काठमाडौं । चालु आर्थिक वर्षमा सेयर निष्कासन ३४.२ प्रतिशत घटेको छ । बैङ्क तथा वित्तीय संस्थाको पुँजी वृद्धि योजना पुरा भएकाले साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन घटेको हो ।
अघिल्लो वर्षको तुलनामा आईपीओ १२.८ र हकप्रद निष्कासन ८३.२ प्रतिशत घटेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौडेलले बताए ।
चालु आर्थिक वर्षमा लघुवित्त र जलविद्युत गरी २७ कम्पनीलाई ७ अर्ब २९ करोड ३६ लाख रुपैयाँ बरारबको ७ करोड २९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गरेका छन् ।
अझै एक दर्जन कम्पनीको २ अर्ब १ करोड ४७ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४७ हजार कित्ता आईपीओ निष्कासनको क्रममा छन् ।
यो वर्ष विभिन्न १५ कम्पनीले ४ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको ४ करोड ३२ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेका छन् । यस्तै विभिन्न १० कम्पनीको ३ अर्ब २४ करोड ८९ लाख रुपैयाँको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् ।
समीक्षा अवधिमा दोस्रो बजारमा सेयर कारोबार २०.८ प्रतिशत घटेको छ । सेयर बजार औसत ४.५ प्रतिशत बढेको पौडेलले जानकारी दिए ।
बैङ्कको ब्याजदर, बजार हल्ला, सरकार नीति, पाउने प्रतिफल र राजनीतिक अवस्थाका कारण सेयर बजार तलमाथि हुने गरेको उनको भनाई छ । सेयर बजारमा जेखिम बढी हुने भएकाले बैङ्कबाट कर्जा लिएर भन्दा आफुसंग भएको वचत लगानी गर्दा उत्तम हुने उनको भनाई छ ।
विभिन्न २ हजार ५०० स्थानबाट सेयर कारोबार हुने गरेको छ । वाणिज्य बैङ्कका सहायक कम्पनीलाई स्टक ब्रोकरको काम गर्न अनुमति दिएको र १५ लाख डिम्याट खाता खोलिएको छ ।
सेयर निष्कासन घटेपछि ऋणपत्रको कारोबार ५५२.७ प्रतिशत बढेको पौडेलले जानकारी दिए । पछिल्लो समयमा वाणिज्य बैङ्हरुले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र निष्कासन गर्न थालेपछि बढेको हो ।
चालु आर्थिक वर्षको हालसम्म ८ वाणिज्य बैङ्कले २२ अर्ब ५८ करोड रुपैयाँ बराबरको १९ करोड ५८ लाख कित्ता ऋणपत्र निष्कासन गरेका छन् । अझै १३ अर्ब रुपैयाँको ऋणपत्र आउने तयारीमा छ ।