काठमाडौं । नियामक बीमा समितिले तोकेको सिमा सकिनै लाग्दा अधिकांश बीमा कम्पनीहरु चुक्तापुँजी पुर्याउन असफल भएका छन् । समितिले चालु आर्थिक वर्षको असार मसान्तसम्म बीमा कम्पनीहरुलाई चुक्तापुँजी पुर्याइसक्न समय दिएको थियो । अब सो समय सकिन करिब ३ साता मात्रै बाँकी छ ।
जीवन र निर्जीवन गरी सञ्चालनमा रहेका ३९ ओटा कम्पनीमध्ये अहिलेसम्म ८ ओटाले मात्रै न्युनतम चुक्तापुँजी पुर्याएका छन् । समितिले आर्थिक वर्ष २०७२/०७३ मा बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि गर्ने योजना ल्याएको थियो । जसअनुसार जीवन बीमा व्यवसाय गर्नेको २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ न्युनतम पुँजी तोकेको छ ।
समितिले त्यसयता पुँजी वृद्धिका लागि दुई पटक समय थपिसकेको छ । बीमा कम्पनीहरुले तोकिएको पुँजी पुर्याउन सक्ने अवस्था अझै देखिदैन । असार मसान्तसम्म न्युनतम पुँजी पुग्नेमा बिमक संघलाई पनि पत्यार लागेको छैन । संघका अध्यक्ष दीपप्रकास पाण्डेले भने, ‘सबैले पुर्याउँछन् भन्न सकिन्न ।
तर बीमा कम्पनीहरुले पुँजी पु¥याउन प्रयास गरिरहेका छन् ।’ समितिले असार मसान्तपछिको कदमको विषयमा कुनै तयारी गरेको देखिँदैन । पुँजी वृद्धिका लागि सेयरको सहरा लिइरहेका कम्पनीहरुले मर्ज गरेर पनि पुँजी पुर्याउनुपर्छ भन्ने मनसायमा समिति छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘ पुँजी नपुर्याउनलाई हामीले मर्जरको बाटो पनि खोलिदिएकै छाैं । पुँजी पुगेन भने मर्जरमा जाने हो । पुँजी पुर्याएनन् भने के गर्ने भनेर बोर्डले निर्णय गर्छ ।’ असार मसान्तसम्म सबै कम्पनीले पुँजी पुर्याउनेमा कार्यकारी निर्देशक पौडेल विश्वस्त छन् ।
समितिको पछिल्लो तथ्यांकअनुसार जीवन बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मात्रै चुक्तापुँजी पु¥याएका छन् । नेपाल लाइफ सबैभन्दा बढी पुँजी भएको बीमा कम्पनी हो । उसको पुँजी बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेसनल लाइफले ३ अर्ब ७४ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एलआईसी नेपाल, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत विभिन्न कम्पनीहरुले हकप्रद सेयर निष्कासन गरेर न्युनतम पुजी पुुर्याउने प्रयास गरिरहेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी १ अर्ब १३ करोड रुपैँया छ ।
कम्पनीले ७० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस वितरण गरी २ अर्ब ६ करोड रुपैयाँ पूँजी पुर्याउने योजना बनाएको छ । त्यसैगरी, गुराँस लाइफको ६४ करोड १५ लाख रहेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ८ प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि अहिलेको चुक्तपुँजी ९३ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
त्यसपश्चात शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेपछि कम्पनीको चुँक्तापुँजी २ अर्ब रुपैयाँभन्दा बढी नाघ्नेछ । समितिले तोकेको पुँजी पुर्याउन ८ कम्पनी हकप्रद निष्कासनको प्रकृयामा रहेका छन् । तर, हकप्रदपछि पनि ती कम्पनीहरुले असार मसान्तसम्म पुँजी पुर्याउन सक्ने अवस्था देखिँदैन ।
नयाँ आएका १० ओटा जीवन बीमा कम्पनीहरुले यस आर्थिक वर्षभित्र पुँजी पुर्याउनु पर्र्दैन । यी कम्पनीहरुले आगामी आर्थिक वर्षसम्म चुक्तापुँजी पुर्याए हुन्छ । यी कम्पनीहरुले साधारण सेयर (आईपीओ) निष्कासन गरेर न्युनतम पुँजी पुर्याउने छन् ।
हालसम्म सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीण्मध्ये ६ ओटाले मात्रै समितिले तोकेको पुँजी पुर्याएका छन् । समितिका अनुसार शिखर, हिमालय जनरल, नेको, एभरेष्ट, नेपाल इन्स्योरेन्स तथा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले मात्रै चुक्तापुँजी पुर्याएको समितिले जनाएको छ ।
समितिको तथ्यांक अनुसार शिखरले १ अर्ब ५ करोड ७३ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब २ करोड ६२ लाख रुपैयाँ, नेकोले १ अर्ब १७ करोड ६२ लाख र प्रभु इन्स्योरेन्स कम्पनीको १ अर्ब ५२ लाख रुपैयाँ चुँक्ता पुँजी पुगेको छ ।
बाँकी रहेका १४ ओटा कम्पनीहरुले आगामी असारमसान्तभित्रै पु¥याउन लागेको समितिले जनाएको छ । तर ती सबै कम्पनीहरुले असारभित्रै पुँजी पुर्याउने निश्चिित छैन ।
बीमा कम्नीहरुले पुँजी वृद्धिका लागि बोनस सेयर तथा हकप्रद सेयरको सहरा लिइरहेका छन् । यदि बीमा कम्पनीहरुले असार मसान्तसम्म पुँजी पुर्याउन सकेनन् भने पुाजी वृद्धिका लागि समय थपिन्छ कि कारवाही हुन्छ ? यस विषयमा समितिले केही बोलेको छैन ।