३०० होमस्टेलाई ३० करोड अनुदान दिने गण्डकी प्रदेश सरकारको तयारी, ४० ले लिए पहिलो किस्ता

एउटा होमस्टेले १० लाख रुपैयाँको दरमा अनुदान पाउने छन् । ३ किस्तामा अनुदान दिने कार्यविधि रहेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष गण्डकी प्रदेशका ११ ओटा जिल्लामा ३०० होमस्टेको स्तरबृद्धि गर्न भन्दै प्रति होमस्टेलाई १० लाखको दरले अनुदान वितरण गर्ने कार्यविधि बनाएको थियो ।

पर्वत । गण्डकी प्रदेश सरकारको होमस्टे प्रवद्र्धन कार्यक्रममा पर्वतका ४० ओटा होमस्टेले अनुदान सम्झौता गरि पहिलो किस्ताको अनुदान लिएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टेको स्तरउन्नतीका लागि पर्वत जिल्लाका ४२ ओटा होमस्टे छनौट गरि वजेट बिनियोजन गरेको थियो । तिमध्ये दुई ओटा होमस्टे बाहेक अरुले अनुदान सम्झौता गरेर पहिलो किस्ताको जनही ३ लाख रुपैयाँ रकम बुझेका हुन् ।

डिभिजन वन कार्यालयमार्फत अनुदान सम्झौता र अनुदान वितरण भैरहेको छ । डिभिजन वन कार्यालयका प्रमुख अशोक श्रेष्ठका अनुसार एउटा होमस्टेले १० लाख रुपैयाँको दरमा अनुदान पाउने छन् । ३ किस्तामा अनुदान दिने कार्यविधि रहेको श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष गण्डकी प्रदेशका ११ ओटा जिल्लामा ३०० होमस्टेको स्तरबृद्धि गर्न भन्दै प्रति होमस्टेलाई १० लाखको दरले अनुदान वितरण गर्ने कार्यविधि बनाएको थियो ।

अनुदान पाएका होमस्टे सञ्चालकले पूर्वाधार विकास, कोसेली घर निर्माण, सूचना केन्द्र , सामूदायिक भवन निर्माण, सभागृह, प्रदर्शनी स्थल, हस्ताकला केन्द्र निर्माण गरेर बजेट खर्चिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

पर्वतको मोदी गाउँपालिका ८ चित्रे, कुश्मा नगरपालिका १४ आर्थर, महाशिला गाउँपालिका ५ लुँखु, पैयुँ गाउँपालिका २ त्रिबेणी, जलजला गाउँपालिका ५ लेकफाँट, ६ शालिजा, फलेवास २ थापाठानालगायतका ठाउँमा होमस्टे सञ्चालन भैरहेका छन् ।

सरकारले अनुदान दिन थालेपछि अन्य स्थानमा पनि होमस्टे सञ्चालन गर्न थालिएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्वतमा ४२ , स्याङजामा ४३, म्याग्दीमा ९, गोर्खामा १४, तनहुँमा ४०, कास्कीमा २२, लमजुङमा २०, मुस्ताङमा ३, बागलुङमा १९, नवलपुर (पूर्व) मा ९ ओटा होमस्टेलाई अनुदान वितरण गर्न छनौट गरेको थियो ।