सोमबार, माघ ३ २०७८ १०:४६ PM

×

हालसम्मकै सबैभन्दा बढी बिजुली उत्पादन, ५ महिनामै थपियो ५८३ मेगावाट 

images

काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएयता राष्ट्रिय प्रणालीमा ५८३ मेगावाट बिजुली थप भएको छ ।  बिजुली उत्पादनमा यो वर्ष ऐतिहासिक रेकर्ड कायम भएको छ । साउनयता सार्वजनिक तथा निजी लगानीका विभिन्न ९ वटा आयोजना सम्पन्न भई प्रणालीमा यो परिमाणमा बिजुली थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

योसमेत गरी बिजुली उत्पादनको जडित क्षमता २ हजार मेगावाट नाघेको छ । चालू आर्थिक वर्षमा सरकारले १६०० मेगावाट थप बिजुली उत्पादनको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा नभए पनि यो वर्ष सबैभन्दा बढी बिजुली थपिने भएको हो  । सरकारले चालू आर्थिक वर्षमा बिजुली उत्पादन बढाएर ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि यो वर्ष बिजुली उत्पादनमा नयाँ रेकर्ड कायम भएको छ । माथिल्लो तामाकोसी बाहेक सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सिंगटी खोलाबाट २५ मेगावाट बिजुली उत्पादन गरेको छ ।

यस्तै रिचेत जलविद्युत कम्पनीले रिचेत खोलाबाट ५, समलिङ पावरले माइबेनीबाट ९.५, मनाङ ट्रेड लिंकले तल्लो मोदीबाट २० मेगावाट, एसियन हाइड्रोपावरले तल्लो जोगमाइबाट ६.२ मेगावाट र ग्रिनभेन्चर्स लिमिटेडले लिखु ४ आयोजनाको ५२.४ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको प्राधिकरणले जानकारी दिएको छ । 

यसबीचमा दुइवटा सोलार आयोजनाबाट ९ मेगावाट बिजुली थप भएको छ । अपी पावर कम्पनी लिमिटेडले रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाट र सोलार फार्मले तनहुँको वेलचौतारीमा ५ मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोडेका छन् ।

निजी लगानीबाट निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुने क्रम बढेको छ । यस्तै विद्युत प्राधिकरणले सहायक कम्पनीहरुबाट निर्माण गरिरहेको ५७ मेगावाटका माथिल्लो तथा तल्लो सान्जेन र १११ मेगावाटको रसुवागढीबाट यो आर्थिक वर्षभित्र बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।  

यस्तै बुटवल पावर कम्पनीले सहायक कम्पनीबाट निर्माण गरिरहेको ३० मेगावाटका न्यादी जलविद्युत आयोजना सम्पन्न हुने चरणमा रहेका छन् । यस्तै लिवर्टी इनर्जीले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी र हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला आयोजनाबाट यो वर्ष बिजुली उत्पादन हुने छ ।

दोर्दीले पुसदेखि बिजुली उत्पादन गर्ने जानकारी दिएको छ । यस्तै ४० मेगावाटको खानीखोला आयोजना पनि यो वर्षभित्र सम्पन्न हुने ग्रिन लाइफ हाइड्रोपावरले जनाएको छ ।  कोराना महामारीले अवरुद्ध अधिकाँश आयोजनाको काम अन्तिम चरणमा पुगेकाले प्रणालीमा जोडिने क्रम बढेको हो । 

माथिल्लो तामकोसी सञ्चालनमा आएपछि विद्युत प्राधिकरणले बिजुली बढी भएको भन्दै खपत बढाउन उद्योगहरुलाई अनुरोधसमेत गर्नुपरेको थियो । सुख्खायाम सुरु भएकाले विस्तारै बिजुली उत्पादन घट्दै गएको छ ।

हाल पिकआवरमा बिजुलीको माग १४०५ मेगावाट छ । यसबीचमा भारतमा ६३ मेगावाट निर्यात गरेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका आयोजनाहरुबाट ५०८, सहायक कम्पनीहरुबाट ४३२, निजी क्षेत्रबाट ४६५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । 

यस्तै सरकारले ल्याएको प्रतिस्थापन बजेटमा २०० मेगावाट माथिका ठूला अर्धजलाशय तथा जलाशय आयोजनालाई १५ वर्ष पूरै र ६ वर्ष आधा कर छुट दिने व्यवस्था गरेको छ । 

 


 

मङ्गलबार १४ मंसिर २०७८ ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया