no-image

बाग्मती सफाई महाअभियान सुरु गरिएको ३ सय औं हप्ता पुगेको अवसर पारेर आगामी शनिबार विशेष कार्यक्रम आयोजना हुने भएको छ।

सरकारले बाग्मती सफाई महाअभियान सुरु गरिएको ३ सय औं हप्ता पूरा भएको अवसर पारेर आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो।

महाअभियानमा संलग्न संघ, संस्थाहरुलाई सम्मान गर्न र देशभरका सबै स्थानीय तहमा सफाई अभियानको एकैसाथ सुभारम्भ गर्न पनि सो महाअभियानको ३ सय औं हप्ता पुगेको विशेष अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बाग्मती मनोहरा दोभान शंखमूलमा आयोजना गर्न लागिएको कार्यक्रम बिहान साँढे ८ बजे सुरु हुने जानकारी पनि दिए।

बाग्मती सफाइ महाअभियानसँगै बाग्मती र सहायक नदीहरुको ढल निर्माण कार्य, उद्यान निर्माण तथा सौर्य बत्ती जडानलगायत काम तीव्र गतिमा अगाडि बढेको छ । महाअभियान बाग्मती नदीमा बग्ने पानी पिउनयोग्य तथा स्पर्श गर्न योग्य नहुञ्जेलसम्म जारी रहने अभियानकर्मीले जनाएका छन् ।

बाग्मती सफाई बारे अझै जनचेतना जगाउन सहयोग पुर्‍याउने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा सहभागी हुन पनि मन्त्री राईले सबैलाई आह्वान गरे। २०७० साल जेष्ठ ५ गतेबाट सुरु भएको बाग्मती सफाई महाअभियानमा हालसम्म १ हजार ८ सय भन्दा बढि संघ, संस्थाहरु सहभागी भईसकेका छन्। त्यसैगरी सो महाअभियानमा १० लाख भन्दा बढि स्वयम्सेवीहरुले योगदान गरेका छन्।