no-image

चितवन । एउटा सामाजिक संस्थाले देशका ६३१ जना बिरामीको जीवन बचाइरहेको छ । धेरैलाई त्रास दिलाउने क्यान्सर रोगबाट ग्रसित बिरामीलाई निकै महङ्गो औषधि निःशुल्क दिएर ‘म्याक्स फाउण्डेसन’ नामक बिदेशी संस्थाले उनीहरुको जीवन बचाइरहेको हो ।

सन् २००४ बाट सो संस्थाले यहाँको क्यान्सर अस्पतालसँग सहकार्य गरेर औषधि वितरण गरिरहेको छ । सन् २०१८ मा मात्रै रु एक अर्ब ३६ करोड ४७ लाख ५० हजार ५९८ बराबरको औषधि निःशुल्क उपलब्ध गराएको हो । रक्त क्यान्सर र आन्द्रको क्यान्सर भएका एक हजार २२ जनालाई सो औषधि खुवाइसकिएको छ । उनीहरुमध्ये हाल सम्पर्कमा रहेका ६३१ जनाले अहिले औषधि खाइरहेका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार ती बिरामीलाई इमाटिलिब, निलोटिनिब र डासाटिनिब नामक औषधि दुई/दुई महीनामा निःशुल्क दिइँदै आएको छ । आचार्यका अनुसार शुरुको दिनदेखि नियमित औषधि खाइरहेका पाँच जनाले अहिले पनि नियमित औषधि खाइरहेका छन् ।

निकै महङ्गो औषधि हुने भएकाले आफैंले खरीद गरेर खाने अवस्था अधिकांशको छैन । एक जनाले एक महीनाका लागि यो औषधि खान रु सात लाख खर्च हुने गर्छ। सोही औषधि निःशुल्क पाएर क्रियाशील जीवन बिताइरहेका उपसचिव विष्णुप्रसाद पौडेल सामाजिक संस्थाले आफ्नो जीवन बचाइरहेको बताए।

भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर निवासी पौडेल डिभिजन वन कार्यालय चितवनको प्रमुख हुन्। नियमित काममा लागिरहेका पौडेल विगत १६ वर्षदेखि सोही औषधि सेवन गरिरहेका छन्। शुरुमा उहाँ उपचारका लागि भारतको मुम्बइमा रहेको टाटा अस्पतालसम्म पुगे। त्यहाँको उपचारपछि नेपाल फर्केर उहाँले म्याक्स फाउण्डेसनले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अहिलेसम्म पनि खाइरहेका छन्। सो औषधि नियमित खानुपर्ने हुन्छ। एक महिनाका लागि औषधि किन्दा करीब  सातदेखि १० लाखसम्म खर्च हुने उनले बताए। आफूले यो औषधि सन् २००२ बाट खान शुरु गरेको बताउँदै पौडेलले जीवनमा हरेस नखाने र आत्मविश्वास बढाउने हो भने बाँच्न सकिने बताए।

झापाका २९ वर्षीय दीपक कार्कीलाई पनि रक्त क्यान्सर देखिएको छ। आजभन्दा करीब १२ वर्षअघि उनमा यो रोग देखापर्यो‍ । उनले पनि नियमित औषधि सेवन गरेर नै रोगको निराकरण गर्दै आएका छन्। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज आयोजना गरेको रक्त क्यान्सर तथा आन्द्रको क्यान्सरका बिरामीबीचको मिलन कार्यक्रममा सहभागी हुन आएका कार्की अहिले आफूले अन्यले सरह काम गर्नसक्ने अवस्थामा पुगेको बताए।

आफूलाई अहिले गाउँ समाजले हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन भएको उनको भनाइ छ । दैनिक चार चक्की औषधि सेवन गर्ने गरेको बताउँदै उनले शुरुआती समयमा औषधिले केही समस्या देखाए पनि अहिले त्यस्तो केही नभएको बताए। निःशुल्क औषधिकै कारण आफू बाँचिरहेको उनको भनाइ छ ।

क्यान्सर रोग लाग्नेबित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उनले सामान्य ज्वरो आउने र रोकिने प्रक्रिया जारी रहेमा अस्पतालमा आएर उपचार गर्नसमेत सबैलाई आग्रह गरे।  धरानका भरत ताम्राकार आफ्नी श्रीमतीले १७ वर्षदेखि औषधि खाँदै आएको बताउँदै अहिले समस्या नरहेको बताउँछन्। उनले भने, “औषधि पनि खाइराखेका छौँ र नियमित परीक्षणमा पनि आइराखेका छौँ । खै त्यस्तो समस्या आएको छैन ।” औषधिले रोगसँग लड्ने क्षमतामा वृद्धि गरेको उहाँको भनाइ छ ।

औषधि नियमित खाने र दुई महीनामा एकपटक परीक्षणका लागि अस्पताल आउने गरेको उनले बताए। शुरुआती समयमा नै रोग देखिएमा निकोसमेत हुने उनको भनाइ थियो । भरतपुर महानगरपालिका वडा नं २७ दिव्यनगरकी १२ वर्षीया निस्मा महतोले आफूलाई रोग लागेको छ भन्ने जस्तो नलाग्ने बताए। आफूलाई १० वर्षको उमेरमा रक्तक्यान्सर देखिएको भए पनि औषधि खाँदै आएको उनले बताए।

उनले भने, “नियमित परीक्षण र औषधि लिन आउने क्रममा मात्र आफूलाई क्यान्सर भएको हो भन्ने लाग्छ ।” सबैले निःशुल्क औषधि पाएकै कारण जीवन जिउन पाएको बताएका छन् । क्यान्सर अस्पताललाई म्याक्स फाउण्डेशन मुम्बइले यो औषधि निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ ।

सो अवसरमा फाउण्डेसनको दक्षिण एशिया प्रमुख विजी बेङ्कटेसले क्यान्सरसँग लडिरहेका बिरामीलाई एक्लो महसुस नगर्न र आफूहरु पनि साथमा रहेको बताए। कार्यक्रममा म्याक्स फाउण्डेसन नेपाल प्रतिनिधि स्वेता अग्रवाल, अस्पतालका कार्यकारी निर्देशक आचार्य, डा जया श्रेष्ठ लगायतले बोलेका थिए।   यहाँको क्यान्सर अस्पतालमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।