की स्यान्कोलाई आईपीओमा सूचीकृत गराउने ज्ञानप्रकाशको ठूलो सपना छ । तर, कट्टीरोलबाट मात्र स्यान्कोलाई आईपीओको लक्ष्यमा पुर्याउन सकिँदैन भन्ने उनलाई राम्ररी थाहा छ ।

‘स्यान्कोबाट कर्पोरेट लेभलमा प्रवेश गर्ने सोच पहिले नै थियो । तर, भारतीय नाकाबन्दीले मलाई मेरो औकात देखाइदियो’, ज्ञानप्रकाश गम्भीर बने, ‘स्यान्कोलाई ब्रान्ड बनाए पनि यसको जगलाई कायम राख्न म स्वयम् आत्मनिर्भर रैनछु भन्ने महसुस भयो ।’

भारतीय नाकाबन्दीले स्यान्कोको दैनिक व्यापारलाई प्रभावित पार्यो । अनि मात्रै नेपालको कृषि कति धराशायी रहेछ भन्ने कुरा उनले पहिलोपटक महसुस गरे । कृषि छैन त स्यान्को छैन । यसैले अहिले स्यान्को कट्टीरोलसँगै कृषिलाई पनि अगाडि बढाउने उनको सोच छ ।
उत्पादन र बजार सबै आफैं भइसकेपछि स्यान्को आत्मनिर्भर बनी आईपीओमा जाने आधार बलियो बन्ने उनको विश्वास छ ।

कट्टीरोलका लागि चाहिने, तरकारी, पोल्ट्री, मसलादि कृषिजन्य उत्पादनका लागि कृषि क्लस्टर नै बनाएर एग्री इकोसिस्टममा जाने तयारी ज्ञानप्रकाशको छ । यसका लागि उनीलगायत उनका सम्पूर्ण साझेदारहरूको छलफलमा कृषिकर्मका लागि कम्पनीसमेत दर्ता भइसकेको छ ।

स्यान्कोका देशभर विस्तार भएका ५५ ओटै फ्रेन्चाइजीले अब आफ्नै हाताभित्र कृषि क्लस्टर बनाई त्यसमा अनिवार्य रूपमा दैनिक ४ घण्टा दिनुपर्ने नीति बनाउने तयारी भइसकेको उनी बताउँछन् । खाद्यलाई उत्पादन पद्धतिसँग जोडेर कम्पनीको आधारशिला बलियो बनाएपछि आईपीओमा जाने सपनाले पूर्णता पाउने उनको विश्वास छ ।

‘हाम्रा देशभर विस्तार भएका ५५ ओटा फ्रेन्चाइजीमा निषेधाज्ञाअघि करिब २ सय ५० जना व्यक्ति कार्यरत थिए । बीचमा कति बाहिर गए । र, अहिले करिब १ सय ७० जना छन् । यी सबैले अब आफ्नो आउटलेटनजिक एग्रो क्लस्टर बनाएर दैनिक ४ घण्टा कृषि कर्ममा दिनुपर्नेछ । आफ्नै पैतालाले माटो छोएर परिश्रम नगरेसम्म तिनले खाना र भोकको मूल्य पनि बुझ्दैनन् । हाम्रो फ्रेन्चाइजीको अबको अनिवार्य सर्त पनि यही हुनेछ ।'

चुनाैतीकाे चाङ

स्यान्कोको ‘फार्म टु टेबल’ को आगामी कार्यदिशाले स्यान्कोलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउँदै आईपीओको सपनासम्म पुर्याउने उनको विश्वास छ ।

तर, यो भन्दाजस्तो सजिलो भने छैन । उनको यो रोडम्यापमा चुनौतीका चाङ पनि उत्तिकै छन् । आईपीओमा जाने योजना र तयारी गरिरहँदा र सडकबाट उठेर कर्पोरेट लेभलको सोच राखिरहँदा चुनौती आउने उनको बुझाइ छ ।

‘व्यापारको आकार बढेसँगै हामी कर्पोरेट कल्चरमा छिर्न थाल्यौं । जब हामी स्ट्रिटबाट कर्पोरेट लेभलको सोच राख्न थाल्छौं तब हाम्रा लागि धेरै चुनौती आउँछन्’, ज्ञानप्रकाश भन्छन्’, हामी बैंक, वित्तीय संस्था, हाइड्रोपावरजस्तो जन्मजात कर्पोरेट होइनौं । गर्दै, सिक्दै र बन्दै आएका हौं । हाम्रा लागि बाटा र नीतिगत संरचनाहरु पूर्ववत् तयारी अवस्थामा छैनन् ।’

हिजो ज्ञानप्रकाशको स्यान्को सानो थियो । आफैंले बनाएको कानुन, प्रणाली र आचारसंहितामा चल्ने गर्थ्याे । तर, अब आकार र स्तर परिवर्तन हुँदै जाँदा संस्थालाई नियम र अनुशासनको खाँचो हुन थालेको छ ।

राज्यबाट अपेक्षा

‘अब हामीलाई नीति नियमको आवश्यक पर्न थालेको छ । सरकारले माया गरेर होस् वा कडाइ गरेर, हामीलाई निमयन गर्नै पर्छ । अन्यथा हामी अनुशासित नहुँदा भोलि बजार नै नरहन सक्छ । अस्तित्व नै नामेट हुनसक्छ ।  हामी सुरुवातदेखि नै कर्पोरेट थियौं भने दिइएको र बनाइएको फम्र्याटमा हिँड्नुपथ्र्यो । तर, हामी त भर्खरै स्ट्रिट कल्चरबाट कर्पोरेटमा छिर्दै छौं ।

अब भने हामीलाई नयाँ संरचना, नीतिनियम र प्रणालीको आवश्यकता पर्यो’, ज्ञानप्रकाश गुनासो पोख्छन्, ‘हामीजस्तो तल्लो लेभलबाट संघर्ष गर्दै माथि उठ्ने संस्थाका लागि कुनै नीतिनियम नै छैन । हामी कहाँ जाने ? के गर्ने ? कसरी कुन संरचनाको आधारमा अगाडि बढ्ने ? खासमा यस विषयमा बहस हुनुपर्ने हो ।’

सडकबाट व्यापार सुरु गर्दा उनलाई करबारे थाहा थिएन । कमाएको सबै पैसा आफ्नो हुन्न । त्यसमा सरकारको पनि हक लाग्छ भन्ने थाहा पाउन ज्ञानप्रकाशलाई यतिका वर्ष लाग्यो । अर्थात् १९ वर्ष काम गर्नुपर्यो ।  

आईपीओमा जान विज्ञता, वित्तीय तथा व्यवस्थापन, हाइजिन, मार्केटिङका धेरै व्यापक विषय छन् । तर उनको टिममा सबै सामान्य शैक्षिक तथा मध्यम आर्थिक पृष्ठभूमि भएका साझेदार तथा सदस्य छन् । सबैभन्दा पहिले त स्यान्कोको सदस्यबीच नै अनुशासन र प्रणालीको अभ्यास गराउनुपर्ने उनलाई ठूलो चुनौती छ ।

राज्यले आफूहरू जस्तो नवोदित उद्यमीलाई आफ्नो कर्पोरेट नीतिमा नसमेट्नु त अझ ठूलो चुनौती हो ‘ज्ञानप्रकाशहरू’का लागि ।
‘राज्य हाम्रो अभिभावक हो । हामी सबै उसका सन्तान । तर, राज्यसँग आफ्ना सन्तान कसरी विकास भइरहेका छन् ? कति संख्यामा छन् ? भन्ने ठोस तथ्यांक नै छैन । ठूला सन्तानलाई मात्र ध्यानमा राख्छन् । नीतिनियम पनि उनीहरुकै दृष्टिकोणबाट बनाउँछन्’ उनी दुखेसो पोख्छन् ।

ज्ञानप्रकाशको स्यान्को कुनै पाँचतारे होटलमा छलफल गरी तयार भएको योजनाबाट अचानक स्थापना भएको ब्रान्ड होइन । १९ वर्षसम्म यहीँकै माटोमा अनवरत संघर्ष गरेर, यही“को जनजीवन, स्वाद, हावापनी र अर्थतन्त्रलाई छामेर हुर्किएको अनुभवी सन्तान हो ।

तर, ठूला सन्तानलाई मात्र हेर्ने, सानालाई बेवास्ता गर्ने सरकारको नीतिले आफूहरुलाई हतोत्साहित गर्ने गरेको उनी बताउँछन् ।

‘कोभिड १९ को महामारी र निषेधाज्ञाबीच सरकारले ठूला उद्योगलाई अनुदान तथा विशेष व्यवस्था गर्यो । तर, हामी कहाँ थियौं ? के गर्दै थियौं ? सरकारसँग कुनै जानकारी नै थिएन’, निराशापछिको आशावादी स्वरमा भन्छन्, ‘सौभाग्यवश हामीले त्यो प्रतिकूल क्षण पनि पार गर्यौं । तर, अबको नयाँ पुस्तालाई सरकारले सम्बोधन गर्नैपर्छ । कारण, यी साना–साना व्यवसायले नै देश बनाउने हो ।

समग्र अर्थव्यवस्थामा सहयोग गर्ने हो । यसकारण सरकारले हामीलाई प्राथमिकतामा राख्नुपर्छ । हामी साना व्यवसायी नै नेपाल सरकारका असली सन्तान हौं ।’ सरकारले स्यान्कोजस्तो व्यवसायसभित्र पनि रोजगारी छ भनेर सोच्नुपर्ने हो । नीतिनियम निर्माणका लागि आह्वान गरी आफ्ना समस्या, प्राथमिकता, आवश्यकता र चाहनालाई बुझिदिनुपर्ने हो । तर, कहिले ?

‘विज्ञहरू बसालेर हामीलाई सँगै राखी हाम्रा आवश्यकता बुझेर सही रोडम्याप तयार गर्ने हो भने भोलिका दिनमा हामीले पनि हाम्रो अभिभावकलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान दिन सक्थ्यौं । त्यो क्षमता र गुणस्तरीता हामीसँग छ’ उनी दाबी गर्छन् ।

सपनाकाे चिन्ता

ज्ञानप्रकाश पर्याप्त सम्पत्ति भएका कर्पोरेट फिगर होइनन् । उनीसँग ठूलो ‘अर्थ’ छैन । केही समयअघि कता माग्ने र कता पाइन्छ भनेर पनि उनलाई थाहा थिएन । अहिले माग्न पाइन्छ रे, यी–यी प्रक्रिया पूरा गर्नुपर्छ रे भन्ने थाहा पाएका छन् । तर, त्यसअघि नै उनले आफ्नो व्यावसायिक साम्राज्य विकास गरे । उनका लागि अर्थ भनेको नै ‘म गर्छु र सक्छु’ भन्ने विश्वास हो । त्यसभित्र नै अर्थ थियो । र, त्यसले स्यान्कोका लागि अर्थ जुटायो ।

ज्ञानप्रकाशको हिम्मत र हौसलाले जन्मिएको अर्थ र सपनाको धरोहरमा आज कैयौं युवाहरूको भविष्य छ । उनलाई लाग्छ, आफूले सपना बाँडेकाहरूले भोलि फेरि विदेश पलायनको सोच राख्न नपरोस् ।  

‘यो कुरा कर्पोरेट वातावरणमै सुनिश्चित हुनपर्छ । मसँगै कर्पोरेट दुनियाँमा आएका मेरा साथीहरुले भोलिका दिनमा नेपालमै केही गर्न सक्छन् भन्ने कुराको सुनिश्चितता, हौसला र आशा मिल्नुपर्यो । आफ्नो अभिभावकबाट मैले गर्ने अपेक्षा भनेको यही हो, यत्ति हो ।’
 

 

मङ्गलबार १४ मंसिर २०७८ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया