काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी वर्षको मौद्रिक नीतिमा बैङ्कको फोर्स मर्जर आउने सङ्केत गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकाले मर्जरसम्बन्धी नीति ल्याएकाले फोर्स मर्जरमा जाने सङ्केत गरेका हुन् ।
अर्थको अर्थले सोमबार राजधानीमा आयोजना गरेको मौद्रिक नीतिको पूर्व छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले भने प्रेम गरेर मर्जरमा जाने समय अझै रहेको भन्दै उनले नीति आएपछि लाइन लागेर कतै जाने ठाउँ नरहेको बताए ।
‘मौद्रिक नीति नआउन्जेलसम्म तपाईंहरु पूर्वतयारी गर्नुहोस्, अब बाध्यकारी मर्जरको विकल्प छैन,’ उनले भने । यसअघि पुँजी वृद्धि गर्दा बैङ्कका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले शक्ति केन्द्र धाउने गरेको भन्दै उनले बजेटमा आइसकेकाले अब कही गएर केही नहुने दाबी गरे ।
मर्जरमा गएपछि वित्तीय क्षमता बढ्नुका साथै खर्च कम हुने उनले बताए । वित्तीय स्थायित्वका लागि बैङ्कहरुले नाफा कमाउनुपर्ने उनको भनाइ छ । नाफा बैङ्कले नाफा कमाएनन् भने संस्था समस्याग्रस्त हुने र जनताको पैसा डुब्ने गभर्नर नेपालको भनाइ छ । केन्द्रीय बैङ्कले कर्जा लगानी वृद्धिदर २० प्रतिशत कायम गरे पनि अझै २१ प्रतिशत हाराहारीमा रहको उनले बताए ।
नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैङ्कहरुले कारोबार गरेअनुसार नाफा कमाउन नसकेको बताए । १ खर्ब रुपैयाँ करोबार गरेको बैङ्कले १ अर्ब रुपैयाँ नाफा गर्न नसकेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले साना तथा मझौला उद्योगमा बैङ्कको न्यून लगानी भएको बताए । बैङ्कले केही ठूला उद्योगलाई मात्र प्राथमिकता दिएर ठूलो रोजगारी सिर्जना गर्ने साना उद्योगलाई ध्यान नदिइएको प्रधानले गुनासो गरे । उनले मौद्रिक नीतिमा साना उद्योगमा कर्जा लगानी हुने गरी विशेष व्यवस्था गर्न गभर्नर नेपालको ध्यानाकर्षण गराए ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले मौद्रिक नीति विस्तारकारी हुनुपर्नेमा जोड दिए । मौद्रिक नीतिले ब्याजदर घटाउन निक्षेप बढाउने, बैङ्कको स्प्रेडदर घटाएर साढे ३ प्रतिशत कायम गर्न नको सुझाव छ । फोर्स मर्जरभन्दा पनि स्वस्फूर्त रुपमा मर्जरमा जाने वातावरण मौद्रिक नीतिले बनाउनुपर्ने उनको भनाइ छ ।