अँध्यारो भएपछि उद्घाटन खेल स्थगित

धरान।  अँध्यारो भएपछि धरानमा आजदेखि शुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ । सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो ।

उद्घाटन शत्र लामो भएका कारण खेल ढिलो गरी शुरु भएको थियो । धरान रङ्गशालामा भएको खेलमा दुवै टिमले दुई–दुई गोल गरेका थिए। टाइब्रेकरमा पनि दुवै टिमका तर्फबाट चार/चार गोल भएको थियो। त्यसपछि अँध्यारो भएपछि खेल रोकिएको थियो। खेल सोमबार बिहान ८ बजे टाइब्रेकरमार्फत टुङ्ग्याउने सहमति भएको आयोजकले जनाएको छ।

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गरेका थिए।

सोमबार खेल नेपाल पुलिस क्लब र सहारा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।