काठमाडौं । ग्लोबल आईएमई बैङ्कको व्यवस्थापनमा व्यापक हेरफेर भएको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) महेश ढकालले पाँच महिनापछि व्यवस्थापन समूहमा रहेका उच्च पदका कर्मचारीको हेरफेर गरेका हुन् ।
सीईओको जिम्मेवारी सम्हाल्ने मुखैमा आएर सञ्चालक समितिले काम गर्न नसकेको भनेर आलोचना गरेपछि उनले कर्मचारी हेरफेर गरेका हुन् ।
बैङ्क सञ्चालक समितिले कामु सीईओ ढकाललाई कर्मचारी व्यवस्थापन गर्न नसकेको, योजना नबनाएको, प्रदेशस्तरीय शाखाहरुको समन्वय गर्न नसकेकाजस्ता विषयमा कुरा उठाएपछि ढकालले पहिलो चरणमा उच्च व्यवस्थापनमा रहेका कर्मचारीलाई सरुवा गरेका हुन् ।
बैङ्कको मानव संसाधन विभागमा रहेर राम्रो काम गरिरहेका भवानी ढकाललाई चिफ कम्प्लायन्स अफिसर (सीसीओ) मा सरुवा गरिएको छ । लामो समय मानव संसाधनमा रहेका ढकाल ग्लोबल आईएमईभित्र अब्बल कर्मचारीका रुपमा चिनिन्छन् । सरुवामा परेका ढकाल असन्तुष्ट भएपछि फेरि कामु सीईओ ढकालले उनलाई पछि रिकभरी विभागको पनि जिम्मेवारी दिएर असन्तुष्टि सम्बोधन गर्न खोजेको देखिन्छ ।
त्यस्तै यसअघि सीसीओ रहेका राजा अर्याललाई चिफ फाइनान्स अफिसरमा सरुवा गरिएको छ । चिफ फाइनान्स अफिसरमा रहेका दीपचन्द्र रेग्मीलाई मानव संसाधन विभागको प्रमुख बनाइएको छ । रेग्मी मानव संसाधन प्रमुख भएपछि कामु सीईओ ढकालले ११ जना बाहिरबाट भित्र्याएका छन् ।
मार्केटिङ प्रमुखमा रहेका गणेश अवस्थीलाई चिफ अपरेटिङ अफिसरमा लगिएको छ । त्यस्तै केही महिना ग्लोबल बैङ्कबाट जागिर छोडेर कतार एयरवेज पुगेका रञ्जनकुमार थापालाई ढकालले दुई तह बढुवा हुने गरी पुनः भित्र्याएका छन् । उनलाई अहिले ट्रेजरी र इन्टरनेसनल बैङ्किङ प्रमुखको जिम्मा दिइएको छ ।
बैङ्कका तत्कालीन सीईओ जनक शर्मा पौडेलले गत माघमा राजिनामा गरेपछि ढकाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । ३ महिनाभित्र राम्रो काम गरेर देखाए सञ्चालक समितिले सीईओ नै दिने प्रतिबद्धता गरे पनि अहिले ग्लोबल बैङ्कले बाहिरबाट सीईओ ल्याउने भन्दै उपयुक्त व्यक्ति खोजिरहेको छ । विभिन्न बैङ्कसँग मर्जरका लागि छलफल बढाएको ग्लोबलले जुन बैङ्कसँग मर्ज हुन्छ त्यही बैङ्कको सीईओ नै राख्ने जानकारी राष्ट्र बैङ्कलाई दिइसकेको छ ।
कर्मचारीको राम्रो व्यवस्थापन गर्न नसकेको आरोप पनि सञ्चालक समितिले ढकाललाई लगाएको छ । उनी कायममुकायम भएको पाँच महिनामा जुनियरदेखि सिनियर तहका २ सय ८५ जनाले ग्लोबल बैङ्क छाडेको त्यहाँको मानव संसाधन विभागले जानकारी दिएको छ ।