काठमाडौं । प्राइम कमर्शियल बैङ्कले एक्वायर गर्न लागेको ललितपुर फाइनान्स लिमिटेड सबैभन्दा बढी खराब कर्जा (एनपीएल) रहेको छ । ललितपुर फाइनान्सको एनपीएल ७५.३३ प्रतिशत छ । ललितपुरले प्राइमसंग एक्वायर प्रक्रियामा सहभागी हुनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।
खराब कर्जा बढेपछि नेपाल राष्ट्र बैङ्कले ललितपुरलाई कार्वाही गरेको थियो । नयाँ समूहले फाइनान्स सञ्चालन गरेपछि केन्द्रीय बैङ्कले कार्वाही फुकुवा गरेको हो ।
ललितपुरले गत चैतसम्म ३१ करोड २२ लाख रुपैयाँ निक्षेप परिचालन गरी ४८ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यी मध्ये अधिकाँश कर्जा खराबमा परिणत भएका राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
ललितपुरपछि बढी एनपीएल हुनेमा वेस्ट फाइनान्स लिमिटेडको छ । वेस्टको १६.९५ प्रतिशत खराब कर्जा भएको केन्द्रीय बैङ्कले जनाएको छ ।
वेस्टले २ अर्ब २८ करोड रुपैयाँ निक्षेप उठाएर २ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको ९.५८, जेविल्स फाइनान्सको ६.४८ प्रतिशत छ । जेविल्सलाई नेपाल इन्भेस्टमेन्ट बैङ्कले प्राप्ति गर्दै छ ।
सबैभन्दा कम खराब कर्जा हुनेमा श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड रहेको छ । श्री इन्भेष्टमेन्टको निष्क्रिय कर्जा अनुपात ०.१९ प्रतिशत छ । यस्तै आईसीएफसी फाइनान्स लिमिटेडको ०.३८ र गुहेश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स लिमिटेडको ०.७६ प्रतिशत रहेको छ ।
हाल सञ्चालनमा रहेका १९ ओटा फाइनान्स कम्पनीको एनपीएल ३.३८ प्रतिशत छ ।१९ फाइनान्सले ६९ अर्ब २२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६१ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।